४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय वनमा माफियाको चलखेल

गोदावरी नगरपालिका–४ स्थित राष्ट्रिय वनक्षेत्रमा रहेको गाईमारामा अतिक्रमण गरी बनाइएका टहरा तथा अतिक्रमित क्षेत्र। तस्बिरः पुष्पराज/नागरिक

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले २०६५ असोज १२ गते राजधानीस्थल तोकेको गोदावरी नगरपालिकाको तेघरी जंगलवरपरको सामुदायिक तथा राष्ट्रिय वनक्षेत्रमा वनमाफियाले अतिक्रमण बढाएका थिए। सो क्रम गत असारपछि भने तीव्र रूपमा बढेको पाइएको छ। तेघरी जंगलनजिकको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुतेपानी, बाँसपानी र गाईमारा क्षेत्रमा माफियाले अतिक्रमणलाई तीव्रता दिएका हुन्।

यस क्षेत्रमा बाढीपीडित र सुकुम्बासीका नाममा जंगलछेउ बस्दै आएकाहरूले पछिल्लो समय सिमाना मिच्दै जमिन अतिक्रमण थालेका छन्। यही मौका छोपी उता केही वनमाफियाले आफू तथा आफन्तलाई लिएर वनक्षेत्रभित्रै टहरा बनाउन थालेका छन्। सडककिनारमा बसेकाहरू पछिल्लो समय सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय यज्ञबहादुर रावल बताउँछन्। ‘सामुदायिक वन र राष्ट्रिय वनभित्रै पसेर वन माफियाहरूले अतिक्रमण गरी घर टहरा बनाइसके,’ उनले भने, ‘यहाँ रातारात टहरा निर्माण भइरहेका छन्।’ धनगढी–डडेल्धुरा सडकखण्डको गाईमारा क्षेत्रमा पनि व्यापक वन फँडानी भएको बताउँदै उनले भने, ‘सडककिनारमा टहरा राखेर बसेका केही व्यक्तिले तलतिर खोरिया फँडानी गरिसकेका छन्।’ खोरिया फँडानी भएसँगै यहाँ बस्ती बसाउने चलखेल भइरहेको उनले जानकारी दिए। ‘टहरो मात्रै बनाएकाहरूले खुर्सानी तथा सागपात लगाउने भन्दै जंगलको सिमाना मिच्दै जमिनअगाडि बढाउन थालेका छन्,’ उनले भने, ‘एउटैले दुईचार कट्ठा जमिन मिचिसकेका छन्।’ यही अनुपातमा पछिल्लो समयमा तेघरी जंगलनजिक, गाईमारा क्षेत्र र समाधि क्षेत्रमा व्यापक अतिक्रमण बढेको उनले बताए।

वन अतिक्रमणको मुद्दा लगेर पटकपटक वन कार्यालय, गोदावरी नगरपालिकाको कार्यालयसमेतमा खबर गर्दा पनि कुनै सुनुवाइ नभएको एक सामुदायिक वनका पदाधिकारीले भने, ‘वन अतिक्रमणकारीलाई खै किन हो, कसैले पनि उठाउने साहस गर्दैनन्।’ अहिले आएर सामुदायिक वनको सीमा मिच्दै अतिक्रमण गर्नेहरू राजनीतिक दलको भोटर भएको बताउँदै स्थानीय रामचन्द्र अवस्थीले भने, ‘राजनीतिक दल, सामुदायिक वनका अध्यक्षलगायतको मिलेमतोमै बाढीपीडित र सुकुम्बासीका नाममा वन अतिक्रमण भइरहेको छ।’ राजनीतिक आडमै अहिले आएर जंगलछेउमा बसेकाहरूले वनको सीमा मिच्दै जमिन बढाउन थालेको उनले बताए। उनले भने, ‘बाढीपीडित र सुकुम्बासीका नाममा राजनीतिक दलको संरक्षणमा जंगलकिनारमा बसेकाहरूले दैनिक वनक्षेत्र मिच्दै जमिन बढाउन थालेका छन्।’ अत्तरिया क्षेत्रमा त झनै वनक्षेत्र अतिक्रमणमा परेको उनले बताए। ‘अत्तरिया बजार क्षेत्रको सुरक्षा सामुदायिक वन र दुर्गालक्ष्मी सामुदायिक वन त झनै संस्थागत अतिक्रमणमा परेको छ,’ उनले भने, ‘अतिक्रमित क्षेत्रमा जनप्रतिनिधि, सामुदायिक वनका अध्यक्षलगायत व्यक्तिले कुनै चासो नदेखाउँदा उनीहरूकै मिलेमतो भएको जनताले बुझेका छौं।’

यस्तै, गाईमारा क्षेत्रमा वनका पूर्वकर्मचारीकै मिलेमतोमा अतिक्रमण भएको स्थानीयले बताएका छन्। वनका पूर्वकर्मचारी शिवेश्वर भट्टको नेतृत्वमा अतिक्रमण भइरहेको हो। गाईमारा क्षेत्रको तल रहेको करिब पाँच कट्ठा जमिनमा पनि भागबन्डा भइसकेको छ। सवडिभिजन वन कार्यालय अत्तरियाका प्रमुख रामनारायण यादवले भने, ‘हाम्रै वन कार्यालयको पूर्वकर्मचारी पनि गाईमारा क्षेत्रमा अतिक्रमणको नाइके भएको खबर पाएको छु, तुरुन्तै बुझेर कारबाही प्रक्रिया अगाडि बढाउँछु।’ उनले चाँडै नै धनगढी–डडेल्धुरा सडक क्षेत्रको अतिक्रमण हटाउने बताए।

प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा अहिलेसम्म २१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ। देशभरमा एक लाख हेक्टर क्षेत्रफल वन अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत (२१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर क्षेत्रफल) कैलालीमा मात्र अतिक्रमण भएको छ। यो तथ्यांकले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वनक्षेत्र अतिक्रमण भएको देखिन्छ। देशभरमै अतिक्रमित वनक्षेत्रको १ लाख हेक्टर क्षेत्रफलमध्ये २१ हजार हेक्टर क्षेत्रफल कैलाली जिल्लामा अतिक्रमण भएको हो। नेपालको अतिक्रमित क्षेत्रफलमध्ये २१ प्रतिशत वनक्षेत्र कैलालीमै अतिक्रमण भएको देखिन्छ, जुन तथ्यले देशभरमै सबैभन्दा बढी प्रतिशत वनक्षेत्र अतिक्रमण कैलालीमै भएको देखिएको हो।

प्रकाशित: २० मंसिर २०७६ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App