८ वैशाख २०८१ शनिबार
समाज

सिडिओले नै लिए मुद्धाका प्रतिवादीसँग सवा लाख घुस

दोलखा- मुद्धा छिन्ने प्रमुख जिल्ला अधिकारीलेनै सार्वजनिक अपराधका मुद्धामा प्रतिवादीसंग सिडिओ कार्यकक्षसंगैको गोप्य कोठामा घुस लिएका छन् ।

जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुका ४० बर्षिया कुमार लामा प्रतिवादी रहेको अभद्र व्यवहार र कालिञ्चोक गाउँपालिका १ का २८ वर्षिया ईन्द्र पाख्रिन र उनका ५१ वर्षिया बाबु उदिम तामाङ प्रतिवादी रहेको सार्वजनिक सुरक्षा विरुद्धको मुद्धाका अभियुक्तहरुलाई थुनछेक बहसका क्रममा धरौटीमा रिहा गर्दा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बुधबार ९० हजार र ३५ हजारका दरले दुबै अभियुक्तका परिवारबाट १ लाख २५ हजार रुपैंयाँ घुस लिएका छन् ।  

प्रमुख जिल्ला अधिकारी रिजालले आफूले जिल्ला प्रशासनले रसिद प्याडमा काटिएको बाहेक छुट्टै रकम प्रतिवादीहरुबाट लिएको स्वीकार गरेका छन् । ‘कहिलेकाँही मुद्धा छिन्ने अधिकारीले पिडितका निम्ती समेत क्षतीपूर्ती दिलाउन पहल गर्नुपर्दो रहेछ’ घटना सार्वजनिक भए लगत्तै बिहीबार दिउँसो पिडितहरुलाई लिएर पुगेका सञ्चारकर्मीसंग रिजालले अक्मकीएको लवजमा भने – ‘यि दुबै मुद्धामा पिडितहरुका निम्ती क्षतीपुर्ती रकम दिलाउन त्यो रकम लिएको हुँ, अरु गलत नियत केही पनि छैन’ । पिडितहरुको अवस्था सामन्य रहेको थाहा पाएपछि उनले लिएको रकम बिहिबार फिर्ता गरिएको प्रष्टोक्ती दिए । कानुनका ज्ञाताहरुले मुद्धा छिन्ने अधिकारीले त्यसरी सोझै पिडितलाई क्षतीपुर्ती भराईदिन्छु भनेर प्रतिवादीबाट आफैंले रकम असुल्नु भ्रष्टाचार रहेको बताएका छन् ।

दायर मुद्धामा मेलुङ ४ भेड्पुका लामाले छिमेकी जितबहादुर भण्डारीलाई गाली गलौज गरेको र कालिञ्चोक १ का पाख्रिन बाबु छोराले छिमेकीलाई हातपात र दुव्र्यवहार गरेको अभियोग छ । लामा र पाख्रिनको छुट छुट्टै मुद्धा मंगलबार जिल्ला प्रशासन पेश गरिएको थियो । मंगलबार साँझसम्म बयान लिन नभ्याईएको कारण  उनिहरुलाई बुधबार थुनछेक आदेशका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले लामालाई १० हजार रुपैंयाँ धरौटी र पाख्रिनका बाबु छोरालाई ७/७ हजारका दरले १४ हजार रुपैंयाँ धरौटी लिएर छाड्ने आदेश गरेका थिए ।

धरौटीको आदेश लगतै लामाकी श्रीमती रिनुलाई १ लाख रुपैंया लिएर आउनु भनिएपछि उक्त रकम बोकेर रिनु बुधबार दिउँसो सिडिओ रिजालको कार्यकक्ष पुगेकी थिईन् । ‘कार्यकक्ष संगैको गोप्य कोठामा लगेर यता लेउ भनेर सिडिओ सापले रकम हातमा लिनु भयो’ रिनुले नागरिकसंग भनिन् – ‘९० हजार गनेर आफुसंग राख्नु भयो र १० हजारको तल गएर रसिद काट भनेर १० हजार रुपैंया मेरो हातमा थमाएर पठाउनुभयो’ । मुद्धा फाँटमा पुगेर रसिद काट्दा १० हजार रुपैंयाको मात्र काटेको भेटिएपछि उनी पुन: सिडिओ रिजालको कार्यकक्षमा पुगेर झर्किएकी थिईन् । रिनुका अनुसार उनले यसलाई ठुलो बिषय नबनाउन अन्यथा तिम्रो श्रीमानलाई कारागार पठाउने धम्की दिए पछि उनी फर्किएकी थिईन् ।

बुधबार नै अनुका श्रीमानसंगै कालिञ्चोकका पाख्रिन बाबु छोराको थुन छेक बहस थियो । पाख्रिनलाई समेत ५० हजार रुपैंयाँ झिकाउन लगाएर अनुलाई जस्तै गरी सिडिओ रिजालले ३५ हजार रुपैंया आफ्नो पासमा राखेर १४ हजारको रसिद काट्नु भन्दै मुद्धा फाँटमा पठाईएदिएका थिए ।

एकै दिनको थुनछेक बहसबाट धरौटीमा रिहा भएका अनु र पाख्रिनको परिवारले सिडिओले एक अर्काबाट घुस असुलेको थाहा पाएपछि दुवैले बुधबार साँझ सल्लाह गरे । बिहीबार कार्यालय समयमा प्रजिअ रिजालको कार्यकक्षमा पुगेका उनिहरुले रकम फिर्ता नदिए घटना बाहिर ल्याउने चेतावनी दिए । लगतै प्रजिअ रिजालले दुबैलाई आफ्नो गाडीमा हालेर करिब ४ सय मिटर तल रहेको सरकारी निवासमा लगी पैसा फिर्ता दिएका थिए । रकम फिर्ता दिँदा सावधानी पूर्वक पत्रिकामा पोको पारेर दिईएको छ ।

घटना थाहा पाए लगत्तै पिडित बोकेर प्रजिअको कार्यकक्षमा सञ्चारकर्मी पसेका थिए । एउटा बैठक सकेका उनले सञ्चारकर्मी र पिडित रहेकै बखत अर्को बैठक समेत गर्न भ्याए । दोश्रो बैठक सके लगतै तपाईहरु आउनुको कारण थाहा भईसक्यो भनेर लरबराएका स्पष्टीकरण दिने कोशिष थाले ‘कानुन अनुसार पिडितलाई क्षतीपूर्ती दिन जोखिम लिएर पैसा लिएको हुँ’ उनले भने – ‘केही ल्याकप (कमजोरी) भयो होला तर नियत खबर छैन’ । सञ्चारकर्मीसंग निकै प्रष्टाउने कोशिष गरेका उनी निकै आत्तिएका र बोली अक्मकिएको देखिन्थ्यो ।

साँझ घटनामा आफ्नो सामन्य कमजोरी भएपनि घटना बाहिर नल्याउन उनले सञ्चारकर्मीहरुलाई टेलिफोन गरेका थिए ।

(प्रमुख जिल्ला अधिकारी रिजालले आफुले रकम लिएको भनेर स्विकारेको अडियो रेकर्ड नागरिकसंग सुरक्षित छ ।)

‘मुद्धा हेर्ने अधिकारीले रकम लिन पाईदैन’
चण्डीप्रसाद श्रेष्ठ, अध्यक्ष, नेपाल बार एशोसियसन

हरेक मुद्धामा कति क्षतीपुर्ती भराउने भन्ने विषय फैसलामा आउने गर्छ । तर पिडित अस्पतालमा बिरामी भएको वा उपचारमा रहेको छ भने थुनछेक बहसमा समेत मुद्धा हेर्ने अधिकारीले उपचार खर्च दिदै गर्नु भनेर उपचार खर्च दिने आदेश गर्न सक्छ । तर त्यसरी गर्दा पिडितका नाममा भराउनु भनेर आदेश दिने हो । तर पिडितका निम्ती क्षतीपुर्ती दिने भनेर त्यही माथी आफैं रकम लिएको हो भने त्यो कानुन विपरित हो ।

प्रकाशित: १९ मंसिर २०७६ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App