१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भिर खेलवाड

नेपालगन्ज विमानस्थल कार्यालय। तस्बिर : नागरिक

नेपालगन्ज- बुद्ध एयरको ४०५ फ्लाइटको एटिआर–७२ जहाज मंगलबार बेलुका ६ बजेर २० मिनेटमा जब नेपालगन्ज बिमानस्थलको रनवेमा प्रवेश गर्‍यो, रनवेमा अचानक बँदेल आएर जहाजसँग ठोक्कियो । जहाजको पछाडीको पांग्रामा ठोक्किदा बँदेल घटनास्थलमै मर्‍यो, भने पाईलटको सावधानीका कारण जहाज ठुलो दुर्घटनाबाट जोगियो । बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहका अनुसार जहाजमा कुनै क्षति भएन । तर, ठुलो दुर्घटना टर्‍यो । ‘जहाज ल्याण्ड गरेर रनवेमा गुडिरहेको थियो, त्यहीबेला एक्कासी बँदेल निस्केछ,’ उनले भने ‘जहाजको पछाडीको चक्कामा बँदेल ठोक्कियो र घटनास्थलमै मर्‍यो, जहाजमा भने कुनै क्षति भएन ।’

यो त प्रतिनिधी मुलक घटना मात्र हो । यस्ता घटना नेपालगन्ज बिमानस्थलका लागि नयाँ होईन । गतवर्ष पनि सोही बिमानस्थलको रनवेमा यती एयरको जहाजसँग बदेँल ठोक्किएको थियो । त्यतिबेला पनि पाईलटको सावधानका कारण जहाजमा क्षति हुन पाएन । नेपालगन्ज बिमानस्थलमा जहाज अवतरण गराउने पाईलटले प्रायः यस्ता जोखिमको सामना गर्नु परिरहेको छ ।

बिमानस्थलको सुरक्षाका लागि बनाइएको अस्थायी तारजालीबाट बदेँल तथा अन्य वन्यजन्तु सहजै छिरेर आउँछन् । विमानस्थलको विभिन्न स्थानमा तारजाली जीर्ण भईसकेको छ । ती स्थानबाट पशु चौपाया, वन्यजन्तु तथा मानिसहरु समेत घाँस काट्न पुग्ने गर्छन् । यसले गर्दा विमानस्थलको सुरक्षामा खेलाची भईरहेको वायुसेवा प्रदायक कम्पनीको ठहर छ ।

‘विमानस्थल जस्तो संवेदनशिल क्षेत्रको बलियो तारबार छैन, तारबार भरपर्दो नहुँदा बँदेल लगायत अन्य वन्यजन्तु छ्याप छ्याप्ती छन्,’ बुद्ध एयरका नेपालगन्ज प्रमुख शाहले भने ‘बिमानस्थल क्षेत्रभित्रको जंगल तथा झार समय–समयमा ग्रेडिङ गर्नुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन ।’

पश्चिम नेपालको सबैभन्दा बढी ब्यस्त रहेको उक्त विमानस्थलबाट काठमाडौंका लागि दैनिक ९ वटासम्म उडान हुन्छन् । यसका साथै पहाडी तथा हिमाली जिल्लामा पनि दैनिक रुपमा दर्जनौं उडान हुने गर्छन् । यात्रुको चाप बढ्दै जाँदा जहाज कम्पनीले उडानको संख्या पनि थप्दै गएका छन् । यहाँ दिनहुँ जसो भिआईपीको ओईरो लाग्छ । विमानस्थलको शान्ति, सुरक्षामा भने खासै ध्यान दिएको पाईदैन ।

बिमानस्थलमा दुर्घटना दोहोरिदा नागरिक उडड्यन प्राधिकरणका कर्मचारी समेत हैरान छन् । नेपालगन्ज बिमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर रनवेमा बँदेल लगायत अन्य बन्यजन्तुले दुर्घटना बढाईरहेको बताउँछन् । वन्यजन्तुलाई बिमानस्थल परिसरमा आउन नदिन तारबारको ब्यवस्था गरिएपनि प्रभावकारी नभएको उनले स्वीकार गरे । ‘हामीले तारबार गर्छौ, घाँस काट्न आउने स्थानीय बासिन्दाले तार काटिदिन्छन्, यसले गर्दा हामीलाई समस्या भईरहेको छ,’ उनले भने ।

पटक–पटक जहाजसँग बँदेल ठोक्किदा दुर्घटनाको जोखिम बढाएको भन्दै ठाकुरले यसपटक पुनः घटना दोहोरिदाँ आफुहरु गम्भिर बनेको बताए ।


 

 

 

प्रकाशित: १९ मंसिर २०७६ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App