१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अभाव र पीडा खप्न बाध्य

राजिन्दर नेटुवा लुम्बिनीको पश्चिम सडक किनारस्थित सानो झुपडीमा परिवारका साथ।तस्बिर : विनोद/नागरिक

रुपन्देही – विश्वशान्तिको मुहान लुम्बिनी। बुद्धिस्टहरू जीवनमा एक पटक गौतम बुद्ध जन्मस्थल आउन पाए आफूलाई भाग्यमानी ठान्छन्। तर, यही लुम्बिनीको चौघेराबाहिर भने एउटा यस्तो समुदाय छ, जसको जीवन पूरै उराठ र अत्यासलाग्दो। देशविदेशका पर्यटक लुम्बिनीमा घुम्दै रमाइलो गर्छन्। तर, त्यही लुम्बिनीभित्र बच्चा च्यापेका महिला हात फैलाइरहेका हुन्छन्। तिनीहरू हुन् नेपालकै लोपोन्मुख जाति नेटुवा।

दुनियाँ मायादेवी मन्दिर, बौद्ध गुम्बा र लुम्बिनीको मनमोहक दृश्यमा रमाइरहँदा उनीहरूलाई साँझबिहान छाक टार्नै चिन्ता हुन्छ। लुम्बिनी क्षेत्रका रैथाने नेटुवाहरूको मुख्य पेसा नै मागेर जीवन गुजारा गर्नु हो। आखिर उनीहरू किन यसो गर्छन् ? लुम्बिनीको पश्चिमपट्टी सानो झुपडीमा बस्दै आएका ४७ बर्से राजिन्दर नेटुवा भन्छन्, ‘हामीलाई गाउँमा तल्लो जात भनेर काम दिँदैनन्, बाँच्न माग्नैपर्छ।’

राजिन्दरको पुस्ता यहीँ बित्यो। तर, आफ्नो जमिन छैन। लुम्बिनी विकास कोषले पडरिया चौराहास्थित पुर्खाको २ कट्ठा ७ धुर जग्गा पनि खोसिदियो। अहिले राजिन्दर साविकको लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यालय आडैमा सानो झुपडी बनाएर बसेका छन्। सडककिनारमा बसेका उनलाई पटकपटक हटाउन खोजिएको छ।

२ छोरा र ५ छोरीका बाबु राजिन्दर लुम्बिनी विकास कोषले आफ्नो पुख्र्यौली जग्गा हडपे पनि कुनै क्षतिपूर्ति नदिएको गुनासो गर्छन्। आफ्नो बाबुले दुःख गरेर जोडेको जग्गा कोषले हडपे पनि उनले त्यसको क्षतिपूर्ति नपाएकाले न्याय दिलाउन माग गरे। उनी भन्छन्, ‘हामी नेपालका नागरिक हौं, वंशजको नागरिकता छ तर सरकारले कुनै सुविधा दिएको छैन।’ लामो समयसम्म जंगलमा रुखमुनि तथा त्रिपाल टाँगेर जीवन चलाएका उनले केही वर्षदेखि भने सिठाले छाएर सानो घर बनाएका छन्। तर, उनले यो घर जुनसुकै बेला छाड्नुपर्छ। ‘चुनाव कत्ति पटक भयो, नेताहरूले घर बनाइदिन्छु भनेर भोट मागे तर अहिलेसम्म कोही पनि फर्केर आएन,’ राजिन्दरले आँखाबाट आँसु खसा, ‘हामी गरिबलाई कसैले हेरेन।’

२७ बर्से पप्पु नेटुवाको अरिँगालको मह काढ्न जाँदा रुखबाट लडेर दुवै खुट्टा भाँच्चिए। जसोतसो भैरहवा मेडिकल कलेजमा उपचार गराएका उनका दुवै खुट्टामा रड राखिएको छ। अहिले हिँड्न मिल्दैन। रड निकाल्ने बेला भइसक्यो। तर पैसा छैन।

लुम्बिनीमा करिब ३० घर नेटुवा समुदाय छन्। नेपालमा थोरै जनसंख्या रहेको यस जातिको बस्न गतिलो घर छैन। खानेबस्ने कुनै ठेगान पनि छैन। सार्वजनिक जग्गा, रूखमुनि तथा पाल टाँगेर वा झुपडी बनाएर उनीहरू बसेका छन्। महिला र बच्चाहरू माग्ने, पुरुषहरू सर्पको विष निकालेर नचाउँदै हिँड्ने, मौरी काँढ्नेजस्ता काम गर्छन्। बच्चाहरूले प्रायः पढेका हुँदैनन्। एकाध बच्चाले सरकारी स्कुल पढे पनि मागेर हिँड्नेको बच्चा भनेर गाली गर्छन्। बुद्ध आदर्श मावि कक्षा १० मा पढ्दै गरेकी रविता नेटुवाले यसपछि पढ्न नसक्ने बताइन्। उनले भनिन् ‘साँझबिहान माग्न जान्छु, गाली गर्छन् पढेर के गर्ने ? माग्नैपर्छ।’ उनी आफूलाई धेरैले सोध्ने काम मात्र गरेको भन्दै मिडियासँग बोल्दा पनि झर्किइन्। ‘बोलेर के हुन्छ ? पढेर के हुन्छ ? जब कि मैले माग्नै परेको छ, हाम्रा लागि कसले गर्छ, कसले के दिन्छ ?’ रविताको प्रश्न छ।

रविता नै लुम्बिनीमा अलि धेरै पढेकी किशोरी हुन्। स–साना बालबालिका जन्मेर हिँड्नसक्ने भएदेखि माग्न थाल्छन्। बाँच्नकै लागि गाली सहेर माग्न बाध्य भएको बताउँछन् नेटुवाका अगुवासमेत रहेका रामलखन नेटुवा। उनले कुनै पनि काम गर्न समाजले नदिने भएकाले पुरुषहरू मौरी काढ्न, बाजा बजाउन र महिला तथा बच्चाले माग्न बाध्य हुनुपरेको बताए। ‘सरकारले हामीलाई कुनै सुविधा दिएको छैन, हामीलाई पनि निश्चित भत्ता दिए ठूलो राहत हुन्थ्यो,’ उनले भने। भूमिहीन र चरम गरिबीका कारण नेटुवाहरूको जीवन कष्टकर रहेकाले आफूहरूलाई सहयोग गर्न उनको अपिल पनि छ।

मधेस मानव अधिकार गृह (माहुरी होम)ले नेटुवाको अवस्थाबारे आयोजना गरेको छलफलमा आर्थिक सहयोग जुट्छ कि भन्ने आसमा थलिएका बिरामीको लाइन रहेको थियो। २७ बर्से पप्पु नेटुवाको अरिँगालको मह काढ्न जाँदा रुखबाट लडेर दुवै खुट्टा भाँचियो। जसोतसो भैरहवा मेडिकल कलेजमा उपचार गराएका उनको दुवै खुट्टामा रड राखिएको छ। अहिले हिँड्न मिल्दैन। रड निकाल्ने बेला भइसक्यो। तर, पैसा छैन। ‘दुईजना बच्चा छन्, खाने खर्च छैन, म काम गर्न सक्दिनँ,’ उनले गुनासो पोखे। उनी आफै पत्नी र बच्चाको सहारामा बाँचिरहेका छन्।

बहरीजी नेटुवाको शरीर चल्न छाडेको ८ महिना भयो। पैसा नभएकैले उनी उपचारमा जान सकेका छैनन्। ‘मौरी काढेर जीवन चलाउन सजिलो भएको थियो, लुम्बिनीभित्र माग्न गयो हामीलाई लखेट्छन्,’ उनले भने। १० वर्षीय रविन्द्र नेटुवाको पनि खुट्टा टेक्न मिल्दैन। खुट्टा दुखेपछि उनी एक वर्षदेखि पढ्न जान छाडेका छन्। अत्यन्तै कष्टकर जीवन बाँचेका नेटुवाको अवस्था सुधार्न भने कसैले चासो देखाएका छैनन्। नेपालका नागरिक तथा मानिस भएर पनि समाजले चरम जातीय छुवाछुत गर्दै आएको छ। मजदुरीका रूपमा समेत स्वीकार नगर्ने भएकाले आफूहरूले बाध्य भएर मागेर भोक मेटाउनुपरेको १७ वर्षीया सरिता नेटुवा बताउँछिन्। ‘काम दिनुस् न भन्दा पनि पाइँदैन,’ उनले भनिन्, ‘माग्दा गाली गर्छन्, अपमान गर्छन्।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाले नेटुवा जातिको जीवनस्तर उकास्नेबारे कुनै योजना बनाएको छैन। नेटुवा बस्ती पुगेका प्रदेश ५ की सांसद रमा अर्यालले नेटुवाहरूको अवस्था देखेर आफू स्तब्ध भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताइन्। उनले यस जातिको अवस्था सुधारका लागि नीतिगत रूपमा काम गर्न सघाउने बताइन्।

अर्का सांसद कल्पना पाण्डेले नेटुवाहरूले चरम पीडा भोगेको प्रत्यक्ष देखेकाले सदनमा कुरा उठाउने बताइन्। नेटुवाका लागि तत्काल राहत दिलाउन सरकारलाई जानकारी गराएर पहल गर्ने बताइन्। नेटुवा जातिको रुपन्देही, कपिलबस्तु र नवलपरासीमा बसोबास रहेको छ।

प्रकाशित: १९ मंसिर २०७६ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App