coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जगदुल्लामा २२ अर्बमा हाइड्रोपावर निर्माण गरिँदै

डोल्पा- जगदुल्ला जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण कार्य यतिबेला अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्माण हुन लागेको एक सय ६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको डिपिआर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। 

एनए इन्जिनियरिङ कन्सलटेन्सीलाई जगदुल्ला जलविद्युत आयोजनाको डिपिआर निर्माणको लागि २३ महिना समयवधी दिइएको थियो। डिपिआर निर्माण समयवधि नजिकिदै जाँदा निर्माण कार्यले पनि तीव्र गति लिएको छ। तोकिएको समयवधि आउँदो पुसमा सकिदै छ। कन्सलटेन्सीलाई दिइएको समयवाधिभित्र सकिने गरि डिपिआर निर्माण भइरहेको कम्पनीले जनाएको छ। यो आयोजना निर्माणको लागि ७ वर्ष लाग्ने बताइएको छ। डिपिआर निर्माण सम्पन्न भएपछि निर्माणस्थलसम्म निर्माण सामाग्री तथा उपकरण सहजरुपमा पुर्याउनको लागि सर्वप्रथम सडक, पुललगायतका पुर्वाधार निर्माणमा दुई वर्ष र विद्युत आयोजनामा पाँच वर्ष गरि ७ वर्ष लाग्ने अनुमान गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले नागरिकलाई बताए। आयोजना प्रमुख सापकोटाका अनुसार आयोजना पुर्णरुपमा सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सापकोटाले भने ‘भौगालिक विकटताका कारण आयोजना निर्माण गरुन्जेलसम्मको लागि प्रारम्भिक रुपमा २२ अर्ब लाग्ने अनुमान गरिएको भएपनि के कति खर्च लाग्छ भन्ने कुरा डिपिआर निर्माण सम्पन्न भएपछि मात्र थाहा हुने छ। यो आयोजनामा ६ दशमलव १ किलोमिटर लामो भुमिगत सुरुङ पनि निर्माण गरिने छ।

यो आयोजनाको  विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिका–७ इलमा निर्माण हुने छ। जगदुल्ला गाउँपालिका १ हुरीकोटमा २० मिटरको जलाशययुक्त बाँध निर्माण गरि सुरुङमार्ग मार्फत विद्युत गृहमा पानी खसालिने छ। यसको साथै तीन सय मिटर जमिनमुनि भूमिगत विद्युत उत्पादन गृह निर्माणसमेत गरिने आयोजना प्रमुख सञ्जय सापकोटाले बताए। यहाँबाट उत्पादन भएको विद्युत सिधै जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलस्थित ४ सय केभी प्रसारण लाइनमा जोडिने पनि आयोजना प्रमुख सापकोटाले जानकारी दिए।

निर्धारित समयमा आयोजना पुरा हुन्छः उर्जामन्त्री पुन
उर्जा मन्त्री वर्षमान पुनले निर्धारित समय भित्रै निर्माणधिन जगदुल्ला जलविद्युत आयोजना पुरा हुने बताएका छन्। नेपाली सेनाको हेलीकप्टरबाट डोल्पा पुगेका मन्त्री पुुनले मंगलबार आयोजनाको स्थलगत निरिक्षण गरेका छन्। आयोजना अनुगमन तथा निरिक्षणको क्रममा जगदुल्ला हाईड्रो पावरको बाँध बाधिने स्थानमै पुगेका मन्त्री पुनले स्थानीयहरुसँगको भेटघाटमा उक्त कुरा बताएका हुन्। दुई वर्षमा सडक हाईड्रो पावरको आयोजना स्थलसम्म पुग्ने र पुलहरु पनि प्रकृयामा गईसकेकाले आयोजना सँगसँगै सड्क पनि दुई वर्षमा पुग्नेमा विश्वस्त हुन आग्रह गरे।

नेपाल सरकार आफैले निर्माण गर्न लागेको हाईड्रो पावरको मन्त्री आफैले निरिक्षण गरेपछि स्थानीयमा निर्माण कार्यले मुर्तरुप लिनेमा आशा पलाएको छ। निर्माण हुन लागेको एक सय ६ मेगावाट क्षमताको जगदुल्ला हाइड्रोपावरको निरिक्षण तथा अनुगमन र कामको प्रगति बुझ्न आएका मन्त्री पुनले आयोजना निर्माणका क्रममा अधिकरण गरिन लागिएको जग्गाको बारेमा समेत  स्थानीयहरुसँग छलफल गरि जनताको चित्त बुझ्ने गरि मुआब्जा उपलब्ध गराइने बताएका छन्। आयोजना निर्माणको क्रममा २४० रोपनि जग्गा अधिकरण हुने बताइएको छ।

उर्जा मन्त्रीसँगै आयोजना निर्माणस्थलमा पुगेका वनमन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद बीरबहादुर शाहीसमेतको टोलीलाई जगदुल्ला र मुड्केचुला गाउँपालिकाका स्थानीयले फुलमाला र अविरले भव्य स्वागत गरेका थिए।

प्रकाशित: १८ मंसिर २०७६ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App