२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चरेससहित दुई भारतीय पक्राउ

मकवानपुर- अवैध लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेचोकबाट २५ किलो चरेससहित पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

प्रहरी चौकी भैंसेका प्रमुख एवं प्रहरी निरीक्षक दीलिपकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले चरेससहित मोटरसाईकल आईतबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको विहार राज्य, मोतिहारी जिल्लाको सिसुवा ग्राम वडा नम्बर २ का मोटरसाईकल चालक २५ वर्षीय राजेश यादव र मोटरसाईकल पछाडी सवार मोतिहारीकै मोग्लेसरपुरका १८ वर्षीय ऋषि कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकललाई सुरक्षा जाँच गर्ने क्रममा सिट र ट्याङकी मुनी फल्स बटम बनाई लुकाई राखेको अवस्थामा प्रहरीले चरेश बरामद गरेको दाबी गरेको छ।

चरेससहित उनीहरुले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक सिंहले बताए। लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागूऔषध ओसारपसारमा संलग्नलाई दुई बर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँ जरिवाना तथा सवारी साधनसमेत जफत हुने कानुनी प्रावधान छ।

त्यस्तै, लुटिएको सुनको सिक्री र ब्रासलेटसहित एक जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भिमफेदी गाउँपालिका ८ वस्ने १८ वर्षीय सुरज ओलीलाई पक्राउ गरेको हो।

हेटौंडा उपमहानगरपालिका १०, भुटनदेवीरोड बस्ने राहुल सुनारको बासुमार्गस्थित केदारनाथ सुनचाँदी पसलबाट तीन तोला ११ लालको सुनको सिक्री र एक तोला शुन्य दशमलव सात लालको सुनको ब्रासलेट लुटी भाग्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको हो।

सुन लुटेर ना ४३ प ८२६४ नम्बरको मोटरसाइकलमा भाग्न खोज्दा ओलीलाई आईतबार दिउँसो सुनसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ। ओलीमाथि चोरी कसुरमा आवश्यक अनुसन्धान भईरहेको बताइएको छ।

प्रकाशित: १६ मंसिर २०७६ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App