९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भेटिएको युद्ध सामग्रीबारे सेना अझै मौन

असोज दोस्रो साता नेपाली सेनाद्वारा बरामद युद्ध सामग्री। तस्बिर : नागरिक

रोल्पा – नेपाली सेनाको एक टोलीले गत असोज दोस्रो साता नियन्त्रणमा लिएको युद्ध सामग्रीबारे तीन महिना बितिसक्दा पनि सुरक्षा निकायले कुनै औपचारिक जानकारी दिएको छैन। सामान्य बम, ग्रिनेड, पेस्तोललगायत हातहतियार भेटिँदा तस्बिरसहित पत्रकार सम्मेलन गर्ने सुरक्षा निकाय यो विषयमा भने मौन छ।

उत्तरी रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रीवन पुवाखोरेकोे एक गोठमा भण्डारण गरिराखिएको अवस्थामा नेपाली सेनाले ती हतियार बरामद गरेको थियो। रोल्पामा ठूलो परिमाणमा हतियार भेटिएकोबारे स्थानीय प्रहरीले भन्दा पहिले सुरक्षासम्बद्ध माथिल्लो निकायले जानकारी पाएको बताइएको छ।

जिल्ला सुरक्षा समितिले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न खोजेको भए पनि सुरक्षाको माथिल्लो निकायले त्यसमा रोक लगाएको एक अधिकारीले बताए। युद्धकालीन हतियार अनमिनमार्फत बुझाइएको भनिरहँदा त्यसरी ठूलो परिमाणमा युद्ध सामग्री भेटिएपछि तत्कालीन माओवादी तथा हालको सरकारी पक्षलाई असजिलो हुने भएपछि घटना लुकाउन खोजिएको एक सुरक्षा अधिकारीको भनाइ छ। अहिले पनि जिल्लाका सबै सुरक्षा निकायलाई त्यसबारे नबोल्न भनिएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे सुरक्षाका कारण घटना सार्वजनिक नगरिएको बताउँछन्।

युद्धकालीन हतियार अनमिनमार्फत बुझाइएको भनिरहँदा त्यसरी ठूलो परिमाणमा युद्ध सामग्री भेटिएपछि तत्कालीन माओवादी तथा हालको सरकारी पक्षलाई असजिलो हुने भएपछि घटना लुकाउन खोजिएको सुरक्षा अधिकारीको भनाइ छ।

स्थानीयका अनुसार सशस्त्र युद्धताका यो ठाउँमा हातहतियार र विष्फोटक सामग्री उत्पादन समेत हुने गर्दथ्यो ।  
गोठमा रहेको हतियार नियन्त्रणमा लिनेबारे असोज १० गते जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो । बैठकमा ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाली सेनाका पृतनापति सीताराम खड्का, नेपाल प्रहरीका डीआईजी सुरेशविक्रम शाह उपस्थित थिए।

गोठबाट उच्चविस्फोटक (हाई–एक्सप्लोसिभ) बम, ह्यान्ड ग्रिनेड, एलएमजी ब्यारेल ६ थान, म्यागनम ब्यारेल एक थान, इम्प्रोभाइज बन्दुक एक थान र इम्प्रोभाइजर मोर्टार गण एक थान फेला परेका थिए। एम १६ को ‘लाइभ राउन्ड’ (गोली) चार हजार एक सय ९१ वटा र एटी वानको खाली गोली एक सय ३९ थान बरामद गरिएको हो। एटी वान लाइभ बम ११ थान, फोर्टी एमएचई बम तीन थान, हाते ‘ग्रिनेड–३६’ तीन थान, ‘डेटोनेटर–७५’ पाँच थान, ‘डेटोनेटर–२७’ दुई थान, फिप्टी वान एचई बम १३ थान र इस्मोकमिङ कम्प्लिट बम १९ थान छन्।

यस्तै टुइन्च मोर्टारको सेल २२ वटा, बारुद १२ केजी, दुई केजी गन पाउडर र चार मिटर सेफ्टी फ्युज पनि बरामद भएको छ।

गोठमा विभिन्न हतियारका खाली म्यागजिन पनि फेला परेका थिए। एसएलआरका १३ वटा, थ्री नट थ्रीका ११ वटा, एलएमजीका ३७ वटा, एसएमजीका दुई, एके ४७ को एक, गलिलको एक र पेस्तोलको तीनवटा खाली म्यागजिन छन्। बिग्रिएको अवस्थाका दुईवटा साना जेनेरेटर पनि फेला परेको जनाइएको छ। हतियार भेटिएकोबारे सुरक्षा निकायको माथिल्लो अंगले कसरी जानकारी पायो भन्नेबारे कतैबाट पुष्टि भएको छैन। स्थानीयका अनुसार सुरक्षित अवस्थामा रहेका विस्फोयोग्य केही हतियार सेनाले लगेको थियो भने केही हतियार गोठ छेउमा डिस्पोज गरेको थियो।

प्रकाशित: १३ मंसिर २०७६ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App