coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नक्कली चेकमार्फत लाखौं रुपैयाँ झिक्ने गिरोह प्रहरीको फन्दामा!

काठमाडाैँ – नक्कली चेकमार्फत अर्काको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने गिरोह प्रहरीको फन्दामा परेका छन्। विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर चोरेर बैंकबाट करिब २० लाख रुपैयाँ झिक्ने गिरोहमा संलग्न ६ जना प्रहरीको फन्दामा परेका हुन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखालका हाल कालीमाटी बस्दै आएका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका हाल बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोकका हाल सुविधानगर बस्ने गोविन्द घिमिरे रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीले टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

गत ८ गते राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पटक पटक गरि १९ लाख ९ हजार रुपैयाँ निकालेको उनको मोबाइलमा मेसेज आएपछि प्रहरीलेअनुसन्धान थाल्दा उनीहरू पक्राउ परेका हुन्। राजबाहाकले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सुचना प्रहरीले पाउना साथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो। साेही  अाधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गरेकाे थियाे।

पक्राउ परेका व्यक्तिहरुबाट बरामद गरिएका विभिन्न बैंकका चेक, खाता खोल्न तयार पारिएका फारम, एटिएमलगायतको विवरण हेर्दा उनीहरुले बैंकबाट ठूलो रकम लुट्ने योजना बनाइरहेको देखिएको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जनता, एनाआईसी र मुक्ति विकास बैंकका कर्मचारी समेत अनुसन्धानको दायरामा रहेको बताएका छन्।

प्रवक्ता बोगटीका अनुसार अभियुक्तहरुले बैंकमा खाता रहेका व्यक्तिको चेकमा रहेको हस्ताक्षर चोरी, सोही व्यक्तिको नाममा चेक हराएको निवेदन समेत दिएर नयाँ चेक बुक लिने गरेको अनुसन्धानमा खुलेको छ।  प्रवक्ता बोगटीले भने,' त्यसरी अरुको हस्ताक्षर मिलाएर उनीहरुले लाखौँ निकालेकाे प्ररम्भिक अनुसन्धानबाट देखिएकाे छ।'

उनका अनुसार पक्राउ परेका गिराेहबाट प्रहरीले ठूलो परिमाणमा कगजपत्र बरामद गरेकाे छ। 'यो ठूलो गिरोह हो, थप अनुसन्धान भइरहेको,’ महानगरी प्रहरी परिसर टेकुमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै उनले भने, ‘८ वटा बैंक शंकाको घेरामा छन्। बैंकको मिलमतो नभई यो घटना सम्भव छैन।’

उक्त गिरोहबाट प्रहरीले नगद १८ लाख ५० हजार रुपैयाँ, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २ सय ९० पाना, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको २६ थान रजिस्टर, विभिन्न प्रकारका हस्ताक्षर नमुना र नाम उल्लेख गरिएको २ थान डायरी बरामत गरेको छ। विभिन्न व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको सय थान तयारी फारम, १ सय ९५ जनाको बैंक स्टेटमेन्ट, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक १६ थान र काटिएको अवस्थाको चेकबुक ४१ थान बरामत भएको छ।

त्यस्तै एभरेष्ट बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको २० थान र काटिएको अवस्थाको ३ थान, माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिका नाममा जारी भएको नकाटिएको अवस्थाको १७ थान र काटिएको अवस्थाको २ थान, मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिका नाममा जारी भएको नकाटिएको चेक ४१ थान र काटिएको चेक २ थान, एनआइसी एसिया बैंकको विभिन्न व्यक्तिका नाममा जारी भएको ६८ थान चेक बरामद भएको छ।

एनआइसी एसिया बैंकको ८२ थान एटिएम र अन्य बैंकको ७ थान एटिएमसमेत बरामत गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। सो गिरोहले विभिन्न व्यक्तिका नाममा खाता खोल्न संकलन गरेका ८ सय २५ वटा फोटो र बैंकसँग सम्बन्धित विभिन्न डकुमेन्टहरु २ बोरा भन्दा बढी बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखी बैंकिङ कसुर सम्बन्धी सात दिने म्याद पाटन उच्च अदालतबाट लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७६ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App