coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोसीटप्पुमा चरा घटे

इटहरी – कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पछिल्लो समय चराको संख्या घटेको छ। तालतलैया मासिँदै जानु र आहारा अभाव पर्नु चराको संख्या घट्नुको खास कारण रहेको आरक्षसम्बद्ध कर्मचारीहरू बताउँछन्। ‘भोजनमा कमी आयो अनि सुरक्षा पनि भएन,’ आरक्षका संरक्षण अधिकृत रामदेव चौधरी भन्छन्, ‘त्यसकारण बसाइँ सरेर आउने पाहुना चराको संख्यामा यो वर्ष कमी आएको हो।’ उनका अनुसार आरक्षभित्र माछा मार्न खुला गरिएकाले गर्दा पनि चराको आहारामा समस्या आएको हो।

आरक्ष आसपासका क्षेत्रमा थुप्रै परिवार माछा मारेरै परिवार पाल्ने गर्छन्। २०६५ भदौ २ गते कोसी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि कोसी टप्पुको सुनसरीमा पर्ने ठूलो भूभाग मरुभूमिजस्तै बन्न पुग्यो। त्यसपछि आरक्षवरिपरि मानवीय चाप बढेसँगै चराको संख्या घटेको जानकारहरू बताउँछन्। पछिल्ला केही वर्ष केही हदसम्म आशालाग्दो गरी चराको संख्या बढे पनि कोसीले तटबन्ध भत्काउनुअघि जस्तो अहिलेसम्म हुन नसकेको आरक्ष प्रशासनको भनाइ छ। उक्त प्रशासनका अनुसार यकिन तथ्यांक नभए पनि कोसीले पूर्वी तटबन्ध भत्काउनुअघिको तुलनामा अहिले ५० प्रतिशत नै बसाइँ सरेर आउने चरामा कमी आएको अनुमान गरिएको छ।

यो वर्ष चखेवा, जलहाँस, बिजुला गोइरी, श्वेत आँखी भुइँलगायत जातका चरा बढी मात्रमा देखिएका छन्। ट्याकट्याके, बेल्चाढुँडे हाँस, सुडसुडियाजस्ता चरा पनि थुप्रै भेटिएका छन्। ठूल्ठूला चिल र महाचिल देखिए पनि संख्या निकै सानो छ। कात्तिक पहिलो सातादेखि पुस दोस्रो सातासम्म पाहुना चरा आउने गर्छन्। तर अब थप चरा आउने आशा भने कमै मात्र छ। ‘यस वर्ष ढिलो भयो कि भन्ने पनि छ तर अब आउने आशा कमै होला,’ चराविद् डा. हेमसागर बरालले नागरिकसँग भने, ‘९० प्रतिशत हिउँदे पाहुना चरा नेपालमा आइसके।’

यहाँ रैथाने प्रजातिका चरा संख्यामा कम भए पनि सबैखाले देख्न पाइन्छ। खासगरी आगन्तुक पाहुना चरामा भने कमी आएको हो। नेपालमा कुल आठ सय ८८ प्रजातिका चरा पाइन्छन्। जसमध्ये लगभग दुई सय प्रजाति सिमसारमा निर्भर छन्। हा“सका मात्र ३४ प्रजाति नेपालमा पाइन्छन्। कोसी टप्पुमा मात्र पाँच सय २६ प्रजातिका चरा पाइने गरेका छन्। यहाँ विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन्।

त्यसो त एक सय ५२ बिघा क्षेत्रफलमा फैलिएर महाभारत कालदेखि नै रहेको सुनसरी दक्षिणवर्ती क्षेत्रको बर्जुतालमा भने पाहुना चरा बढ्न थालेका छन्। २०५२ सालदेखि संरक्षण गर्न थालिएको ताल अहिले व्यवस्थित भइसकेको छ। जसले गर्दा पाहुना चरा बढ्न थालेका हुन्। ‘नेपालको सन्दर्भमा चराका लागि दोस्रो महत्वपूर्ण ताल बर्जु भएको छ,’ चराविद् बराल भन्छन्। नेपालमा चराका लागि पहिलो महत्वपूर्ण ताल कपिलवस्तुको जगदीशपुरलाई चिनिन्छ। ‘कोसी टप्पुका कतिपय चरा बर्जुमा सरेका छन्,’ उनी भन्छन्, ‘ठूलो जलाशयको ठाउँ भएकाले बर्जुताल चराको मुख्य आकर्षणको केन्द्र बन्न थालेको छ।’

यहाँ २०२६ साल अघिसम्म हजारौंहजार चरा आउँथे। २०२६ सालताका खेतमा पानी लगाउन नहर खनिएपछि तालको पश्चिमी बाँध फुटेर पूर्ण रूपमा सुक्खा भएको थियो। बाँध बाँधेर व्यवस्थित गर्न थालेसँगै उक्त क्षेत्रमा चरा पनि आउन थालेका हुन्। २०५२ सालदेखि तालको संरक्षणमा स्थानीयवासी जुटेका थिए। चार वर्षयता तालको पानी जम्न थालेको छ। जसमध्ये आधा भागमा भने अझै हिउँदको समयमा पानी कम हुने गरेको छ। अहिले यहाँ एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेका छन्। यसरी आउने चरा ठूलो संख्यामा देख्न पाइन्छ। जसले गर्दा जोकोही त्यहाँ पुग्दा चराप्रति मोहित हुने गर्छन्।

प्रकाशित: १० मंसिर २०७६ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App