६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उम्मेदवारको मुख्य मुद्दा नगरकोट सडक

भक्तपुर - भक्तपुर १ (क) (पूरै चाँगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र)मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले नगरकोट सडकलाई मुख्य मुद्दा बनाएका छन्।

नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माले), साझा पार्टी लगायतका उम्मेदवारले भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको सडकलाई मुख्य मुद्दा बनाएका हुन्। आफू निर्वाचित भए नगरकोटको सडक विस्तारमा ढिलाई गर्ने ठेकेदारलाई कारवाही गरी सडक विस्तार सम्पन्न गराउने उनीहरूले प्रतिवद्धता गरेका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले आफू विजयी भएमा नगरकोट सडक विस्तार गर्ने प्रतिवद्धता गरे। नेपाल निर्माण व्यवसायी महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका निर्माण व्यवसायी भँडेलले नगरकोट सडक चाँगुनारायणवासीको मुख्य समस्याको रूपमा रहेको बताए।

चाँगुनारायण नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका ससाना टहरामा रहेका होटेललाई हटाइदिने तर ठूला होटेलहरुलाई भने लिजमा दिने गलत योजना बनाएको सुनिएको बताउँदै उनले निर्वाचनका बेला मत पाउनका लागि अनुचित योजना बनाउनु गलत रहेको बताए। स्थानीय निकायको निर्वाचनमा हाल निर्वाचन हुने चाँगुनारायण नगरपालिका क्षेत्रमा मेयर, उपमेयरसहित अधिकांश नेकपाबाट विजयी भएका थिए।

नेपाल मजदुर किसान पार्टीले नगरकोटको यो सडक विस्तारलाई तेस्रो प्रतिवद्धताको तेस्रो बुँदामा राखेको छ। उम्मेदवारलाई किन मत भन्ने शीर्षकको पर्चाको तेश्रो बुँदामा ‘६ वर्षदेखि अलपत्र रहेको भक्तपुर नगरकोट सडक निर्माणका खराव ठेकेदार र भ्रष्ट सरकारी अधिकारीलाई कारबाही गराई सडक निर्माण अविलम्व सम्पन्न गराउन’ आफनो पार्टीका उम्मेदवारलाई मत दिनुपर्ने उल्लेख छ।

पर्चाको पहिलो मुद्धामा विश्व सम्पदाभित्रको चाँंगुनारायण मन्दिर रहेको डाँंडा र वस्तीसमेतलाई जोखिममा पार्ने गरी बालुवा उत्खनन् रोक्न यस क्षत्रको सम्पदा सरंक्षण गरी पर्यटन उद्योगको विकास गर्न र दोश्रो मुद्धामा नगरकोटको प्राकृतिक सौदर्यलाई संरक्षण गरी पर्यटन उद्योगलाई प्रबद्र्धन र विकाश गर्न, अतिक्रमित वनजंगल सुरक्षित गरी जलाधार क्षेत्रको रुपमा विकास गरी वातावरण सुधार र खानेपानीको श्रोत बढाउन आफनो उम्मेदबारलाई मत आवश्यक भएको उल्लेख छ। पार्टीका उम्मेदबार निरज लवजूले नगरकोट सडक विस्तार समयमै नसकाउने खराव ठेकेदारलाई नै मेलम्चीको ठेकेदारी पनि सुम्पेर सरकारले पुरस्कार दिएको मुद्धालाई आफूले मुख्य मुद्धाको रुपमा उठाउँंदै आएको सुनाए।

यस क्षेत्रको निर्वाचनमा पछिल्लो यही क्षेत्रको निर्वाचन परिणाममा जस्तै मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा, नेपाली नेपाल मजदुर किसान पार्टी र सतारुढ नेकपा नै रहने आकलन गरिएको छ। सतारुढ नेकपाले भने नगरकोट सडकलाई मुद्दा बनाएको छैन।

१२ पृष्ठ लामो पार्टीको चुनावी प्रतिवद्धतापत्रमा नगरकोट सडकको मुद्दा समावेश छैन। २२ बुँदे प्रतिवद्धता पत्रको चौथौ मुख्य मुद्दाको रूपमा सडक राखिएको छ। तर, यसमा नगरकोट सडकबारे उल्लेख गरिएको छैन। सडक शीर्षकमा ६ सडक बारे उल्लेख छ। वैकल्पिक राजमार्गको रुपमा रहेको काभ्रेको साँंगाबाट ताथली, सुडाल, बागीश्वरी, नगरकोट, छालिंग, चाँंगुनारायण, झौखेल, दुवाकोट हुँदै मुलपानी काठमाडौं जाने सडक निर्माणमा तीव्रता दिइने, भक्तपुर चक्रपथ सडक खण्डलाई विस्तार गरी पक्की सडक बनाइने, मनोहरा करिडोर निर्माणलगायत अन्य खोला खहरेमा पनि करिडोर निर्माण गरिने, जिल्ला सदरमुकामबाट वडा सदरमुकाममा जाने मुख्य सडक मापदण्डबमोजिम चौडा गरी पक्की निर्माण गरिने, वडा सदरमुकामबाट भित्री बस्तीमा जाने सहायक सडक पनि मापदण्ड अनुसार चौडा गरी क्रमशः पक्की निर्माण गरिने र विश्व सम्पदा क्षेत्र चाँगुनारायणबाट त्रिशुलडाँडा हुँंदै विश्वमा परिचित पर्यटकीय क्षेत्र नगरकोट जाने पुरानो सडक मापदण्ड अनुसार चौडा गरी पक्की निर्माण गरिने उल्लेख छ। आफनो पार्टीका कार्यबाहक अध्यक्ष प्रचण्डको घरबेटी ठेकेदार भएका कारण यो सडकको मुद्दालाई पार्टीले नराखेको बताइन्छ। नेकपा मालेका उम्मेदवार श्याम नेपालले हिन्दु राष्ट्र र मुलुकको सार्वभौमिकता रक्षाको राष्ट्रिय मुद्दासँगै नगरकोट सडक छिटो निर्माण सम्पन्न हुनुपर्ने आफनो मुख्य मुद्दा रहेको बताए।

साझा पार्टीका उम्मेदवार सुरज प्रधानले नेकपाका अध्यक्ष प्रचण्डको घरबेटी परेकाले नगरकोट सडक विस्तार योजनाका ठेकेदारलाई संरक्षण गर्दै आएकाले उसमाथि कारबाही गरी सडक निर्माण सम्पन्न गराउने आफनो निर्वाचनको मुद्दा रहेको बताए। यस क्षेत्रमा उपनिर्वाचनमा विभिन्न पार्टीहरुबाट ९ र १० स्वतन्त्र १० गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

पछिल्लो निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार हरिशरण लामिछाने यस क्षेत्रमा निर्वाचित भएका थिए। त्यसबेला लामिछानेले १२ हजार सात सय ८९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौ सय ७७ मत ल्याएर दोस्रोका थिए। नेपाल मजदुर किसान पार्टीका निरज लवजूले सात हजार १९ मत पाएर तेस्रो भएका थिए।

भक्तपुरको नगरकोट सडक निर्वाचन हुने यस क्षेत्रको मुख्य सडक हो। यही सडक यहाँका अधिकांश स्थानीयले दैनिक प्रयोग गर्नुपर्छ। नगरकोटसहित सुडाल, वागीश्वरीलगायतका स्थानीयले यो सडक दैनिक प्रयोग गर्नुपर्छ। साथसाथै निर्वाचन हुने भक्तपुर नगरपालिका वडा नं १० का स्थानीयबासीले पनि यो सडक दैनिक उपभोग गर्नुपर्छ।

निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरले ५४ मतदान केन्द्र निर्धारण गरेको छ। चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको सो क्षेत्रमा कूल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ। सो क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेको र २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा सात सय ४८ महिला र सात सय ३६ पुरुष गरी कूल एक हजार चार सय ८४ मतदाता थपिएको जनाइएको छ। निर्वाचनका लागि भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। गत निर्वाचनमा यस क्षेत्रबाट विजयी हासिल गरेका हरिशरण लामिछानेको हृदयघाटका कारण मृत्यु भएपछि अहिले यो स्थानमा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: १० मंसिर २०७६ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App