जाजरकोट– आफनै छोराछोरीको लालनपालन गर्न बोझ मान्ने यो समयमा जाजरकोटकी एक महिलाले २७ जना अनाथ बालबालिकाको पालनपोषण र शिक्षा दिने जिम्मेवारी लिएकी छिन्। जिल्लाको भेरी नगरपालिका–३ थाप्लेकी कालीमाता भनिने नरिन्ताकुमारी शाहले आफनै लगानी र विभिन्न निकायहरुसँग हारगुहार गरि सहयोग जुटाएर ती अनाथ बालबालिकाहरुलाई खान लगाउन र पढ्नका लागि चाहिने सबै खर्च बेहोरिरहेकी छिन्।
धर्मका नाममा घरपरिवार त्यागेको बताउने कालीमाता नरिन्ताले जिल्लाका शिवालय गाउँपालिकाबाहेकका सबै स्थानीय तहका विभिन्न कारणले आमाबुवा गुमाएका १४ जना बालिकाहरु र १३ जना बालकहरुलाई आफनै घरमा नेपाल आमा अनाथश्रम नामको संस्था खोलेर पालनपोषण गरिरहेकी छिन्। आफनै छोराछोरी मानेर आफुले उनीहरुलाई हुर्काउने र पढाउने काम गरिरहेको उनले बताइन्।
आफुसँग प्रयाप्त धन सम्पति नभए पनि सुरुमा केहि मेहनत गरेर कमाएको ५ लाखको लगानी गरेर ती अनाथहरुका पालनपोषण र विद्यालय पढाउने व्यवस्थाको सुरुवात गरेको भए पनि अहिले भने उनीहरुको पालनपोषणमा समस्या बढ्दै गएको उनको भनाइ छ। कक्षा १ देखि ५ कक्षासम्म पढ्ने उमेरका ती बालबालिकाहरुको खानपीन, शैक्षिक सामाग्री, लत्ताकपडा र अन्य स्याहारमा समस्या देखिएको शाहको भनाइ छ। उक्त अनाथश्रमका सबै बालबालिकाहरु सोहि ठाउँको जयमालिका गुरुकुल वेदविद्यापीठ नामको विद्यालयमा पढाइरहेका छन्। उक्त विद्यालयको सञ्चालनको समेत जिम्मेवारी लिएकी शाहले अनाथ बालबालिकाहरुलाई समाज सरकार र सबै सरोकारवालाहरुले विशेष स्याहारका लागि जिम्मेवारी लिनु पर्ने बताइन्। कक्षा १ देखि ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयको आफनै घरमा सञ्चालन गरेको आश्रममा काखे बालकदेखि बावुआमा नभएका २७ बालबालिकाहरु मध्य ८ जना आमा बुवा दुबै नभएका र १९ जना बालबालिकाहरुका वा या आमा गुमेको शाहले बताइन्। सुरुमा आँट गरेर यी बालबालिकाहरुको पालनपोषण र शिक्षा दिने जिम्मेवारी लिए तर अहिले अलि समस्या परिरहेको छ, शाहले भनिन्। केहि स्थानीय तह र व्यक्तिहरुले थोरै मात्रामा सहयोग गर्ने गरेको भए पनि नियमित रुपमा कहि कतैबाट सहयोग पाउन नसकिएको उनको दुखेसो छ। मासिक रुपमा बालबालिकाको सम्पुर्ण भरणपोषण तथा शिक्षाको लागि एक लाख खर्च लाग्ने गरेको र उक्त रकम जुटाउन समस्या परेको उनले बताइन्।
जिल्लाको भेरी नगरपालिकाले दुइ लाख, कुसे गाउँपालिकाले ५० हजार र छेडागाड नगरपालिकाले डेढ लाख रकम अनाथ बालबालिकाको लागि सहयोग गरेको शाहले बताइन्। यस्तै व्यक्तिगत रुपमा सुर्खेतका दिनेश चपाइ र यसोधा चपाइले बालबालिकाहरुका लागि २७ बोरा चामल, स्थानीय केशव खत्रीले ३० किलो चामल र रामजंग शाहले एक हजार नगद सहयोग उपलव्ध गराएको र यस बाहेक कसैले कुनै सहयोग नगरेको शाहले बताइन्।
उनले अनाथ बालबालिकाहरुलाई पर्व अनुसार नयाँ कपडा दिने र प्रत्येक शनिबार माछा मासु खुवाउने देखि सबै काममा आफनै व्यक्तिगत खर्च लगानी गरेको बताइन्। अप्ठेरोमा परेका बालबालिकाहरुको लागि केहि गरौं भन्दा धेरै बाधा र अवरोधहरु आएको बताउँदै आफुले २७ जनै बालबालिकाहरुलाई आफु आमाबावु विहिन हु भन्ने कुनै अनुभुति नदिने पनि बताइन्।
आफुले राखेका सबै अनाथ बालबालिकाहरु स्थानीय सरकारको सिफारीसमा त्यहाँ पुगेको उनको भनाइ छ। विगतमा जाजरकोट बाहिर रहँदा आफुले एकल महिलाहरुको लागि यस्तै सहयोग गरेको तर पछि आफनै जिल्लाका बालबालिकाहरुको लागि केहि गरौं भनेर दुइ वर्षदेखि जाजरकोटमा रहेको पनि उनको भनाइ छ।
उता जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लामा अनाथश्रम भएको वारे आफुलाइ औपचारिक जानकारी नभएको तर वैधानिक सस्थामा रहेका अनाथ बालबालिकाहरुलाई राज्य र सरोकारवाला निकायले सहयोग गर्नु प्रमुख कर्तव्य र दायित्व भएको बताए। उनले आमाबावु दुबै गुमाएर अनाथ भएका बालबालिकाको मानवअधिकार, बालअधिकार र अन्य आधारभुत अधिकारहरुमा कुनै सम्भौता नगरेर व्यवहार गर्नु राज्य र सरोकारवालाहरुको पहिलो दायित्व भएको बताए।
प्रकाशित: ९ मंसिर २०७६ ११:२६ सोमबार