१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

'निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ'

काठमाडाैँ – उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

राज्यमन्त्री दुगडले राजनीतिक स्थायित्वपछि मुलुक समृद्धिको दिशामा अघि बढेको बेला निजी क्षेत्रलाई सरकारले रातो कार्पेट ओछ्याएर लगानी गर्नका लागि स्वागत गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “पूँजी लगानीका लागि राम्रो वातावरण तयार गर्नुपर्छ । उद्योग–व्यवसाय फस्टाउँदा ठूलो मात्रामा रोजगारी सिर्जना हुन्छ र रोजगारी सिर्जना भएमा गरिबी न्यूनीकरण गर्न सकिन्छ । साथै रेमिट्यान्सका भरमा चलेको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ ।”

राज्यमन्त्री दुगडले उद्योग मन्त्रालय निजी क्षेत्रको अभिभावक भएको र यसले उद्योग–व्यवसाय सञ्चालनको अनुमति दिन, प्रवद्र्धन गर्न, संरक्षण गर्न, बजार नियमन तथा अनुगमन गर्नाका साथै शान्तिसुरक्षा गर्नेसमेत जिम्मेवारी रहेको बताए । उपरोक्त कामका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गरी आवश्यक सहजीकरण गर्ने र उद्योगी–व्यवसायीका अन्य मन्त्रालयसँग सम्बन्धित कार्यका पनि समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

“संविधान जारी भएसँगै तीनै तहको सरकारको संरचना तयार भएको छ, राजनीतिक स्थायित्वपछि बनेको बलियो सरकारले समृद्धिको अभियान सुरु गरेको छ ।',उनले भने,'प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्पलाई कार्यान्वयन गर्न मुलुकमा अब उद्योग–व्यवसाय फस्टाउनु अपरिहार्य छ ।”

मुलुकमा बढ्दो वैदेशिक व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन र उत्पादकत्व बढाई निर्यातमूलक उत्पादनलाई प्रवद्र्धन गर्ने उल्लेख गर्दै राज्यमन्त्री दुगडले सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र सञ्चालन गर्नु अपरिहार्य रहेकामा जोड दिए । जडीबुटी, खानी तथा खनिज उत्खननमा जोड दिने साथै पर्याप्त मात्रामा विद्युत् उत्पादन गरी निर्यात गरेर व्यापार घाटा कम गर्न प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

मुलुकको व्यापार–व्यवसाय क्षेत्रमा वैदेशिक लगानी बढाउन नीतिगत सुधार गर्नुपर्ने, एकद्वार प्रणालीबाट सञ्चालन अनुमतिलगायत उद्योग–व्यवसायका आवश्यक सम्पूर्ण कार्य गर्नुपर्ने र श्रम समस्या समाधान गरी सहजीकरण गर्नुुपर्नेमा जोड दिँदै राज्यमन्त्री दुगडले बहुआयामिक प्रतिफल दिने र अपार सम्भावना भएका कृषि, पर्यटन, वन, खानी र जलविद्युत्लगायत क्षेत्रमा लगानी वृद्धि गर्न तथा व्यवसाय सञ्चालनका लागि भरमग्दुर प्रयत्न गर्नेमा जोड दिए ।

साथै रुग्ण सार्वजनिक उद्योग सञ्चालनका सम्बन्धमा उहाँले आवश्यक अध्ययन गरी अघि बढ्ने र तत्काल राम्रो प्रतिफल दिने र ठूलो लगानी आवश्यक नपर्ने उद्योगलाई सरकारले सञ्चालन गर्ने तथा अन्यका हकमा थप अध्ययन गरी कतिपय त्यस्ता उद्योग निजी क्षेत्रलाई पनि सञ्चालनका लागि दिन सकिने धारणा व्यक्त गरे ।

प्रकाशित: ८ मंसिर २०७६ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App