२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

दुई जिल्ला जोड्ने फोक्सिन्टारमा बेलिब्रीज पुनर्जडान सुरु

उदयपुर – उदयपुर र खोटाङलाई सोझो यातायात सम्बन्ध जोड्ने सीमास्थल फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रीज पुनर्जडान कार्य सुरु भएको छ । उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेललाई सोझो यातायात सेवा जोड्ने उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिकाबीचको सिमानामा पर्ने सुनकोसीमा मंसिर पहिलाे सातादेखि बेलिब्रीज पुनर्जडान कार्य सुरु भएको हो ।

गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले मंसिर सुरुदेखि नै बेलिब्रीज पुनर्जडान कार्य सुरु भएको जनाएको छ । सडक कार्यालयका प्रमुख (डिई) पशुपति ज्ञवालीले यो वर्ष विगतभन्दा अगाडि नै पुनर्जडान कार्य सुरु गरिएको बताए । उनका अनुसार यो वर्ष घटाघटमा

रेग्मी/सुगम/आदित्य निर्माण सेवा गाईघाटले ६० लाख मूल्य लागतमा पुनर्जडानको जिम्मा लिएको छ । निर्माण कम्पनीले आवश्यक उपकरणहरु फोक्सिन्टारमा लगिसकेर धमाधम काम गर्न थालेको ज्ञवालीले बताए । 

सकेसम्म मंसिरभित्रै र नसके पुस पहिलो साताभित्र सञ्चालनमा ल्याउनेगरी बेलिब्रीज पुनर्जडान कार्य थालिएको डिई ज्ञवालीले बताए । गत वैशाखमा बेलिब्रीज खोलेसँगै गाईघाट–दिक्तेलको सोझो यातायात अवरुद्ध हुन पुगेको छ । सोझो यातायात अवरुद्ध भएपछि उदयपुर र दिक्तेलदेखि रसुवासम्म गाडीहरु आएर रसुवाको झोलुंगे पुल तरेर यात्रीहरु गाडी फेरेर चढ्नुपर्ने बाध्यता छ ।

सोझो यातायात सेवा सञ्चालन गर्न नसक्दा यातायात व्यवसायी र यात्रु दुवैलाई घाटा हुने गरेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ । गाईघाट र दिक्तेलदेखि सोझै यात्रु बोक्न नपाउँदा बीचबीचमा यात्रुले अनावश्यक झन्झट भोग्नुपर्ने तथा भाडा पनि तोकिएभन्दा बढी तिर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ ।

जतिसक्दो छिटो बेलिब्रीज सञ्चालनमा ल्याउन सके सेवा सहज दिन सकिने केन्द्रका अध्यक्ष ओमभक्त मैनाली बताउँछन् । उनका अनुसार बेलिब्रीज सञ्चालनमा आएमा दैनिक गाईघाट दिक्तेल आधादर्जन ठूला यात्रुबाहक बस र दर्जन बढी मालबाहक र त्यत्तिकै संख्यामा जीप र बोलेरो सञ्चालन हुने गरेका छन्। 

फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल समयमा बनिनसक्दा बर्सेनी हिउँदमा बेलिब्रीज जडान र बर्खामा निकाल्नुपर्ने बाध्यता छ । ५ वर्षअघिदेखि बेलिब्रीज सञ्चालनमा ल्याइएको फोक्सिन्टारमा बर्खायाममा बाढीले बगाउने डरले हरेक वर्ष चैत÷बैसाखमा बेलिब्रीज निकाल्ने गरिएको छ भने कात्तिक÷मंसिरमा पुनर्जडान गर्ने गरिएको छ । यसरी बेलिब्रीज जडान र खोल्ने गर्दा वर्षेनी करोडबढीको खर्च हुने गरेको छ । फोक्सिन्टारमा ३ वर्षदेखि निर्माणाधीन पक्की पुलको गतवर्षसम्म फाउण्डेसनको काम मात्र सकिएको छ । चालु वर्ष अहिलेसम्म पुलको काम सुचारु हुन सकिरहेको छैन ।

उदयपुर–खोटाङको सोझो याताायत मार्गमा पर्ने सुनकोसीमा पक्की पुल यथासिघ्र निर्माण गरिसक्नुपर्ने दुवै जिल्लाबासीले दबाब दिए पनि पुलको काम ढिला भईरहेको स्थानीयको गुनासो छ । ३ वर्षभित्र निर्माण सक्ने गरी सुरु भएको भए पनि यतिका वर्षसम्म पुल नबन्दा दुवै जिल्लाबासीलाई बर्सेनी समस्या झेल्नु परेको रौतामाई गाउँपालिका ५ का वडाध्यक्ष पाण्डव राईले बताए । उनका अनुसार पुल नबन्दा एकातिर बर्सेनी राज्यको सम्पत्ति बेलिब्रीजमा खर्च भईरहेको छ भने अर्कातिर दुवै जिल्लाबासी वर्षायाममा बाढीका बेला ज्यान जोखिममा राखेर डुंगा तरेर वारिपारि गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित: ७ मंसिर २०७६ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App