खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा फँडानी अभियानलाई जारी राखेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान थालेको प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको चंखेपुमा लगाइएको अवैध गाँजा फँडानी गरेको छ।
इलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी च्यास्मिटारबाट खटिएको प्रहरीको टोलीले ३ हजार ६ सय बोट गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा सोही नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा गत कात्तिक २४ गतेदेखि तीन दिन लगाएर करिब १० हजार बोट गाँजा नष्ट गरेको प्रहरीले पुनः सोही क्षेत्रमा गाँजा फँडानी गरेको हो।
विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मिटारलगायत ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा केही कमी आएको छ। प्रतिकेजी कम्तीमा पाँच हजार रुपैयाँमा घरैबाट बिक्री हुने तथा ठेकेदारले ५० हजारदेखि एक लाखसम्म अग्रिम पेस्की दिने गरेकाले किसानले अवैध गाँजा खेतीमा जोखिम मोल्ने गरेका छन्।
प्रकाशित: ६ मंसिर २०७६ ०३:४० शुक्रबार