८ वैशाख २०८१ शनिबार
समाज

तमोर जलाशययुक्तको टुंगोले स्थानीय उत्साहित

तेह्रथुम– राष्ट्रिय गौरवबारे तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माण हुने भएपछि स्थानीय उत्साहित छन्। ७ सय ६२ मेगावाट क्षमताको आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ ।

लगानीको टुंगो लागेपछि आयोजना बन्ने निश्चित भएको र यसले पहाडका चार वटै जिल्लामा विकासको ढोका खुलेको भन्दै जिल्लाबासी हर्सित भएको तेह्रथुम हाईड्रो पावरका अध्यक्ष भुपति श्रेष्ठले बताए। उनले भने जिल्लाको विकासको महत्वपुर्ण पाटोसँग जलविद्युतसमेत जोडिएकोले यो आयोजनालाई सरकारले समयमै सुरु गर्नु पर्छ।

आयोजना निर्माणपछि चार वटै जिल्लाको कृषि, पर्यटन, जलविद्युत् र पर्यावरण संरक्षणमा सहयोग पुग्ने तेह्रथुमबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद लक्ष्मण तिवारीले बताए। उनले आयोजना निर्माणपछि चार जिल्लाको मात्र नभई प्रदेश १ कै विकास र समृद्धिमा सहयोग पुग्ने बताए। यसैबीच पाँचथरबाट प्रतिनिधित्व गर्ने संघीय सांसद वसन्तकुमार नेम्वाङ मन्त्रिमण्डल पुनगर्ठन हुदा भौतिक पुर्वाधार तथा यातायातमन्त्री बन्नु भएपछि जलाशययुक्त बहुउद्देश्यीय आयोजनाले थप महत्व पाउने जिल्लाबासीहरुले विश्वास लिएका छन्।

पटक पटक चर्चामा आउँदै सेलाउने यो आयोजना निर्माणका लागि मन्त्री नेम्वाङको संयोजकत्वमा ०७२ सालमा ‘तमोर जलाशययुक्त आयोजना सरोकार तथा सहयोग समिति’ समेत गठन भएको थियो। आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले स्थलगत रूपमा प्रारम्भिक सम्भाव्यता अध्ययन पूरा गरिसकेको छ। 

आयोजना सुरु भएपछि स्थानीयस्तरमै रोजगारी र विकासका अवसर सिर्जना हुने भएकाले रोजगारीका लागि विदेसिनु नपर्ने आयोजना प्रभावित छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुको भनाइ छ । प्राधिकरणले गरेको पछिल्लो अध्ययनले आयोजनाले तेह्रथुमको छथर गाउँपालिका ३ र ४ नम्बर वडाको ओख्रे नौढुंगेबीच र पाँचथरको कुम्मायक गाउँपालिका–५ स्यावरुम्बा, भाङटार, जोरामौरेमा बाँध बाँधेर आयोजना निर्माण गर्न सकिने देखाएको छ ।

बाँध बनाइने क्षेत्र तेह्रथुम र पाँचथर तर्ने तमोर नदीको लुम्बुघाटमा निर्मित झोलुंगे पुल छेउ पर्छ । आयोजना स्थलमा २ सय मिटर उचाइको बाँध बनाएर ७सय६२ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ। आयोजना निर्माण गर्न १ खर्ब ५० अर्ब रुपैयाँ बजेट लाग्ने सरकारको अनुमान छ । मोरङ, सुनसरी, औद्योगिक क्षेत्र र प्रस्तावित दमक औद्योगिक कोरिडोरको नजिकमा पर्ने भएकाले आयोजना चाँडो निर्माण भए यहाँका उद्योग तथा कलकारखानाले समेत लाभ लिन सक्ने जनकारहरुले बताएका छन् ।

आयोजनाको सन् १९८५ मार्च महिनामै एक जापानी कम्पनीले पहिलो पटक सम्भाव्यता अध्ययन गरेको थियो । त्यो बेला कम्पनीले लुम्बुघाट छेउमा १सय५३ मिटर उचाइको बाँध बाँधेर ६ सय ९६ मेगावाट क्षमताको आयोजना बनाउन सकिने सुझाव दिएको थियो । तमोर नदीमै निर्माणाधीन ३७ दशमलव ६ मेगावाट क्षमताको काबेली ‘ए’ र यसअघि नै निर्माण भइसकेको २२ दशमलव ३४ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजना प्रभावित हुने गरी तमोर जलाशययुक्त आयोजना निर्माण गर्न नहुने आवाज समेत उठेका थिए ।

सरकारले दुवै आयोजनालाई उचित क्षतिपूर्ति दिएर तमोर जलविद्युत् आयोजना निर्माण गर्ने जनाएपछि आयोजनाको काम अघि बढेको थियो । आयोजनास्थलमा खेतीयोग्य जमिनको क्षेत्रफल थोरै रहेको र बस्ती पातलो भएकाले क्षति कम हुने स्थानीयको भनाइ छ । १सय २६ घर परिवार मात्र स्थानान्तरण गर्नु पर्नेछ । 

प्रकाशित: ५ मंसिर २०७६ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App