८ वैशाख २०८१ शनिबार
समाज

पूर्व प्रधानमन्त्री भट्टराईसहितका जनप्रतिनिधि धर्नामा

जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका पूर्वप्रधानमन्त्री भट्टराई, राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता लगायत। तस्विर: नागरिक

गोरखा - बुढीगण्डकी आयोजनास्थल आरुघाट बजार, धादिङको खहरे र गोरखाको आर्खेत क्षेत्रको मुआब्जा तत्काल तोक्न माग गर्दै जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। पूर्वप्रधानमन्त्री तथा गोरखा २ का सांसद बाबुराम भट्टराई, राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको टोली आज बिहान १० बजेदेखि  जिल्ला प्रशासनमा धर्नामा बसेका हुन्।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले मुआब्जा तोक्न आलटाल गरेपछि स्थानीयको दबावमा जनप्रतिनिधिसहितको टोली आन्दोलनमा उत्रिएको हो। धर्नामा सहभागी पूर्व प्रधानमन्त्री भट्टराईले जनताको समस्यामासँगै ‘सती’ जान पनि तयार रहेको बताए। ‘पहिल्यै टुङ्गिनुपथ्र्यो, अहिलेसम्म के मा कुरो नमिलेको रहेछ कुन्नी ?’ उनले आश्चर्य मान्दै भने।

ज्ञापन पत्र बुझाउने, प्रधानमन्त्री, मन्त्री भेट्ने, दलका नेता, प्रजिअ, आयोजनालाई गुनासो गर्ने सबै काम स्थानीयले गरिसके। पाँच वर्षदेखि जग्गा रोक्का राखेर अहिलेसम्म मुआब्जा नतोक्दा सर्वसाधारण मारमा परेको गुनासो प्रभावितहरुको छ। ‘छिटो मुआब्जा तोक्न दबाव दिन हामी धर्नामा आएका छौँ’ राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले भने ‘जनताको समस्या हाम्रो समस्या हो, यो धेरै ढिला भयो, जनतालाई अन्यौलमा राखेर पीडा दिनु हुँदैन।’

जिल्ला प्रशासन कार्यालयको आँगनमा ब्यानर राखेर जनप्रतिनिधि, स्थानीय र राजनीतिक दलका नेताहरु बिरोधमा उत्रिएका छन्। शुक्रवार जिल्ला प्रशासन कार्यालयका धादिङमा धर्ना दिने, आइतवार बुढीगण्डकी आयोजनाको कार्यालय घ्याल्चोकमा धर्ना दिने कार्यक्रम तय भएको बुढीगण्डकी सरोकार समिति आरुघाटका संयोजक दिनेशकुमार ढकालले बताए। १० गतेसम्म मुआब्जा निर्धारण नभए थप आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।

प्रकाशित: ५ मंसिर २०७६ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App