१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राजधानीमै नक्कली डाक्टर

नक्कली डाक्टर अंगतमणि श्रेष्ठ

काठमाडौं – बुढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीकी १० वर्षीया कृष्मा खतिवडालाई तीन साताअघि सामान्य ज्वरो आयो। आफन्तले कात्तिक १० गते भंगालमा रहेको अक्सिजन नेसनल मेडिकल पु-याए। त्यहाँ डाक्टरका रुपमा कार्यरत अंगतमणि श्रेष्ठ कृष्मालाई ज्वरोले च्यापेको भन्दै भर्ना गरेर स्लाइन चढाउनुपर्ने बताए। आफन्तले कृष्मालाई मेडिकलमै भर्ना गरे।

बाबुआमा वैदेशिक रोजगारमा रहेकाले कृष्मा हजुरबुवालगायत आफन्तसँग बस्थिन्। दुई दिन मेडिकलमा राखेपछि श्रेष्ठले औषधि दिएर उनलाई घर पठाए। छोरी बिरामी भएको थाहा पाएपछि बाबुआमा १६ गते बेलुकी जापानबाट नेपाल फर्किए। १७ गते दिउँसो फेरि कृष्मालाई ज्वरो बल्झियो। हजुरबुवाले त्यही लगौं भनेपछि पहिलेकै मेडिकल लगे। श्रेष्ठले फेरि पनि भर्ना गरेर स्लाइन दिनुपर्ने दोहो-याए। त्यसपछि उनी त्यहाँ दोस्रोपल्ट भर्ना भइन्।

भर्ना भएको भोलिपल्ट श्रेष्ठले बिरामीलाई एउटा एन्टिबायोटिक औषधि खुवाउनुपर्ने आफन्तलाई बताए। डाक्टरले सोधेपछि आफन्तले नाइँ भन्ने कुरो भएन। श्रेष्ठले बिरामीलाई औषधि खुवाए। त्यसको भोलिपल्टदेखि कृष्माले बारम्बार बान्ता गर्न थालिन्। यस्तो देखेर बाबुआमा डराए। श्रेष्ठले बिरामीलाई सास फेर्न गाह्रो भएकाले १० दिनसम्म खुवाउने औषधि लेखिदिए। त्यसपछि उनी दोस्रोपल्ट डिस्चार्ज भइन्।

भंगालस्थित अक्सिजन नेसनल मेडिकलका सञ्चालक अंगतमणि श्रेष्ठ नक्कली डाक्टर भएको भेटिएको छ।

डिस्चार्ज गर्ने बेला श्रेष्ठले आफू लामो बिदामा बस्ने भएकाले मेडिकल नआउनू भनेका थिए। डिस्चार्जपछि कृष्मालाई ज्वरोले झन् सतायोे। ज्वरो बढेपछि आफन्तले १९ गते बिहान उनै डाक्टर श्रेष्ठलाई फोन गरे। श्रेष्ठले अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा लैजान अराए। त्यही दिन आफन्तले कृष्मालाई बालमैत्री अस्पताल पु-याए। त्यहाँ चिकित्सकले कृष्माको छातीको एक्सरे गरे। रिपोर्टमा निमोनियाले ढाकेको देखियो अनि उनलाई आइसियुमा भर्ना गरियो। तर उनको रोग निको भएन बरु भर्ना भएको ६ दिनपछि ज्यान गयो। त्यसयता आमा मञ्जु खतिवडा (बस्ताकोटी) विक्षिप्तजस्तै छिन्, घरि रुन्छिन्, घरि टोलाउँछिन्। ‘सबै गाउँलेले त्यही मेडिकलमा उपचार गराउँथे, छोरीलाई पनि त्यहीं लग्नुभएको रहेछ। हामी जापान थियौं। छोरी बिरामी परेपछि नेपाल आएका हौं। यहाँ आएर बुझ्दा त्यो मेडिकल दर्तै रहेनछ, डाक्टर पनि नक्कली रहेछन्,’ मञ्जुले भक्कानिँदै भनिन्।

मेडिकलमा लामो समय राखेपछि कृष्मालाई आफन्तले उपचारका लागि बाल अस्पताल पु-याएका थिए। बाल अस्पतालका डाक्टरले मेडिकलले गलत उपचार र अनावश्यक औषधि सेवन गराएकाले बिरामीको अवस्था गम्भीर भएकाले बचाउने नसकेको बताएका थिए। त्यसपछि आक्रोशित आफन्तले अक्सिजन नेसनल मेडिकलमा घेरा हाले। त्यसको भोलिपल्टदेखि उक्त मेडिकल बन्द गरेर श्रेष्ठलगायत सबै कर्मचारी फरार भएका छन्। ‘मेडिकलका डाक्टरले नै बिरामीलाई धेरै समय राखे, समयमै अर्को अस्पताल लग्नुस् भनेर सही औषधि चलाएको भए छोरी बच्थिन्,’ मञ्जुले भनिन्, ‘अहिले त्यो मेडिकलका स्टाफ र डाक्टर गायब छन्।’

उनको नक्कली प्रमाणपत्र।

मेडिकलको लापर्बाहीले बिरामीको मृत्यु भएपछि आफन्तले महानगरीय प्रहरी प्रभाग नारायणथानमा जाहेरी दिएका थिए। प्रहरीले श्रेष्ठलाई पक्राउ गर्ने जनाए पनि पक्राउ नगरेको आफन्तले बताए। प्रहरीले भने मेडिकल काउन्सिलले कारबाही गर्ने भएकाले मृतकका आफन्तलाई पहिले त्यहीं जान सल्लाह दिएको जनाएको छ। प्रभागका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले आफन्तले दिएको जाहेरी र प्रमाणका आधारमा डाक्टर नक्कली भएको देखिएको बताए। ‘डाक्टरको बारेमा हामीले गहिरो अध्ययन गरेका छैनौं तर केही नक्कली कागजात भेटिएका छन्,’ उनले भने, ‘मेडिकल काउन्सिलसँग मिलेर डाक्टर र मेडिकलमाथि कारबाही गर्छौं।’ उक्त मेडिकलमा श्रेष्ठ र सरिता जिसीको लगानी छ। मेडिकल काउन्सिलमा दर्ता नभएको मेडिकल काउन्सिलले जनाएको छ।

डाक्टर नै नक्कली
अक्सिजन नेसनल मेडिकलका सञ्चालक श्रेष्ठ नक्कली डाक्टर भएको प्रमाण भेटिएको छ। उनका शैक्षिक प्रमाणपत्र र अन्य कागजात नक्कली भएको भेटिएको छ। उनका प्रमाणपत्रमा दुईवटा नाम छन्। मेडिकलमा उनले डाक्टर अंगतमणि श्रेष्ठ भनेर नेमप्लेट बनाएका छन्। कागजातमा उनको नाम कृष्णबहादुर उल्लेख छ। उनको वास्तविक ठेगाना सिन्धुली हो तर उनले आफू काठमाडौंकै स्थायी बासिन्दा भएको बताउँदै आएका छन्। उनले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबाले हस्ताक्षर गरेको ‘वल्र्ड टपर’ नामक नक्कली सर्टिफिकेट समेत बनाएका छन्।

‘भंगाल क्षेत्रका सबै स्थानीय बिरामी पर्दा त्यही मेडिकलमा पुग्थे। मेडिकलले चर्को पैसा असुलेपछि मात्रै अन्त पठाउँथ्यो,’ कृष्माका एक आफन्तले भने, ‘शंका लागेका डाक्टरको कागजात खोज्दा केही भेटिएको छैन। वडा कार्यालयले नक्कली डाक्टर भन्दै प्रहरीलाई खबर गरेको छ।’ श्रेष्ठले अमेरिका र जापानबाट ‘एमडी’ गरेर आएको, नर्भिक र ओम हस्पिटलमा पनि आफू संलग्न भएको भन्दै रोगी र तिनका आफन्तलाई प्रभाव पार्ने गरेको स्थानीय बताउँछन्।

प्रकाशित: ४ मंसिर २०७६ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App