२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

ढुंगा, गिटी निकालेको भन्दै स्थानीयले रोके टिपर, अवरोध हटाउन अश्रुग्यास प्रहार

उदयपुर – उदयपुरको बेलका नगरपालिकामा भइरहेको नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न माग गर्दै अवरुद्ध सडक खोल्न खोज्दा प्रहरी र अवरोधकर्ताबीच झडप भएको छ ।

मंगलबार विहान ५ बजे भएको दोहोरो झडप हुन खोज्दा प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गर्नु परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

नगरपालिकाले लगाएको चालु आर्थिक वर्षको नदीजन्य पदार्थको ठेक्का पाउने डिबी कन्स्ट्रक्सनले बेलका नगरपालिका ६ साविक बबलास्थित शिसुवा खोलाबाट निकालर लाँदै गरेको २० वटा टिपरको ढुंगा चतारा–फत्तेपुर–कन्चनपुर सडक खण्डको बेलका ४ लालबजारमा स्थानीयले ५ दिनदेखि रोकेर राखेका थिए ।

अवैध उत्खनन गरेकाले नगरपालिकाले ठेक्का रद्ध गर्नुपर्ने, ढुंगा अनलोड गर्नुपर्ने र ठेकेदारको दादागिरी अन्त्य गर्नुपर्ने ३ बुँदे माग राख्दै स्थानीयले सडक छेउमा रोकिराखेका टिपर प्रहरीले हटाउन खोज्दा दुई पक्षबीच झडप भएको हो । झडपमा बढी क्षति हुन नदिन तथा भिडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्नु परेको इप्रका रामपुरका निरीक्षक रामचन्द्र साहले बताए। 

अहिले २० मध्ये १९ टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गाईघाट परिसरमा राखिएको छ । एउटा टिपर भने स्टार्ट नभएका कारण लालबजारमै राखिएको छ । जसमा स्थानीयले तोडफोडसमेत गरेका छन् ।

५ दिनअघिको घट्ना मिलाउन स्थानीय र नगरपालिकाबीच बिभिन्न चरणमा वार्ता भए पनि वार्ता निश्कर्षमा पुग्न नसकेको नगरपालिकाका कार्यवाहक प्रमुख तथा ६ नं. वडाध्यक्ष बसन्त मगरले बताए ।

उनकै वडाको खोलाबाट निकालिएको ढुंगा ४ नं. वडाबासीले रोक्नुको कुनै अर्थ नरहेको र वन, वातावरण समितिको नगर संयोजक पनि आफै भएकाले उनकै अगुवाईमा सोमबार विहानदेखि साँझसम्म पछिल्लो वार्ता भएको थियो । तर, स्थानीयको अन्य माग पुरा गर्न सकिने खालका भए पनि ठेक्का रद्ध गर्नुपर्ने र ढुंगा अनलोड गर्नुपर्ने मागमा नगरपालिका सहमत हुन नसकेपछि वार्ता निश्कर्ष विहीन टुंगिएको मगरले बताए ।

पछिल्लो वार्ता पनि निश्कर्षमा पुग्न नसकेपछि प्रहरीले टिपर नियन्त्रणमा लिएर सदरमुकाम लान खोज्दा दुईपक्षबीच झडप भएको नगरपालिकाका सल्लाहकार नारद निरौलाले बताए । उनका अनुसार प्रदर्शनकारीले सोमबार दिउँसो नगरपालिकाका कानुनी सल्लाहकार तथा न्यायिक समितिका सदस्य सुरेन्द्र बस्नेतमाथि हातपात र अभद्र व्यवहार गरी घाइते बनाएका छन् । नगरपालिकाको विचाराधिन मुद्धामाथि बहस गर्न उच्च अदालत ओखलढुंगा हिडेका बस्नेतमाथि लालबजारमा प्रदर्शनकारीले हातपात गरेर घाइते बनाएको निरौलाले बताए ।

झडपमा तीन प्रहरी र तीन प्रदर्शनकारी तथा एक टिपर चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीतर्फ नरबहादुर कार्की, तुलसी कार्की र पदमबहादुर राई, चालक गोगेन मण्डल र प्रदर्शनकारीतर्फ प्रेम अधिकारीलगायत तीनजना समान्य घाइते भएको स्थानीयको भनाई छ । तर, कोही अस्पताल भर्ना हुनु नपरेको इन्स्पेक्टर साहले बताए ।

स्थानीयले अवैध भनेर उत्खनन र निकासी रोक्न खोजे पनि नगरपालिकाले भने सबै कानुनी प्रक्रिया पुरा गरेरै ठेक्का लगाएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पुस्कर भट्टराईका अनुसार गत भदौमा न्यूनतम २ करोड १६ लाख रुपैंया मूल्य तोक्दै नगरपालिकाले आव्हान गरेको बोलपत्र सूचना अनुसार २७ वटा व्यवसायिक फर्महरुले ठेक्का पाउन टेण्डर हालेका थिए । जसमध्ये बढी मूल्य कबोल गर्ने ४ व्यवसायीबीच प्रतिस्पर्धा लगराउँदा सबभन्दा बढी ५ करोड ११ लाख १ सय ११ रुपैंया कबोल गर्ने विश्वकर्मा निर्माण सेवा बेलका ९ थियो । तर, उसले समयावधिभित्र सम्झौता गर्न नआएपछि दोस्रो ठूलो रकम कबोल्ने बिपी कन्स्ट्रक्सन भवानीपुर सिराहालाई ठेक्का परेको भट्टराईले बताए ।   

प्रकाशित: ३ मंसिर २०७६ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App