६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुआब्जा वितरणको तयारी, १७ वटा घरगोठ हटाइने

सिन्धुलीको कमलामाई नगरपालिका ७ मा रहेको सुनकोसी मरिण डाइभर्सनको सम्पर्क कार्यालय । तस्बिरः अनिल/नागरिक

सिन्धुली- सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोशी, मरिण डाइभर्सन आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने अन्तिम तयारी भएको छ। यहाँको कमलामाई नगरपालिका–२ स्थित कुसुमटारका ५० जना स्थानीयको १२ विघा जमिन अधिग्रहण गर्दै उक्त क्षेत्रभित्र पर्ने घर तथा जग्गाको मुआब्जा वितरण गर्ने अन्तिम तयारी भएको आयोजनाको सम्पर्क कार्यालय सिन्धुलीले जनाएको छ।

गत कार्तिक २ गते निकालिएको सार्वजनिक सुचनाकै आधारमा यो आइतबारसम्म ३६ जनाले मुआब्जाका लागि आयोजनाको सम्पर्क कार्यालयमा निवेदन दिइसकेका छन्। आयोजनाको सिन्धुली सम्पर्क कार्यालयका प्रमुख सिनियर डिभिजन हाइड्रोजिओलिष्ट विश्वबन्धु केसीका अनुसार आयोजनाको भौतिक संरचना निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको हो। जसका लागि मुआब्जा वितरणको तयारी भएको उनले जनाए। ५० जना मुआब्जा पाउन योग्य भएका मध्य ३६ जनाले आइतबार बेलुका सम्म निवेदन दिइसकेका छन्, बाकी अरुको पनि निवेदन आइरहेको छ, उनले भने।

जग्गा अधिग्रहणमा स्थानीयको कुनै अवरोध र समस्या नभएकाले काम तिब्र गतिमा अगाडी बढेको केसीको भनाई छ। हामीले विवेकपुर्ण तरिकाले मुआब्जा निर्धारण गरेका छौं, त्यसमा स्थानीयको पनि समर्थन भइरहेको छ, उनले भने, ‘कुनै अवरोध र समस्या नआए हामी पुस अन्तिमसम्म सबै प्रभावितहरुको खातामा मुआब्जा बापतको रकम पठाइसक्छौं।’ केसीका अनुसार मुआब्जाका लागि करिब रू. २५ करोड लाग्ने अनुमान गरिएको छ। अधिग्रहण गर्न लागिएको जमिनमा ५० व्यक्तिको ७५ कित्ता रहेको स्थानीयको भनाई छ।

‘अधिग्रहणको क्रममा १७ वटा घर परिवार विस्थापित हुने भएका छन्। विस्थापित परिवारलाई घर बनाउने समयसम्म हामीले बस्दै आएको घरमै बस्ने व्यवस्था मिलाउन लागेका छौ’, केसीले भने, ‘मुआब्जा निर्धारणमा जग्गाको प्रकृति, उपयोग र अवस्था, बैंकले ऋण प्रवाह गरेको आधार नगरपालिकाको एकिकृत सम्पत्ति कर तथा मालपोतको मुल्याङकनलाई आधार बनाएर निर्धाण गरिएको छ। हामीले जग्गा जमिन अनुसार न्युनतम प्रतिकठ्ठा तीन देखि अधिकतम १० लाखसम्म दिने निर्णय गरेका छौ’, उनले भने, ‘यसमा स्थानीयको पनि सहमति देखिएको छ।

सुनकोसी गाँउपालिका–६ को सुनकोसी नदीमा १२ मिटर उचाईको बाँध बाधि ६७ क्युसेक प्रति सेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङको माध्यमबाट कमलामाई नगरपालिका–२ को कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने आयोजनाले जनाएको छ। उक्त पानी खसालिने क्षेत्रमा हाल मुआब्जा वितरण गर्न लागिएको हो। राज्यसँग निहु खोज्न सकिदैन, जति दिने निर्णय गरेको छ, हामीले त्यहि मुआब्जा लिन लागेका छौ, स्थानिय प्रभावित मध्येका माधब देवकोटाले भने, हामीले राज्यलेनै दिएको मुआब्जालाई चित्त बुझाइरहँदा आयोजनाले पनि प्रत्यक्ष प्रभावितलाई क्षमताको आधारमा अवसर दिनुपर्छ भन्ने हाम्रो माग हो। अहिले वितरण गर्ने मुआब्जाको रकम भनेको शुरूको विन्दु कुसुमटार मात्रको भएको आयोजनाले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७६ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App