coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जंगली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

चितवन - जंगली हात्तीको आक्रमणमा परी शनिबार माडीमा दुईजनाको मृत्यु भएको छ। माडी नगरपालिका–१ को बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको हात्ती आक्रमणमा परी४४ब्ल्म्एउसमृत्यु भएको हो।

बिहान साढे नौ बजेतिर माडी–१ बरुवाबाट लु३१प २९११ नम्बरको मोटरसाइकलमा माडी–९ बाँदरझुलातर्फ जाँदै गर्दा देउरालीको जंगलमा जंगली हात्तीले समूहले उनीहरूको बाटो छेकेको थियो। हात्तीले बाटो छेकेपछि मोटरसाइकलबाट भागी जंगलमा लुकेका दुवैजना पछि मृत भेटिएका थिए। हात्तीको आक्रमणबाट परी बाबुछोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।

चितवनको रत्ननगर, खैरहनी र माडी नगरपालिकासँगै भरतपुर महानगरपालिकाको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएका क्षेत्र वन्यजन्तुको जोखिममा रहेका क्षेत्र हुन्। मध्यवर्ती क्षेत्रको आडैमा रहेका बस्तीमा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले दुःख दिने गरेका छन्। यो क्षेत्रमा सधैं ज्यानको जोखिम हुने गर्छ।

रत्ननगर नगरपालिका–७ सौराहानजिकैको बद्रेनी बस्ती वन्यजन्तुले दुःख दिइराख्ने बस्ती हो। नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बस्तीमा पसेर अन्नबाली नोक्सान गर्ने मात्र नभई मानिसलाई समेत आक्रमण गर्ने गर्छन्। साउन पहिलो साता जंगली हात्तीको आक्रमणमा परी बद्रेनीका ६२ वर्षीय कान्छा दराईको मृत्यु भएको थियो।

क्षतिमा राहत दिन बिमा
यसैबीच चितवनमा वन्यजन्तुबाट हुने सम्भावित क्षतिमा पीडितलाई राहत दिन बिमा गर्न थालिएको छ। पहिलो चरणमा बद्रेनीमा रहेका एक सय ४९ घर–परिवारको बिमा गरिएको छ। रत्ननगर नगरपालिकाले बाघमारा मध्यवर्ती सामुदायिक वन, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इन्स्टिच्युटको साझेदारीमा बिमा कार्यक्रम सुरु गरेको हो। मध्यवर्ती क्षेत्र वरपरका विपन्न वर्गलाई लक्षित गरिएको बिमाले वन्यजन्तुबाट हुने मानवीय, भौतिक, घरपालुवा जनावर, बालीनालीलाई सम्बोधन गर्ने रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए। शिखर बिमा कम्पनीमार्फत गरिएको बिमामा बिमाबापत रत्ननगर नगरपालिकाले २५ प्रतिशत, अर्थ इन्स्टिच्युटले २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वन तथा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको २५ प्रतिशत र उपभोक्ताले २५ प्रतिशत रकम बेहोर्ने गरी कार्यक्रम लागु गरिएको हो।

अहिले बिमाका लागि सात लाख २५ हजार रुपैयाँ बुझाइएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले बताए। बिमा गरिएको बस्तीमा वन्यजन्तुका कारण मानिसको मृत्यु भएमा १० लाख, घाइते भएमा एक लाख, घर तथा भौतिक संरचनामा क्षति भएमा १० लाख, घरपालुवा जनावरको मृत्यु भएमा १२ देखि ४० हजारसम्म र बालीनालीमा क्षति भएमा मूल्यांकन गरेर ७५ प्रतिशत रकम राहत उपलब्ध गराउने गरी बिमा गरिएको हो। मध्यवर्ती क्षेत्रका बासिन्दा घाँस–दाउरा गर्न जंगल जाँदा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा कतैबाट राहत पाउँदैनन््। वन्यजन्तुबाट हुने क्षतिमा राहत दिन सरकारले निश्चित सीमा तोकेको छ।

त्यस सीमाभन्दा बाहिर पर्ने पीडितले राहत पाउने व्यवस्था नभएका कारण बिमा कार्यक्रमअघि सारिएको रत्ननगर नगरपालिकाका मेयर वन बताउँछन्। यो कार्यक्रमले वन्यजन्तु र मानिसबीचको द्वन्द्व न्युनीकरण गर्न सहयोगी हुने उनको विश्वास छ। पहिलो चरणमा बद्रेनीका बासिन्दामा गरिएको यो बिमा योजना मध्यवर्ती क्षेत्रका अन्य वन्यजन्तु प्रभावित क्षेत्रमा समेत विस्तार गरिने उनी बताउँछन्। ‘जीविकोपार्जनका लागि जंगल जाँदा मानिस घाइते वा मृत्यु भएमा कहीं–कतैबाट राहत पाउने व्यवस्था थिएन,’ उनले भने, ‘अब यो कार्यक्रमले केही भए पनि र पीडामा राहत मिल्नेछ।’

प्रकाशित: १ मंसिर २०७६ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App