७ वैशाख २०८१ शुक्रबार
समाज

महिला उद्यमी भेला मंसिर पहिलो साता

काठमाडौं – महिला उद्यमशीलता पहिचान गरी प्रोत्साहन गर्न ‘महिला उद्यमी भेला–२०७६’ हुने भएको छ। राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको योगदान कदर गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालको आयोजनामा आगामी मंसिर ३ र ४ गते सो भेला हुने भएको हो।

आयोजकले शुक्रबार पत्रकारसँगको भेटघाट कार्यक्रममा सो विषयमा जानकारी गराएको हो। भेलामा सातवटै प्रदेशबाट साना तथा मझौला गरी एक हजार महिला उद्यमीको सहभागिता रहने आयोजकको दाबी छ। ग्रामीण तथा सहरी महिला उद्यमीलाई एउटै थलोमा उपस्थित गराएर उद्यमलाई प्रोत्साहन गर्न भेलाको आयोजना गर्न लागिएको महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शारदा रिजालले बताइन्। ‘भेलाले महिला उद्यमीको हौसला बढाउने र क्षमता विकासमा सघाउ पु¥याउनेछ,’ रिजालले भनिन्।

उनका अनुसार कार्यक्रममा मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न महिला उद्यमीले खेलेको भूमिका तथा योगदानबारे छलफल हुनेछ। महिला उद्यमीले उत्पादन गरेका वस्तु निर्यात गर्न सहज र सुविधायुक्त वातावरण सिर्जना गर्न महासंघले सघाउँदै आएको छ। ‘सफलताको कथा सुनाएर अलमलमा परेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्य छ,’ उनले भनिन्, ‘भेलामा उद्यमशीलता विकास कोषको क्षेत्रमा वित्तीय पहुँचको वकालत एवं प्रस्तुतिसम्बन्धी तयार गरिएको मस्यौदा नीतिबारे जानकारी गराइनेछ।’

भेलामा ‘महिला उद्यमी: आर्थिक परिवर्तनका संवाहक’ व्यापार सन्तुल तथा व्यावसायिक वातावरण तयार पार्दै महिला उद्यमशीलतामा लगानीलगायत विषयमा छलफल गर्ने योजना रहेको छ। कार्यक्रममा सूचना र प्रविधि, जलविद्युत्, कृषि, पर्यटन, हस्तकलाका क्षेत्रमा योगदान पु¥याएका महिला उद्यमी, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघलगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी हुने भएका छन्।

प्रकाशित: ३० कार्तिक २०७६ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App