५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ठडियो नमुना विद्यालय भवन

ठोकर्पा (सिन्धुपाल्चोक) – विश्वमै सामुदायिक वनको जन्मभूमि मानिने ठोकर्पामा सरकारद्वारा नमुना विद्यालय घोषित बाघभैरव माविको अत्याधुनिक भवन ठडिएको छ। भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को साढे नौ करोड रूपैयाँ सहयोगमा विद्यालय भवन बनेको हो। सरकारद्वारा नमुना घोषित विद्यालय भएकाले यो विद्यालय अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको व्यवस्थापन समितिका अध्यक्ष नेत्र कार्कीले बताए। ‘अत्याधुनिक विद्यालयभित्र सबै भौतिक पूर्वाधार र शैक्षिक सुविधा उपलब्ध छ,’ उनले नागरिकसँग भने।

उनका अनुसार पुननिर्माणअन्तर्गत दुई विद्यालय, चमेनागृह र शौचालयसहित चारवटा भवन एकै प्याकेजमा बनेका हुन्। भव्य भवनमा कक्षाकोठा मात्रै २४ वटा छन्। भवनमा बैठक कक्ष, पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला छन्। छात्र, छात्रा, अपांग विद्यार्थी र शिक्षकका लागि छुट्टा–छुट्टै शौचालय छन्।

‘भूकम्पप्रतिरोधी विद्यालय अपांगमैत्री, बालमैत्री र बातावरणमैत्रीसमेत छ,’ विद्यालय रहेको सुनकोसी गाउँपालिका–१ का वडाध्यक्षसमेत रहेका कार्कीले भने। बिजुली, सोलार बत्ती, इन्टरनेट जडित विद्यालयमा खानेपानी, कार्पेटिङ, डेस्क, बेञ्च, प्रोजेक्टर, टेलिभिजन, पोडिएम, पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशालाका सम्पूर्ण सामग्री भवन निर्माण प्याकेज अन्तर्गत नै व्यवास्थापन गरिएको छ। ‘भौतिक र शैक्षिक पूर्वाधार पर्याप्त भएका छन्। अब शैक्षिक गुणस्तरमा ध्यान दिन्छौँ,’ विद्यालयले अघि सारेका भावी योजना सुनाउँदै अध्यक्ष कार्कीले भने।

विद्यालयका सबै कक्षामा टेलिभिजन सेटको व्यवस्था गरिएको छ, जहाँ बालबालिका चकटीमा बसेर बालमैत्री कक्षामा पढ्छन्। बालबालिका अडियो÷भिडियोमार्फत पठनपाठन गर्छन्। कक्षा ६ देखि १२ सम्म आकर्षक फर्निचरको व्यवस्था छ। कक्षा आठदेखि माथि प्रत्येक कोठामा प्रोजेक्टर र पोडिएमको सुविधा छ। ६ कक्षादेखि अंग्रेजी माध्यममा पठनपाठन गर्दै आएको विद्यालयले यो बर्ष त्यसलाई पाँचसम्म विस्तार गर्ने तयारी थालेको जनाएको छ।

जिल्लाका अब्बल सामुदायिक शैक्षिक संस्थामध्येको एक अग्रणी यो विद्यालयका दुइटा ठुला भवन २०७२ वैशाख १२ को महाबिनासकारी भुकम्पले ध्वस्त बनाएको थियो। क्षतिग्रस्त एक विद्यालय भवनको आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत रेट्रोफिटिङ भइरहेको छ। विभिन्न मापदण्डका आधारमा नेपाल सरकारले २०७३ मा मुलुकभरका १४ सामुदायिक विद्यालयलाई नमूना विद्यालय घोषित गरेको थियो। बाघभैरव सिन्धुपाल्चोकका पहिलो नमूना विद्यालय हो। योसमेत जिल्लामा सरकारबाट नमूना घोषित विद्यालय तीनवटा छन्।

भौतिक संरचनाको काम सकिएसँगै नमूना विद्यालय घोषित भएबापत सरकारबाट विद्यालयले यो वर्षदेखि ५० लाख रुपैयाँ थप अनुदान पाउने अध्यक्ष कार्कीले जानकारी दिए। ‘शैक्षिक गुणस्तरवृद्धिमा खर्च गर्ने गरी यस्तो अनुदान वर्षेनी प्राप्त हुन्छ,’ उनले भने। शैक्षिक गुणस्तर वृद्धि, आवास व्यवस्थापन, शिक्षक र गरिब तथा जेहेन्दार बालबालिकाको बृत्ति विकासमा यो रकम खर्च गर्न पाइने उनले जानकारी दिए।

कक्षा १० का विद्यार्थीका लागि आवासको व्यवस्था रहेको विद्यालयलाई क्रमशः आवासीय बनाउँदै लैजाने प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने बताउँछन्। उनकाअनुसार २०१७ सालमा स्थापना भएको विद्यालयले २०३६ मा माध्यमिक हुँदै २०५० देखि उच्च माध्यमिक तह सञ्चालनमा ल्याएको थियो। विद्यालयमा पाँच सय २० विद्यार्थी अध्ययनरत छन्।

विद्यालयले सोमबार भव्य कार्यक्रम गरी नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेको थियो। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालय उद्घाटन गरेका थिए। नमूना विद्यालयको कार्यक्रममा भाग लिन पूर्वमन्त्री रहेका माओवादी नेता अग्नि सापकोटा र कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत ठोकर्पा आएका थिए। सापकोटा यो विद्यालयका पूर्वप्रधानाध्यापक हुन्।

उक्त असरमा विद्यालयले सामुदायिक वनका अवधारणकर्ता निलप्रसाद भण्डारीसहित नमूना विद्यालय बनाउन सघाउने व्यक्तित्वलाई सम्मान गरेको थियो। विश्वमा सामुदायिक वनको अवधारण २०२८ सालमा ठोकर्पाबाटै सुरु भएको थियो। यहाँको रतुवापार्टी बाँजथलो सामुदायिक वन पहिलो सामुदायिक वन हो। त्यसैले ठोकर्पा विश्वमा सामुदायिक वनको जननीका रुपमा चिनिन्छ। ठोकर्पामा अहिले अन्तराष्ट्रिय सामुदायिक वन अध्ययन केन्द्र बनिरहेको छ।

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत वाघभैरव लागत र भौतिक पूर्वाधारका हिसावले जिल्लाकै दोस्रो ठूलो विद्यालय भएको आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का इन्जिनियर शेरबहादुर पुजाराले जानकारी दिए। उनका अनुसार लागत र पूर्वाधारका हिसावले सबैभन्दा ठूलो जिल्लाकै पहिलो शैक्षिक संस्था सदरमुकामस्थित कृष्णरत्नगंगा मावि बनिरहेको छ। साढे १० करोड रुपैयाँ लागत यो विद्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।

प्रकाशित: २७ कार्तिक २०७६ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App