२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धार्मिक पर्यटनकाे आधार गढीमाई

बाराको बरियारपुरमा रहेका गढिमाई मन्दिर। तस्बिर : नागरिक

बारा – पर्यटन वर्ष सन् २०२० का लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्यभित्र पर्न सफल बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्र्याउने ठुलो माध्यम बन्ने देखिएको छ। मेलामा नेपाल, भारतलगायत तेस्रो मुलुकबाट ६० लाखभन्दा बढी हिन्दु श्रद्धालुहरू दर्शन गर्न आउने विश्वास गरिएको छ।

पाँच वर्षीय मेलालाई भब्य र सर्वव्यापी बनाउन गत असोज १२ गते घटस्थापनाको दिन निकालिने शोभा यात्रा कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले फोनमार्फत सम्बोधन गरी उद्घाटन गरेकी थिइन्। मौसम खराबीले शोभा यात्रा कार्यक्रममा उपस्थित हुन नसके पनि राष्ट्रपतिले फोनमार्फत कार्यक्रमलाई सम्बोधन गर्दै गढीमाई मन्दिरको उचित संरक्षण एवम संवद्र्धन गर्दा यसले देशको पर्यटन क्षेत्रमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरेकी थिइन्।

केही दिन पहिलामात्रै नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले गढीमाई मन्दिरलाई महागढीमाई नगरपालिका–१ बरियारपुरमा केही दिन पहिला गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापन मूल समितिको कार्यालय समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री देउवाले धार्मिक कार्यक्रममा लाखौं श्रद्धालुहरू एकैचोटि भेला हुने अवस्थालाई कुम्भ भन्ने गरिएको र गढीमाई मेलामा पनि लाखौं श्रद्धालुहरू आउने गरेकोले गढीमाईको मेलालाई नेपालको कुम्भ मेलाको संज्ञा दिइन्।

‘यस वर्ष लाग्ने गढीमाई मेलामा ६० लाख श्रद्धालु आउने विश्वास गरिएको छ,’ महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले भने, ‘मेला हेर्न आउने श्रद्धालुमध्ये ६० प्रतिशत अर्थात् ४० लाखको हाराहारीमा भारतीय धार्मिक पर्यटक हुनेछन्।’ यादवका अनुसार पाँच वर्षअघि लागेको गढीमाईको मेलामा ४५ लाख जति श्रद्धालुहरू आएका थिए भने त्यसमा ३० लाख जति भारतीय थिए। मेलामा आउने लाखौं धार्मिक पर्यटक तथा श्रद्धालुहरूलाई राहत दिनका लागि तीन महिना पहिलादेखि पहिलो चरणको काम सुरु उनले बताए। भारतको धेरै जनसंख्या भएका राज्यहरू बिहार, उत्तर प्रदेश, पश्चिम बंगालका विभिन्न भागमा गढीमाई मेलाको महŒवबारे प्रचार–प्रसार गर्दा ६० लाखभन्दा बढी श्रद्धालुहरू आउन सकिने अवस्था रहेको यादवले बताए।

गढिमाई मेला भर्न आएका भारतीय पर्यटकलाई देशका अन्य भागमा रहेका धार्मिक, ऐतिहासिक तथा दर्शनीय स्थानहरूसम्म लैजान संघीय सरकारले अहिलेदेखि नै ध्यान दिनुपर्ने यादवको सुझाव छ। संघीय सरकारले पर्यटक सूचना केन्द्र स्थापना गर्नेदेखि देशको विभिन्न भागसम्म जाने सवारीसाधन सहज उपलब्ध गराउँदा गढीमाई मेलाले देशको पर्यटन क्षेत्रलाई ठुलो फाइदा पु-याउन सकिने यादवको भनाइ छ। सरकारले सन् २०२० मा पर्यटकहरू नेपाल भिœयाउन विभिन्न कार्यक्रम गरिरहेको सन्दर्भमा मेला भर्न आउने पर्यटकलाई देशका विभिन्न भागमा घुमाउन विशेष प्याकेजका कार्यक्रमहरू लागू गर्नुपर्ने यादवको सुझाव छ।

गढीमाई मेला विशेष गरी संसारमै सबैभन्दा बढी पशुबलि दिइने मेलाका रूपमा परिचित छ। २०७१ सालको मंसिर महिनामा लागेको पाँच वर्षीय गढीमाई मेलामा लगभग ८० हजार जति पशु बलि दिइएको गढीमाई मन्दिरका पुजारी मंगल चौधरीले बताए। उनका अनुसार आगामी मंसिर १ गतेदेखि सुरु हुने मेलामा मंसिर १८ गतेदेखि बलि प्रारम्भ गरिनेछ।

अहिले महागढीमाई नगरपालिकाले मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा धार्मिक पर्यटकलाई लोभ्याउन पोखरीमुनि भूमिगत सिसमहल र पोखरीमाथि सूर्य मन्दिर, आधुनिक शौचालयलगायत संरचना तथा पूर्वाधार निर्माण गराइरहेको छ भने गढीमाई मन्दिर परिसरमा प्रदेश सरकारले धर्मशाला, विवाह मण्डप आदि संरचना निर्माण गराइरहेको छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App