२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ, ६१ करोड अनुदान सहयोग

काठमाडौं– मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार परियोजनाको शुभारम्भ गरेका हुन्। 

कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायतको उपस्थिति थियो। 

व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको ३८.५३ करोड भारु अनुदान सहयोगमा निर्माण भइरहेको छ। एमएस निर्माण कन्सलकेन्ट प्रालि (पीएमसी)ले परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा तथा एमएम टेलिकम्युनिकेसन्स कन्सलट्यान्टस् इण्डिया लिमिटेड (टिसीआइएल)ले परियोजना ठेकेदारको रुपमा ३२ एक्कड भन्दा बढी क्षेत्रफलमा पोलिटेक्निकको निर्माण गरिरहेको छ। 

पोलिटेक्निक परियोजनाको कुल निर्माण क्षेत्रफल १९ हजार २ सय वर्ग मिटर रहनेछ। यस पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको छ। यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्य छ। 

यो परियोजना व्यवसायिक तथा सीप विकासका क्षेत्रमा पूर्वाधार सुदृढीकरण गर्ने नेपाल सरकारको प्रयासमा हातेमालो गर्ने भारत सरकारको प्रतिबद्धता भएको र यसले भारत नेपालबीच रहेको मैत्री सम्बन्धलाई गाढा बनाउने भारतीय दूतावासले विश्वास गरेको छ।

प्रकाशित: १९ कार्तिक २०७६ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App