१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

चाइना पास लिन बसाइँसराइ गर्ने बढे

रसुवा – चार वर्षअघि व्यापारिक कारोबार सुरु भएको केरुङ प्रवेशका लागि बाहिरी जिल्लाबाट बसाइँसराइ गरी आउनेको संख्या बढेको छ। केरुङ प्रवेशका लागि रसुवाका नागरिकले मात्र नेपाल–चीन आगमन–प्रस्थान अनुमतिपत्र (चाइना पास) पाउने भएकाले बसाइँसराइ गरी आउनेको संख्या बढेको हो। २०७२ असोजदेखि रसुवागढी अध्यागमन कार्यालय रसुवाले पास जारी गर्न थालेको हो।

त्यसअघि जिल्ला प्रशासन कार्यालय रसुवाले पास दिने गरेको थियो। त्यसयता बाहिरी जिल्लाका करिब तीन सयजनाले पास लिएका छन्। सो पास लिनेमा सबैभन्दा बढी सवारी चालक रहेको अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश भण्डारीले बताए। ‘बाहिरी जिल्लाका नागरिकलाई पास नदिने भएकाले यहाँ बसाइँसराइ गरेर आउन थालेका हुन्,’ उनले भने, ‘पास लिन रसुवाकै नागरिक हुनपर्छ।’ एकचोटि पास बनाएपछि एक वर्षसम्म आवतजावत गर्न तथा केरुङमै बसेर काम गर्न सकिन्छ। त्यसपछि पुनः नवीकरण गर्नुपर्ने हुन्छ। कार्यालयका अनुसार हालसम्म १० हजार नौ सय ४९ वटा पास जारी भइसकेको छ। पास लिने अधिकांश केरुङमा कार्यरत छन्। केरुङमा रहेको होटल, डान्सबार, निर्माण क्षेत्रमा काम गर्नेहरू बढी छन्।

यो २०७२ असोज २८ गतेदेखि अध्यागमन कार्यालयबाट पास जारी हुन थालेको हो। कम खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न सहज र राहदानी बनाउनुपर्ने झन्झट नहुने भएपछि पछिल्लो समय त्यहाँ जानेको संख्या बढेको देखिएको छ। केरुङमा करिब एक हजार नेपाली कार्यरत छन्। त्यहाँका नेपालीमध्ये अधिकांश होटल, डान्सबार, ट्रान्सपोर्ट र ब्लक निर्माणलगायत क्षेत्रमा कार्यरत रहेका कार्यालयले जनाएको छ। केरुङमा कार्यरत रसुवाका नागरिक दसैं, तिहार तथा ल्होसारमा घर फर्कने गरेको त्यहाँका पुरुषोत्तम पौडेलले बताए। खाडी मुलुक जान छाडेर केरुङ जाने नेपाली बढेका उनको भनाइ छ। त्यहाँका होटल तथा डान्सबारमा करिब पाँच सय किशोरी कार्यरत छन्। जसमा तीन सयको हाराहारीमा रसुवाकै छन्। ‘दिनभर होटलमा काम गरेर राति डान्सबारमा काम गर्ने पनि छन्,’ एक किशोरीले भनिन्, ‘यस्तो समस्याचाहिँ चिनियाँ होटलमा काम गर्नेमा बढी छ।’ केरुङमा आधा दर्जनजति नेपाली होटल छन्।

नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा लिएकामध्ये करिब २५ प्रतिशत रसुवालीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा काम गरिरहेका छन्। पास बनाएपछि आवतजावत गर्न सहज हुने भएकाले पास बनाउने गरेका अध्यागमन कार्यालयले जनाएको छ। पास बनाएका सबैजना रोजगारीमा जाने खालका हुँदैनन्। रसुवागढी नाका सञ्चालनमा आएपछि रोजगारका लागि केरुङ जाने व्यापारी, व्यवसायी र चालक बढ्दै गएका छन्।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App