काठमाडौं – विवेकशील नेपाली दलले मेडिकल माफियाको अत्याचारविरुद्ध संघर्षरत विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। विवेकशीलले विज्ञप्ति निकाल्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त माफियातन्त्रविरुद्ध शान्तिपूर्ण रूपमा संघर्षरत सम्पूर्ण विद्यार्थी र सत्याग्रही डा. गोविन्द केसीको साथमा आफ्नो दल रहेको स्पष्ट पारेको हो।
मेडिकल कलेजले कानुन, डा. केसीको सम्झौता र चिकित्सा शिक्षा जस्तो संवेदनशील विषयको मर्मविपरीत अवाञ्छित रूपमा उठाइरहेको अतिरिक्त शुल्क तुरुन्त ब्याजसहित पीडितलाई फिर्ता गर्न माग गरेको छ।
‘विद्यार्थीलाई शारीरिक तथा मानसिक तनाव दिने कलेज सञ्चालक तथा प्रशासकलाई नेपालको कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नियमनकारी निकाय तथा प्रशासन समक्ष अपील गर्दछौँ,’ उसले भनेको छ, ‘विवेकशील नेपाली दल नागरिकको नैसर्गिक अधिकारका रूपमा शिक्षा तथा स्वास्थ्य विषय राज्यको प्रमुख दायित्व हुनुपर्छ भन्नेमा दृढ विश्वास राख्दछ। नेपाल सरकारले यथाशीघ्र संघर्षरत पक्षको माग तथा मुद्दाको सम्बोधन नगरेको खण्डमा विवेकशील नेपाली दल सशक्त प्रतिरोध अभियानमा उत्रने स्पष्ट पार्न चाहान्छ।’
प्रकाशित: १७ कार्तिक २०७६ ०२:०६ आइतबार