२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

श्रीमान नै काल बन्न खोजेपछि...

टाउकोमा लागेको घाउ देखाउँदै भावना। तस्बिर :नागरिक

कैलाली- सँगै जिउने र सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाँधिएकी भावना बोहरालाई पतिले नै मार्न अनेक हत्कण्डा अपनाउँछन् भन्ने कल्पनासम्म गरेकी थिइनन्। तर, भइदियो उनले कल्पना नगरेकै कुरा। गौरीगंगा नगरपालिका–७, वसन्तटोलकी २८ वर्षीया भावनालाई उनकै पति गगनसिंह बोहराले कैलालीबाट दाङको जंगलमा लगेर बेहोस हुनेगरी कुटपिट गरी छोडेर बेपत्ता भएका छन्। 

वैदेशिक रोजगारीको शिलशिलामा तीन वर्ष दुवई बसेर गत भदौ ७ गते नेपाल फर्केका गगनसिंहले असोज १७ गतेका दिन पत्नीलाई दाङ लगेर जंगलमा बेहोस हुनेगरी कुटपिट गरी आफू बेपत्ता बनेका छन्। दाङको एक महिलाले ऋण सापटीमा पैसा लगेको र त्यो पैसा फिर्ता लिन भन्दै गगनसिंहले गत असोज १७ गते वसन्तटोलबाट भावनालाई लगेर दाङ गएका थिए।

दाङको लमही नजिकै जंगलमा लगेर भावनाको टाउकोमा रड र काठको डण्डाले हिर्काएर आफू त्यहाँबाट फरार भएको भावनाले नागरिकसँग बताइन्। ‘वैदेशिक रोजगारमा कमाएको पैसा दाङ लमहीकी एक महिलालाई ऋण सापटी दिएको र उनले पैसा दिन मानिरहेकी छैनन्, तिमी पनि सँगै भए उनले सापटी लगेको पैसा दिन्छिन् भनेर मलाई फकाई फुलाई दाङ लगे,’ भावनाले भनिन्,‘दाङ पुग्दा जंगलै जंगल लगेर बीच बाटोमै पछाडिबाट हिर्काए, त्यसपछि म बेहोस भएँ।’

बेलुकी ५ बजे आफ्नो टाउकोमा हिर्काएर पति फरार भएपछि राति ९ बजे होस खुलेपछि नजिकैको गाउँमा पुगेको बताउँदै उनले भनिन्,‘गाउँमा एक जना थारू समुदायको घरमा पुगेर फेरि बेहोस भएछु, उनले प्रहरीलाई बोलाएर नजिकैको अस्पतालमा पुर्‍याएछन्।’ अस्पतालमा दोस्रो दिनमा बल्ल होस खुलेपछि आफन्तलाई खबर पठाएको र आफन्त आएर आफूलाई घर फिर्ता ल्याएको उनले बताइन्।

पतिले टाउकोमा हिर्काएको खत देखाउँदै उनले भनिन्,‘यि मेरो टाउकोमा ७ ठाउँमा ठूलो घाउ पार्नेगरी हानेर ऊ बेपत्ता भयो।’ गाउँमै आफन्तको सहयोगमा उपचार गरिरहेकी भावना करिब एक महिनापछि सदरमुकाम धनगढी आइपुगेकी छिन्। उनले धनगढीमा नागरिककर्मीसँग भेटेर घटनाको बेलिविस्तार सुनाइन्। ‘वैदेशिक रोजगारमा रहँदा फेसबुकको माध्यमबाट दाङकी महिलासँग हिमचिम बढेछ,’ उनले भनिन्, ‘विगत दुई वर्षदेखि घरमा पैसा पठाउनुको साटो दाङतिरै पैसा पठाउँदा रहेछन्।’ आफूले जसोतसो ऋण काढेर घर परिवार धानेको बताउँदै उनले भनिन्,‘जेनतेन घरखर्च चलाइरहेकी थिएँ, विदेशबाट फर्केर मलाई मार्ने उद्देश्य नै बुनेका रहेछन्।’

ऋण दिएको पैसा लिने बाहना बनाएर आफूलाई दाङमा लगेर मार्ने योजना बुनेको बताउँदै उनले भनिन्,‘पतिले यसरी बाहिर लगेर मार्ला सोचेकी थिइन्, यहाँबाट दाङ लगेर टाउकोमा हिर्काइ मार्ने योजना नै बुनेका रहेछन्।’ घर फर्केपछि स्थानीय प्रहरी चौकीमा निवेदन दिँदा घटना जहाँ भएको हो त्यहीबाट प्रक्रिया अगाडि बढाउनु पर्ने प्रहरीले बताएपछि आफूले लमहीस्थित प्रहरी चौकीमा उजुरी दिएको उनले बताइन्।  

करिब एक महिना घरमै बेड रेष्टमा रहेकी उनी अहिले न्याय खोज्दै धनगढी पुगेकी छिन्। ‘त्यो बेला म उठ्नै नसक्ने भएकी थिएँ,’ उनले भनिन्,‘अहिले अलि सञ्चो भएको छ, त्यही भएर न्याय पाइन्छ कि भनेर धनगढी आएकी हुँ।’ उनी हिजोआज धनगढीमा महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाको दैलो चहार्न थालेकी छिन्। ‘न्याय पाइन्छ कि भनेर धनगढी पुगेकी छु,’ धनगढी पुगेकी भावनाले भनिन्,‘स्थानीय महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुसँग न्याय दिलाइदिन भन्दै गुहार मागिरहेकी छु।’

 

प्रकाशित: १५ कार्तिक २०७६ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App