२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कञ्चनपुरका छात्रा नियमित विद्यालय जान थाले

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि रजस्वला भएका छात्राहरु नियमित विद्यालय जान थालेका छन्। विद्यालयकै आन्तरिक स्रोतबाट छात्रा शौचालयको अवस्थामा सुधार गरिएपछि रजस्वला हुँदा विद्यालय नआउने छात्रा विद्यालय नियमित आउन थालेका हुन्।

शौचालयभित्रै पानी, सेनेटरी प्याड, ऐना, साबुनलगायतको व्यवस्था गरेका छौँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउदले भने, “शौचालयको भित्रपट्टिबाटै रजस्वला भएका बेला छात्राले प्रयोग गरेका प्याड फाल्नका लागि इन्सुलेटर अलग्गैरूपमा निर्माण गरिएको छ।”

“छात्राहरुले शौचालय प्रयोग गर्न निकै कठिनाइको सामना गर्नुपर्दा रजस्वला हुँदा विद्यालय नआउने गरेका थिए”, उनले भने, “छात्रामैत्री शौचालय निर्माण गरिएपछि छात्राहरुको सहजरूपमा शौचालयको प्रयोगमा पहुँच पुगेको छ ।” रजस्वला भएपछि विद्यालय नआउने छात्रा निसङ्कोच विद्यालय पुग्न थालेको उनले बताए।

उनका अनुसार शौचालयको व्यवस्थापनको जिम्मा विद्यालयकै एक महिला शिक्षकलाई जिम्मा दिइएको छ। महिला शिक्षकले शौचालय सरसफाइ भए/नभएको र आवश्यक सामग्री रहे÷नरहेकाबारे जानकारी लिई व्यवस्थापन गर्दै आएका छन। गत वर्ष विद्यालयमा २७८ छात्रा भर्ना भएकामा यस वर्ष ३२७ छात्रा भर्ना भएका छन्। विद्यालयमा भर्ना भएका छात्रा शौचालयकै सहजताका कारण विद्यालय आउने गरेका छन्।

‘‘विद्यालयका चार भवनमा रहेका १३ शौचालय सरसफाइको कमीले एउटा पनि सञ्चालनमा थिएनन्’’, अध्यक्ष साउदले भने,  “शौचालयका ट्याङ्की पूरै भरिएर प्रयोगविहीन बनेपछि विद्यालयमा अध्ययन गर्दै आएका छात्र–छात्रा र शिक्षकले नजिकैको किसानको केरा बारीमा पुग्नुपर्ने बाध्यता थियो।”
 
“सबै शौचालयमा सरसफाइ गरी प्रयोग गर्न सक्ने बनाएका छौँ। पहिले पानीको व्यवस्था थिएन। अहिले पानीका लागि विद्युतीय मोटर जडान गरी एक हजार लिटरका दुई पानीट्याङ्कीको व्यवस्था गरेपछि शौचालय प्रयोगमा आएका छन्”, विद्यालय व्यवस्थापन समितिका सदस्य धनबहादुर चौधरीले भने। अपाङ्गता भएका छात्र–छात्रालाई समेत शौचालय प्रयोगमा सहजता ल्याउन  र्‍याम्पको व्यवस्था मिलाइएको छ। रासस

प्रकाशित: १५ कार्तिक २०७६ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App