१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भरतपुर अब ‘सहयोगापेक्षी सडक मानवमुक्त’

चितवन – भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको छ। बेवारिसे अवस्थामा सडकमा बसोबास गर्दै आएका मानिसलाई उद्धार गरेर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको हो।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार घोषणापत्र वाचन गरी भरतपुलाई नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गरे। घोषणासभामा मुख्यमन्त्री पौडेलले सडकमा रहेका सहयोगापेक्षीको व्यवस्थापनको दायित्व सरकारको रहेको र त्यो जिम्मेवारी सरकारले पूरा गर्ने बताए।

सरकारले सहयोगापेक्षी मानिसलाई व्यवस्थापन गर्न प्रतिव्यक्ति तीन हजार रूपैयाँ दिने घोषणा गरिसकेको उनले जानकारी गराए। उनले नेपालमा करिब एक हजार दुई सय ‘सहयोगापेक्षी सडक मानव’ रहेको बताउँदै त्यसमा तीनै तहको सरकार लाग्नुपर्ने बताए।

देशैभरका स्थानीय तहले ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा नगरेसम्म यसले पूर्णता पाउन कठिन हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ। भरतलपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गर्न महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मानव सेवा आश्रम र सरोकारवालाको सहयोगमा अभियान सञ्चालन गरेको थियो।

मेयर रेणु दाहालले असोज २७ देखि महानगरका सडकमा बसोबास गर्दै आएका मानिसको उद्धार थालेको बताइन्। उद्धार गरिएका मानिसलाई परिवारसँग परामर्श गरी पुनर्मिलन गराइएको उनले जानकारी दिइन्। परिवार र आफन्त नभएकालाई मानव सेवा आश्रममा बसोबासको व्यवस्था गरिएको उनी बताउँछिन्।
घोषणा कार्यान्वयन चुनौतीपूर्ण भए पनि महानगरपालिका त्यसमा प्रतिबद्ध रहेको उनको भनाइ छ। यसलाई सार्थक बनाउन सबैको साथ र सहकार्यको आवश्यक रहेको उनले बताइन्। उनले चितवनमा ‘सडक मानव’को समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टर निर्माण गरिने जानकारी दिइन्।

मानव सेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सडक पेटी र सार्वजनिक स्थलबाट तीन सय जनाको उद्धार गरिएको जानकारी दिए। ‘सडक, सार्वजनिक स्थलमा नै बसेको, सुतिराखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो,’ उनले भने, ‘त्यसमध्ये आश्रममा नै राखेर आश्रय दिनुपर्ने १० जना छन्।’
उद्धार गरिएकामध्ये कामको खोजीमा आएका र बसोबासको व्यवस्था नभएका २० जना जति पाइएको उनले बताए। त्यसमा केहीलाई हेटौडास्थित मानव सेवा आश्रमको केन्द्रिय कार्यालयमा काम दिएर राखिएको छ।

आश्रमले २०७१ सालदेखि सडकबाट मानिसको उद्धार गरेर आश्रय दिइरहेको छ। आश्रमले ७ प्रदेशका १४ जिल्लामा १६ सेन्टर स्थापना गरेर करिब ९ सय व्यक्तिलाई आश्रय दिएको अध्यक्ष अधिकारीले जाानकारी दिए। सडकमा भेटिएका मानिसलाई वर्गीकरण गर्न सूचक निर्माण गरिएको थियो।
सडकमा भेटिएका असहाय र कोही नभएका मानिसको संख्या भने न्यून रहेको पाइएको महानगरपालिकाले जनाएको छ।

महानगरका अनुसार सडकमा जाँड, रक्सी र लागूपदार्थ खाने र तेस्रो लिंगीसमेत बस्ने गरेका छन्। उद्धार गरिएकामध्ये ९० प्रतिशत कुलतको नशामा घरबाहिर बस्दै आएको भेटिएको महानगरले जनाएको छ।
सडकमाभेटिएका केही मानिस न्यून ज्यालामा काम गर्ने श्रमिक तथा कामदारसमेत रहेको महानगरले जनाएको छ। त्यस्ता व्यक्तिलाई काममा लगाउनेले नै बसोबासको व्यवस्था गरिदिनुपर्ने व्यवस्था गर्न लागिएको छ। उद्धार गरेर राख्नुपर्ने व्यक्तिलाई राख्न सेल्टरको समेत व्यवस्था गर्ने योजना महानगरको छ।

प्रकाशित: १० कार्तिक २०७६ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App