५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पारिबाट खाद्यान्न वारिबाट दलहन र छोहारा तस्करी

भारत तर्फ मटर तस्करी गर्दै भरिया। तस्विर : नागरिक

भैरहवा- नेपालबाट केराउ, मरिच, दाल, छोहारा, मदिरा लगायतका सामाग्री रुपन्देहीको भित्री नाकाबाट भारत तिरै तस्करी भइरहेको छ।

केही समय रोकिएको तस्करी विगत एक महिना देखि फेरी गति लिइएको छ। तेस्रो मूलुकबाट भारत हुदै नेपालका लागि आएका यि वस्तुहरु नेपाल भित्रिएर भारत तर्फ तस्करी हुने गरेको पाइएको छ ।

रुपन्देहीको पूर्वीय भित्री सिमानाकाहरु मैनिहवा, अमवा, बुची बरवा, मदरी, भगवानपुर लगायतका क्षेत्रबाट अहिले चाडबाडको मौकामा खुलेआम दिनरात दोहोरो तस्करी भइरहेको छ। प्रहरी चौकीकै अगाडी भारतबाट कुखुरा, धान गहू चामल चिनी लगायतका किराना बस्तु, हार्डवेयरका सामान, लागु औषध, कपडा लगायतका सामान साइकल, मोटरसाइकल देखि गाडीमै बोकेर तस्करी भइरहेको छ।

सिमाको दशगजा क्षेत्र नजिकै भण्डारण गर्न बैधानिक रुपले दर्तानै गराई विभिन्न व्यवसायी फर्मबाट खुलेआम तस्करी गराइरहेका छन्। दशगजासंगै रहेका गोदामबाट बोराका बोरा सामान लिएर मोटरसाइकल, साइकलमा भारतीय बजार पुर्‍याउने र त्यहाँबाट सामान लिइएर नेपाल ल्याउने दृश्य दिनरात देख्न सकिन्छ।

३ महिनामा ढेड करोड बढी अबैध सामान नियन्त्रण

भरियाको प्रयोग गरी बोरामा सामान दशगजा पारी खोलिएका व्यवसायिक प्रतिष्ठानमा भण्डारण गरी बिल जारी गर्दै पिकअप र ट्रयाकटरमा लोड गरी सामानहरु पठाउने गरेका छन् भने भारतबाट अवैध बाटो आउने धान गहु चामललाई नेपाली बिल काटेर शहरमा पठाउने कार्यमा दशगजाका व्यापारी संलग्न छन्।

भरियालाई निश्चित रकम दिइएर उक्त समानहरु दशगजा पार गरार्ई भारत पठाउने गरेका छन्। समाचार संकलनको क्रममा सीमाको दशगजामा पुग्दा अवैध रुपमा मटर भारत तर्फ लगिदैे थियो। पुरानो मितिको र च्यातिएको भ्याट बिल प्रयोग गरि तस्करी हुदै आएको भरिया भागीरथी भुजले बताए। उक्त मटर आफ्नै पसल न्यू सन्दिप सप्लायर्सबाट बिल जारी गरी विक्री गरेको संचालक तथा रोहिणी वडा नं. २ सदस्य यादवले स्वीकारे। उनले मटर बिक्रि गरेको तर त्यो मटर भारत गएको हो कि नेपाल आफूलाई थाहा नभएको बताए।

सीमामा रहेका यस्ता वैध रुपमा दर्ता भएका पसलहरुले अवैध कारोबार गर्दा पनि प्रहरी मुकदर्शक भएर बस्नुले पनि प्रहरी र यी कारोबारीहरुको संलग्नता पुष्टि गर्दछ। सीमामा अहिले शसस्त्र प्रहरी र नेपाल प्रहरीका बिभिन्न युनिटहरु रहेका छन्। यी प्रहरी युनिटहरुलाई मासिक निश्चित रकम बुझाएर काम गरिरहेको तस्करहरु बताउँछन्।

प्रहरीको सेटिङमा नेपालको सामान भारतमा र भारतको सामान नेपालमा ल्याएर तस्करहरु दोहोरो फाइदामा काम गरिरहेका छन्। नेपाल र भारतको बिभिन्न नाकाको प्रयोग गर्दै अहिले तस्कर र प्रहरीकै सेटिङ्गमा अवैध कारोबार बढ्दै गएको स्थानियहरुले गुनासो गरे। यो नाकाबाट राती २ वजे देखि नै तस्करहरु मोटरसाइकलमा ओसारप्रसार गर्न थाल्छन्, रातीमा तिव्र गतिमा आउने ती तस्करहरुले गर्दा हामी डरले आनन्दका साथ सुत्न समेत पाएका छैनौ। पहिला अलि कम हुन्थ्यो विगत एक महिना देखि दिनरात दोहोरो तस्करी भइरहेको छ नाम नबताउने शर्तमा सिमा क्षेत्रकै एक स्थानियले नागरिक न्यूजलाई जानकारी दिए।

दुबै तर्फको तस्करी गर्न तस्करहरुले सिमावर्ती नाकासम्म पुर्‍याउने र त्यहाँबाट सीमामा रहेका सुरक्षाकर्मीसँग सेटिङ मिलाएर काम भइरहेको स्रोतले जानकारी दिइएको छ। सीमामा सुरक्षा दिने सबै बिकेका छन, तैनाथ सुरक्षाकर्मीहरु मिलेर तस्करी गराइरहेकोले रोक्नका लागि कसलाई भन्ने स्थानियले भने।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्ग बहादुर खत्रीले भने अवैध कारोबार खासै नरहेको बताए। प्रहरी दिनरात खटिएको भएर अहिले चोरी निकासी कम छ। नाकाहरु आवतजावत गर्ने सवारी साधन, संकास्पद व्यक्ति र सामाग्री बोकेको अन्य सवारी साधन चेकजाँच भइरहेको छ। तस्करी भएको सूचना आउना साथ प्रहरी परिचालन गरी नियन्त्रण पनि लिइरहेका छौ।

त्यस्तै रुपन्देही सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त बोगटीले पनि सिमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको र अवैध सामान फेला परे पक्राउ गरी कारवाही प्रकृया अगाडी बढाइएको बताए। यस्तो कार्यमा कसैले सहयोग गरे कारबाही ठाँउको ठाउँ नै कारवाही गर्ने र गरेको बताए।

विगत सात महिनाको अवधिमा रुपन्देही प्रहरीले ५७ लाख १० रुपैयाँभन्दा बढीको मालसामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ भने १० जनालाई पक्राउ गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैगरी तीन महिनाको अवधिमै सशस्त्र प्रहरी रुपन्देहीले पनि झन्डै ९५ लाख बढि रुपैयाँ बराबरको मालसामान बरामद गरेको छ, जसमध्ये सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म डण्डाले मात्र ८८ लाख बराबरको अबैध सामान नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालय पठाएको सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द खातीले बताए।

प्रकाशित: ९ कार्तिक २०७६ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App