११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

बिचल्लीमा दुधे बालक

६ महिनाको बहिनीलाई निप्पलबाट दुध खुवाउँदै ३ वर्षे बालक देवदत्त ल्वार। फोटो : कृष्ण/नागरिक

बाजुरा- बसन्ती ल्वार मात्र २ महिना पुग्दै थिईन्। साउनको मध्ये राती बसन्तीकी आमा बच्ची ल्वार एकाएक बिरामी परिन्। घरमा ३ वर्षका छोरा देवदत्त र ६१ वर्षकी सासु सुकी ल्वार मात्र थिए। पीसाब गर्न घर बाहिर निस्केकी बच्ची एकाएक ल्वार बेहोस भईन्।

उपचारका लागि नत नजिकै स्वास्थ्य चौकी थियो नत कोही सहयोग गर्ने आफन्त नै। घरमा भएका वृद्धा सासु र नाबालक २ सन्तानले केही गर्न सक्ने अवस्था नै थिएन। बच्ची बेहोस पछि होस नखुल्दै २७ वर्षकै उमेरमा ज्यान गुमाउन बाध्य भईन्। छिमेकीलाई खबर गर्न नपाउँदै उनको मृत्यु भएको सुकी ल्वारको भनाई छ।

बच्चीका श्रीमान कामको शिलशिलामा भारत गएका थिए। गोरख ल्वारले श्रीमतीको मृत्यु भएको खबर सुनेँ। जन्मघर स्वामिकात्र्तिक खापर गाउँपालिका १ साप्पाटा आए, तर उनी होसमा होइन बेहोसमा, श्रीमतीको मृत्युको खबरले उनीलाई मानसिक रुपमै असर गर्‍यो। ङर आए लगत्तै घर परिवारलाई केही नभनि उनी भारत लागेर हाल बेखबर छन्।

आमाको मृत्यु पछि भारतमा बुबा बेखर बनेपछि दुधे बालक देवदत्त र बसन्ती बेसाहारा बनेका छन्। अहिले ती साना दाइबहिनीको बिचल्लीको अवस्था छ। उमेर कटीसकेकी वृद्धा बज्यैकाे साहारा भएपनि विपन्न परिवारकै कारण पालन पोषणमा समस्या छ। आफन्त सहयोग गर्ने खालकै छैनन्, भन्छिन् सुकी।

दुबै दुधे बालक काखमा च्पाप्ने र खाना खोज्दै गाउँ चाहर्ने काम सुकी ल्वारको छ। कमजोर र अस्वस्थ्य भएकै कारण नत काम गरेर पाल्न सक्ने अवस्था छ, नत बोकेरै गाउँ घुम्दै खाना खोज्ने। गरिब हुनु, दु:ख पाउनु एक्लै ज्यानका लागि सजिलो हो, तर यो उमेरमा आएर दैवले नै कस्तो पीडा दियो, सुकीले रुदै भनिन्।

२ महिनामा आमाले छोडेपछि गाई भैसीको दुधमा जिउँ पाली रहेकी छिन्। गाउँ जान्छिन्, दुध खोज्छिन्, कसैले दुध दिए बालकलाई खुवाउँछिन्, नदिए रातभर रुदै काखीमा च्यापेर बस्ने गरेको सुकीको भनाई छ। गाउँमा दलित परिवारलाई भने धेरैले दुध पनि दिन मान्दैनन्, किन्नका लागि आर्थिक छैन, काल छिटो आए पनि हुने थियो, सुकीले थपिन्।

दुबै दुधे बालक हुन्। देव दत्त ३ वर्ष र बसन्ती ६ महिनाकी पुगिन्। बच्चालाई ६ महिनासम्म अनिवार्य आमाको दुध खुवाउनु पर्ने हुन्छ, तर बसन्तीको हकमा गाई भैसीकै दुध पनि उपलब्ध छैन्, थप खाना र पोषणको कुरा के गर्ने ? भन्दै प्रश्न गर्छिन् सामाजिक अगुवा विनिता विक।

भेटे जतिलाई रुने कराउने, दुख सुनाउने र दुबै नाबालकलाई बोकेर खाने कुरा जोहो गर्नमै सुकीको दैनिकी बित्ने गरेको छ। स्थानीय सरकारसँग पुग्नुपर्छ भन्ने जानकारी नै सुकीलाई छैन। तर गाउँका स्थानीयले वडा कार्यालयलाई खबर गरेपनि वडा कार्यालयले वेवास्ता गरेको आफन्तको गुनासो छ। तर वडा अध्यक्ष जनक रोकायाले भने जानकारी नआएको र बुझेर सहयोग गर्ने बताएका छन्।  

सुकीलाई नातीनातीनालाई ४ महिनासम्म पाल्नु चार जुनीसम्म दुख भोगेकै जस्तो भएको छ। कोही साहारा दिने र सहयोग गर्ने छैनन्। कसैले मरिदिए पनि हुनेनि मात्र भन्छिन्, मेरा छोरा बुहारीको सम्झना काट्नकै लागि भएपनि नाबलकसम्मलाई पाल्न पाए हुने भन्ने आश सुकीको छ।  

तर तीनै जना अस्वस्थ छन्। दाइबहिनीलाई कुपोषण लागेको छ भने बज्यैलाई खान नपाएर ज्यान कमजोर हुँदै गएको छ। अवस्था हेर्दा निकै दया लाग्दो र हृदयबिदारक रहेको सामाजिक अभियान्ता एवं पत्रकार प्रकाश सिंहले बताए। सिंहले एसोएस बाल गृहसँग कुरा गरेर पालन पोषणको विषयमा कुरा गर्ने बताएका छन्।

६ महिनाकी दुधे बालकको तत्काल उपचार नभए ज्यान जान सक्ने खतरा भएको स्थानीय सुमित्रा भण्डारीको भनाई छ। खानका लागि समेत अभावमा रहेकी सुकीलाई उपचारका लागि स्वास्थ्य संस्था पुग्ने र औषधी उपचार गर्ने हैसियत नै छैन। गाउँमा सञ्चालन हुने पोषणका कार्यक्रमले पनि दुधे बालकहरुलाई समेट्न सकेको छैन।

गाउँमा तिहारको रमाइलो छ, खानपीन चलिरहेको छ, तर सुकीलाई हेरेरै दिन बिताउनु पर्ने बाध्यता छ।


    

प्रकाशित: ९ कार्तिक २०७६ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App