६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिकाभरि सडक पहुँच

जाजरकोट – शिवालय गाउँपालिकाले दुई वर्षमा सबै वडामा सडक निर्माण गरेको छ। आन्तरिक सबै सडक निर्माणसँगै यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो।

करोडौँ रकम खर्चेर गाउँपालिकाले सबै गाउँमा सडक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त गाउँपालिका सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीयवासीले सहजरुपमा यात्रा गर्न पाएका छन्।

कल्यान–चिउदा, रिटापागा– चिउदुवा, बालुवा –वडाकाँडा, मोर्क –आले, भम्प –आले, कल्यान –भिउस, बालुवा–सानीमेला, अरेली –खन्नेटा र औरेली –काँटा सडक निर्माण भएसँगै यहाँका गाउँगाउँमा सडक पुगेको हो।

वर्षायाममा भत्किएका सडकसमेत गाउँपालिकाले मर्मत गरी यातायातका साधन चल्ने गरेका अध्यक्ष शाहीले जानकारी दिए। आन्तरिक सडकमात्र ८० किलोमिटर निर्माण गरी यातायात सञ्चालन गरिएको उनको भनाइ छ।

नुन र खाद्यान्न बोकेर सुसेली हाल्दै थाप्लोमा पसिना चुहाउँदै दैनिक काम गर्ने यहाँका स्थानीयवासी सडक निर्माणसँगै यातायातका साधनमा खाद्यान्न ढुवानी गर्न थालेका छन्। 

त्यस्तै नेपालगञ्ज सुर्खेत हुँदै शिवालय जोड्ने मुख्य सडकसँग यहाँका आन्तरिक सडक सजिलै जोडिँदा सर्वसाधारण खुशी भएका हुन्।

वडा नं १ स्यापीका धनबहादुर पुनले भन्नुभयो, “पहिले यही बाटोमा टाउको खत पर्ने गरेर आफैँभन्दा बढी भारी बोकेर हिँड्थ्यौँ, अहिले गाडीमा जान पाइने भएको छ, हामी खुशी छौँ, छोरा, नातिको पालामा झन कति राम्रो होला ?” ठाउँ, ठाउँमा बजारीकरण हुँदा व्यापारसमेत ह्वात्तै बढेको वडा नं १ अध्यक्ष मानबहादुर पुनले बताए। 

यातायातका साधन चलेसँगै यहाँ उत्पादन भएका वस्तु बाहिर निर्यातसमेत हुन थालेका छन्। अर्थ उपार्जनका हिसाबले स्थानीयवासीमा राम्रो प्रभाव परेको प्रशासकीय अधिकृत धनीराम शर्माले बताए। विकासको पहिलो आधार सडक निर्माण भन्दै काम थालेको गाउँपालिकाले अब सडकको स्तरोन्नतिमा ध्यान दिने शर्माको भनाइ छ।

सडक सञ्जाल गाउँ, गाउँमा पुगेसँगै सुरक्षितरुपमा सुत्केरी हुनेको दरसमेत बढेको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिए। असुरक्षित रुपमा सुत्केरी भएर ज्यान गुमाउने यहाँका महिला र वर्षेनी औषधि अभाव हुने यहाँका स्वास्थ्य संस्थामा सडक जोडिएसँगै सबै धेरै समस्या समाधान भएका अध्यक्ष शाहीको भनाइ छ।

“सडक नहुँदा भवन निर्माणका सामग्री खरीद गर्न र ढुवानी भाडासमेत निकै महँगो पर्ने गर्दथ्यो, अहिले पहिलेको भन्दा सस्तो पर्ने भएपछि सबै स्थानीयवासी पक्की घर निर्माणमा जुटेका छन्”, स्थानीय पूर्णसमिर महतराले भने।

केन्द्र सरकारको नीतिअनुसार अब गाउँपालिकाका सबै सडक स्तरोन्नति र गाउँपालिकाको प्रशासकीय केन्द्रसम्म कालोपत्रे गर्ने योजना तत्काल शुरु गरिने अध्यक्ष शाहीको भनाइ छ। यहाँका आन्तरिक तथा मुख्य सडक ट्याक खुलेसँगै जुनिचाँदे गाउँपालिकामा सडक विस्तार गर्नका लागि सहज भएको छ। रासस

प्रकाशित: ९ कार्तिक २०७६ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App