सुर्खेत- गुर्भाकोट नगरपालिका–३ धारापानीका भिमबहादुर बुढा (६१) ले जीवनको उर्वर समय पिठ्युमा भारी बोकेरै विताए। पूर्वी सुर्खेतको पहाडी गाउँ धारापानी (गुर्भाकोट नगरपालिका–३) सम्म सडक सञ्जाल थिएन्। तरकारी खेती, फलफूल, चौपायापालन र उच्च मूल्यका कृषि बस्तुका लागि प्रख्यात ठाउँ भएपनि सडक सडक सञ्जाल नहुँदा विक्रीका लागि पिठ्युमा बोकेरै शहरसम्म पु¥याउनुपर्ने बाध्यता यहाँका बासिन्दामा थियो। ‘सडक नहुँदा हाम्रा उत्पादनले कहिल्यै बजार पाएनन्,’ बुढाले भने, ‘अहिले सडक पुग्यो, सहज भयो।’
धारापानीदेखि भेरी किनारको बोटेचौर बजार पुग्न ओरोलो बाटो हिँडेर चारदेखि पाँच घण्टा लाग्छ। गाउँमा उत्पादन भएका सामाग्रीहरु ढुवानीमै प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म खर्च हुन्थ्यो। सडक अभावमा गाउँका उत्पादनले बजार नपाउँदा यहाँका अधिकांस युवाहरु कालापहाड (भारत) पस्थे। ‘सिजनमा यहाँबाट पिठ्यूँमा बोकाएर बजार पु¥याएको तरकारी ढुवानी भाडासमेत नउठाएर विक्री गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘त्यसैले पेट पाल्नका लागि अधिकांस युवाहरु भारत जाने गरेका छन्।
धारापानी सडक सञ्जालले जोडिएसँगै यहाँका उत्पादनले बजार पाउन थालेका छन्। कृषि उत्पादन खरिद गर्नका लागि व्यापारीहरु घर आँगनमै आउन थालेका छन्,’ स्थानीय लोकबहादुर खत्रीले भने, ‘तरकारी, पशुपालन र अन्य उच्च मूल्यका कृषि बस्तुका लागि प्रख्यात ठाउँ भएपनि सडक सञ्जालले धारापानी ओझेलमा थियो।’ उनले सडक सञ्जालले जोडिएसँगै धारापानी समृद्धिको मार्गमा हिँड्न थालेको बताए।
धारापानी अदुवा र टिमुरका लागि प्रख्यात मानिन्छ। यहाँको अर्गानिक टिमुर युरोपसम्म पुग्ने गरेको छ। धारापानीका भूपेन्द्रबहादुर डाँगीले अघिल्लो आर्थिक वर्ष टिमुर बेचेरै आठ लाख आम्दानी गरे। तेजपात, काउलो र चुत्राबाट १० लाख कमाए। ‘सडक नहुँदा व्यक्तिबाट प्रतिकिलो १० रुपैयाँ दिएर बोटेचौर बजारसम्म ढुवानी गरेकाले धेरै आम्दानी भएन्,’ उनले भने, ‘उतिबेला गाउँमै गाडी पुगेको भए टिमुरबाट मात्रै १३–१४ लाख रुपैयाँ आम्दानी हुने थियो।’
भोलेबाबा जडिबुटी निजी वन दर्ता गरेका उनको पाखोबारीमा दुई हजार दुई सय टिमुर, एक हजार चार सय ५० तेजपात, एक हजार छ सय काउलो, एक सय ३० चुत्रो, एक सय ५० चिउरी र त्यति नै मात्रामा सुन्तला र कागतीका रुखहरु छन्। डिभिजन वन कार्यालय सुर्खेतका अनुसार जिल्लामा ५८ वटा निजी वनहरु छन्। ति मध्ये ४१ वन धारापानीमा छन्। ‘यहाँका लगभग सबै घरले टिमुर, तेजपात, काउलो, ओखरलगायतका उच्च मूल्यका कृषिबस्तुहरु र चौपाया पाल्ने गरेका छन्,’ डाँगीले भने, ‘सडक अभावमा यहाँका मूल्यहरुले बजार पाएका थिएनन्, सडकसँगै धारापानीबासीको समृद्धिको यात्रा पनि सुरु भएको छ।’
तीन वर्षअघि संघीय सरकारले धारापानी र त्योसँग सीमा जोडिएको सल्यानसम्म सडक पु¥याउन बजेट छुट्यायो। ठेक्का प्रक्रिया पनि पूरा भयो। निर्माण कम्पनीले काम नगर्दा धारापानी सडक सञ्जालसँग जोडिएन्। संघीय सरकारको बजेटबाट सडक निर्माण नहुने देखिएपछि गुर्भाकोट नगरपालिकाले चालू आर्थिक वर्षको सुरुबाटै सडक निर्माण थाल्यो। ‘छ महिनामै हामीले धारापानीमा सडक सञ्जाल पु¥यायौं,’ मेयर हस्त पुनले भने, ‘धारापानीबासीको वर्षौदेखिको सपना पूरा गर्न स्थानीय सरकार सफल भएको छ।’
मेयर पुनले चालू आर्थिक वर्षभित्रै धारापानीका सबै गाउँसम्म सडक पु¥याइने बताए। ‘बोटेचौरदेखि धारापानीसम्मको १२ किलोमिटर सडकको ट्याक खोल्ने काम नगरपालिकाले गरेको छ, सँगसँगै प्रदेश सरकारले पनि काम गरिरहेको छ,’ उनले भने, ‘चालू आर्थिक वर्षभित्रै यहाँका सबै गाउँमा सडक सञ्चालन विस्तार गछौं।’
उपमेयर मैना विकले चुनावमा गरिएको प्रतिवद्धता आफूहरुले पूरा गरेको बताइन्। ‘हामीले निर्वाचनका क्रममा एक वर्षभित्रै धारापानीमा सडक पु¥याउने प्रतिवद्धता जनाएका थियौं,’ उनले भनिन्, ‘संघीय सरकारले बजेट परेकाले पहिलो वर्ष काम गरेनौं, ठेकेदारले धोका दिएकाले यो वर्ष नगरपालिकाको बजेटबाटै धारापानीमा सडक सञ्जाल पु¥याएका हौं।’
सडक सञ्जालले जोडिए पनि धारापानीमा विद्युतीकरण भएको छैन्। गाउँमा उच्च नपाएर विद्यार्थीहरु शहर पस्नुपर्ने बाध्यता छ। भरपर्दो स्वास्थ्य संस्था छैन्। खानेपानीको समस्या उस्तै छ। स्थानीयहरुले खानेपानी, विद्युत, सबै गाउँमा सडक सञ्जाल, खेलकुदका लागि आवश्यक मैदान, उच्च शिक्षा गाउँमै पढ्न सकिने वातावरण मिलाउन नगरपालिकासँग गरेका छन्। ‘धारापानीको विकास तथा सम्भाव्यता विषयक’ छलफलमा स्थानीयहरुले नगरपालिकालका जनप्रतिनिधिहरुलाई विभिन्न मागहरु राखे। स्थानीय भूपेन्द्र डाँगीले वडाको केन्द्रमा मात्रै सडक पहुँच पुगेपनि सबै गाउँमा सडक पु-याउने गरि काम गर्न जनप्रतिनिधिसँग आग्रह गरे। उनले नगरभित्रका बासिन्दा भएपनि अझैसम्म बिजुली प्रयोग गर्न नपाएको गुनासो पोखे।
स्थानीय लोकबहादुुर खत्रीले नगरवासीले पाउनुपर्ने सबै सेवासुविधा प्राप्त गर्ने वातावरण स्थानीय सरकारले मिलाउनुपर्नेमा जोड दिए। ‘केन्द्रसम्म ताकेर सडक खनिएको छ, यसै गाउँका महिला सुत्केरी हुन नसक्दा ४ घण्टा हिँडेर गाडी भेट्टाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यस्तो समस्यालाई पनि मध्यनजर गर्दै सडक निर्माणको योजना बनाउनु आवश्यक हुन्छ।’
उनले साविकको धारापानी गाविसभित्र पर्ने वडा नम्बर ३ र ४ अति विकट क्षेत्र भएकाले सडक, विद्युत, शिक्षा जस्ता आधारभूत पूर्वाधारहरु विकासका लागि लाग्न जनप्रतिनिधीहरुलाई आग्रह गरे। स्थानीयले छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने पोखरे गाउँदेखि धारापानीसम्म सडक निर्माण गरी सञ्चालन गर्न पनि आग्रह गरेका छन्। उक्त सडक बनेमा धारापानीका सबै गाउँलाई समेट्न सक्ने भएकाले यसको लागि सक्दो प्रयास गर्न स्थानीयको माग छ।
शिक्षा नीतिमा विद्यार्थी विद्यालय पुग्नका लागि आधा घण्टा भन्दा धेरै हिँड्नु नपर्ने व्यवस्था भएपनि यहाँका बालावालिकाहरु चार घण्टाको दूरी पार गरेर स्कुल पुग्नुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय सरकारसँग माग गरिएको छ। ‘केही बालबालिका ३÷४ घण्टा हिँड्नुपर्दा थाकेर बाटोमै सुतेको अवस्थामा मैँले देखेको छु,’ स्थानीय शिक्षक हिरालाल खत्रीले भने, ‘कतिपय बालवालिका एक बजे विद्यालय पुगेका हुन्छन्, यो समस्या कहिले समाधान हुने ?’
प्रकाशित: ८ कार्तिक २०७६ ०८:५९ शुक्रबार