१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा

ओखलढुंगा – चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सुरु गरिएको छ। स्वास्थ्य केन्द्र स्थापना भएको करिब २४ वर्षपछि एक्स–रे सेवा सुरु भएको हो।

लामो समय सामान्य सेवा प्रवाह गर्नसमेत नसकेको सो केन्द्रलाई व्यवस्थित बनाएर सेवा थप गरिएको चम्पादेवी गाउँपालिका–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले बताए। वडाध्यक्ष बुढाथोकीका अनुसार स्थानीय सरकार र स्वास्थ्य सेवा विभागको पहलमा सो सेवा शुक्रबारदेखि सुरु गरिएको हो। ‘मैले निरन्तर पहल गरें, गाउँपालिकाको त्यसमा सहयोग रह्यो।

कांग्रेस नेता कुमार लुइँटेलको ठूलो साथ मिल्यो,’ बुढाथोकीले भने, ‘नाम मात्रैको स्वास्थ्य केन्द्रलाई सेवा प्रवाह गर्नसक्ने बनाएका छौैं। ऐक्स–रे मात्र होइन त्यसपछि गरिने उपचार पनि यहाँ हुन्छ। दुर्गमका नागरिक अब सामान्य चोटपटक र दुर्घटनामा परे उपचारका लागि पनि जिल्ला सदरमुकाम र जिल्लाबाहिर जानु पर्दैन।’ रानीवन प्राथमिक स्वास्थ्य केन्द्र जिल्लाको पश्चिमी क्षेत्रको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र हो।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले एक्स–रे सेवा सुरु गर्न स्वास्थ्य सेवा विभागबाट मेसिन उपब्ध गराएका थिए। दक्ष जनशक्ति, विद्युत्सहित आवश्यक पूर्वाधारको अभावका कारण त्यो मेसिन दुई वर्ष थन्काएर राखिएको थियो।

चम्पादेवी गाउँपालिकाको सात लाख सहयोगमा आवश्यक सामान खरिद र पूर्वाधार निर्माण गरी सेवा सञ्चालन गरिएको हो।

तालिमप्राप्त रेडियोलोजिस्ट अभावका कारण सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले केन्द्रमा कार्यरत कर्मचारीलाई वडा कार्यालय र व्यवस्थापन समितिको पहलमा १५ दिने तालिम दिइएको वडाध्यक्ष बुढाथोकीले बताए।

गाउँमै ऐक्स–रेसहितको स्वास्थ्य सेवा सुरु भएपछि जिल्लाको पश्चिमी भेगका नागरिक हर्षित भएका छन्। सुरु भएको पहिलो दिन २५ जनाले सेवा लिएको स्वास्थ्य केन्द्रले जनाएको छ। यसअघि सामान्य स्वास्थ्य समस्या भए पनि जिल्ला सदरमुकाम, रामेछापको मन्थली र काठमाडौं जानुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता थियो।

प्रकाशित: ६ कार्तिक २०७६ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App