१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुनसरीमा हत्या काण्ड : ११ वर्षयताका दोषी अझैसम्म पत्ता लागेनन्

इटहरी– २०६४ साल चैतमा संविधानसभा निर्वाचनको माहोल तातेको थियो। त्यहीँ निर्वाचनको पूर्वसन्ध्यामा चैत ८ गते इटहरीका हार्डवेयर व्यापारी दम्पती कैलाश र कान्ता अग्रवालको विभत्स हत्या गरेको अवस्थामा शव भेटियो। घटना भएको ११ वर्ष वर्ष वितिसकेको छ, अहिलेसम्म मुख्य दोषी फेला पर्न सकेको छैन। 

व्यापारी दम्पतीको हत्या भएयता  प्रहरी प्रमुख फेरिएपछि अनुसन्धान थाल्ने बताउँदै आएका छन्। तर, अहिलेसम्म प्रहरीले घटनाबारे ठोस नजिता निकाल्न सकेको छ्र्रैन। एक महिनाअघि इटहरीमा सरुवा भएर आएका डिएसपी धर्मराज भण्डारीले पनि इटहरीमा भएका अग्रवाल दम्पतीको घटनासँगै अरु घटनाको अनुसन्धान गरेर टुंगोमा पुग्ने बताएका थिए। 

अहिले इटहरी प्रहरीले अग्रवाल दम्पतीको फाइल खोलेर अध्ययन थालेको छ। फाइल अध्ययन गरिरहेका अनुसन्धान अधिकृतले भने घटनाका दोषी पत्ता लगाउन निकै चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए। ‘घटना ताजै हुँदा जति सहज ढंगले प्रमाण जुटाउन सकिन्छ, धेरै वर्ष वितेपछि गाह्रो हुन्छ’, ती फाइल अध्ययन गर्ने अधिकारीले भने। 

व्यापारी अग्रवाल दम्पती घटना प्रकरणको अनुसन्धान गर्न तत्कालिन समयमा इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट अलग अलग टोली खटिएको थियो। 

इटहरीमै झन्डै चार वर्षअघि १३ वर्षीया बालिका सपना भूजेलको हत्या भएको थियो। त्यो घटनाबारे प्रहरीले कुनै उपलब्धी हासिल गर्न सकेको छैन। घटनालगत्तै शंका लागेका केही व्यक्तिलाई सोधपुछ समेत प्रहरीले गरेको थियो। प्रहरीले शुरुवातदेखि नै प्राविधिक पक्षमा त्रुटि हुँदा दोषी पत्ता लगाउन नसकेको जनाउँदै आएको थियो। 

प्राबिधिक पक्ष भनेको घटना हुनुभन्दा अगाडि र पछाडि त्यो ‘लोकेशन’ मा प्रयोग भएका मोबाइल कल हो। सपना हत्या प्रकरण अनुसन्धान गर्न तत्कालिन डिएसपी ओम अधिकारीले प्रहरी निरीक्षक रामचन्द्र तिवारीको नेतृत्वमा ४ जनाको टिम नै बनाएका थिए। अहिले यो घटनाको पनि प्रहरीले फाइल खोलेर अनुसन्धान थालेको मुद्दा फाँटका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले भने। ‘इटहरीका ठूला हत्या काण्डको घटना प्रहरीले पत्ता लगाएमा ठूलो सफलता हुनेछ, त्यही ध्येयले लागि परेका छौं’, उनले भने। 

अधिकारीपछि इटहरीका अर्काे डिएसपी नरेश सुवेदी हुँदै संञ्जय राउत, शिव श्रेष्ठ अनि समिरचन्द्र खरेलको पालमा पनि सपना हत्या प्रकरणको मिसिल अध्ययन गरिएको थियो। 

त्यसो त एक वर्षअघि संगठित गिरोहबाट सुनसरीकै हरिनगर वडा नं. २ मा सञ्चालित रैरयान नेशनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल ५० बर्षीय मौलाना खुर्सिद आलमको गोेली हानी हत्या भएको थियो। तर, त्यो हत्या काण्डको दोषी अहिलेसम्म पक्राउ पर्न सकेको छैनन्। प्रहरी स्रोतका अनुसार, हत्या गर्ने व्यक्तिको पहिचान भइसकेको छ। तर, दोषी पक्राउ गर्न निकै कठिन छ। हत्या अघिल्लो असोज ४ गते भएको थियो। 

अन्तर्राष्ट्रिय संगठित गिरोहबाट खुर्सिद हत्या प्रकरणमा स्थानीय प्रहरी–प्रशासनभन्दा पनि माथिल्लो निकाय नै बढी जिम्मेवार हुनुपर्ने जनाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले भने ठूला हत्या काण्डको दोषी पत्ता लगाउन निरन्तर प्रहरी सक्रिय भइरहेको जनाए। सुनसरी शान्ति–सुरक्षाको हिसाबले प्रदेश नं. १ का जिल्लामा संवेदनशील जिल्लामा पर्छ। 

प्रकाशित: ५ कार्तिक २०७६ १६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App