coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विपन्नलाई प्रलोभनमा पारेर मिर्गौला प्रत्यारोपण

फाइल तस्बिर

काठमाडौं - रामेछापका कञ्चन लामा (नाम परिवर्तन) को परिवार आर्थिक रुपमा निकै विपन्न छ। गाउँमा उत्पादित वस्तुले परिवारको छाक टर्दैन। कमजोर आर्थिक अवस्थाले बिहानबेलुकी हातमुख जोर्न मुस्किल पर्छ। असोज १६ गते त्यही विपन्न परिवारको घरमा एउटा टोली छि-यो। त्यसमा छिमेकी शंकरलाल लामासहित ६ जना थिए। उमेश लामा (नाम परिवर्तन) को मिर्गौलाले काम गर्न छाडेपछि उनीहरु मिर्गौला खोज्दै विपन्न लामाको घर पुगेका थिए।

कुराकानी गर्दै जादा टोलीले लामासँग उनका दुइटा मिर्गौलामध्ये एउटा माग्न थाल्यो। उनीहरूले लामाको परिवारलाई विभिन्न प्रलोभन दिएर मृर्गौंला बेच्न राजी बनाए। तीन लाख रुपैयाँमा मिर्गौला किन्ने सहमति गरे। सहमति भएपछि उक्त टोली काठमाडौं आएर आवश्यक कागजात तयार पा¥यो। उनीहरूले मामा–भान्जी भनेर नक्कली नाताको प्रमाणित पत्र पनि बनाए। त्यसपछि ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालमा मिर्गौला दिने र लिनेका आफन्त पुगे। त्यहाँ फाराम भर्ने र कागज बनाउने काम भयो। डाक्टरसँग पनि सेटिङ मिलाइयो।

नक्कली कागजातअनुसार फोटो टाँस्ने र फाराम भर्ने काम भयो। असोज २३ गते नर्सहरुको टालीले अस्पतालकै डाक्टर राजेश पन्तको टिमलाई फाइल बुझायो। फाइलमा २४ गते शल्यक्रिया गरेर मिर्गौला प्रत्यारोपणका लागि निकाल्ने उल्लेख थियो। दुवै पक्षले मिर्गौला लिने र दिने सम्झौता गरेका थिए। २४ गते आफन्तसहित मिर्गौला लिने र दिने व्यक्ति अस्पताल आइपुगे। मिर्गौला दिने र लिने दुवैलाई देख्दा नर्स अन्य कर्मचारी झसंग भए।

फाइलमा टासिँएको फोटोसँग लिने र दिने व्यक्तिको अनुहार नमिलेपछि केहीबेर अलमल भयोे। मिर्गौला किनबेच गर्न हुन्न भनेर थाहा भएका अस्पतालकै कर्मचारी पनि थाहा नपाएजसरी बसे। तर, अप्रेसन गरेर मिर्गौला प्रत्यारोपण भएको भोलिपल्ट अस्पताल परिसरमा खैलाबैला मच्चियो।

मिर्गौला दिने आफन्तमध्येकै व्यक्तिले किनबेच गरेको कुरा मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा जानकारी गराए। त्यसपछि ब्युरोको प्रहरी टोली निदान अस्पताल पुगेर मिर्गौला प्रत्यारोपणका लागि बनाइएका कागजात नियन्त्रणमा लियो। छानबिनपछि प्रहरीले किनबेच भएको तथय फेला पा¥यो। मिर्गौला किनबेचमा संलग्न रहेको आरोपमा अस्पतालका सिइओसहित पाँचजनालाई प्रहरीले बुधबार नियन्त्रणमा लियो। अहिले उनीहरुमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

मिगौंला किनबेचमा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भएका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरीका कुमुदकुमार भट्टराई, डां राजेश पन्त र रामचन्द्र आले छन्। प्रहरीका अनुसार प्रधान निदान अस्पतालका सिइओ हुन्। उनीसँगै अस्पतालमा डा. पन्त पनि किनबेचमा संलग्न रहेको भेटिएकाले अनुसन्धान भइरहेको छ। डाक्टर नै प्रत्यक्ष रुपमा मिर्गौ किनबेचमा जोडिएकाले कानुनअनुसार कारबाही हुने प्रहरीको भनाइ छ।

विस्तृत छानबिनपछि सबैलाई कानुनबमोजिम कारबाही हुने ब्युराका एसपी गोविन्द थपलियाले जानकारी दिए। ‘यो ठूलो घट्ना हो। यसरी मिर्गौला बेचबिखन गर्नेमाथि कानुनी कारबाही हुन्छ। ५/६ वर्षयता यस्ता घट्ना भएका थिएनन्। विपन्नलाई फकाएर यसरी मिर्गौला प्रत्यारोपण गर्न पाइन्न,’ उनले भने। उनका अनुसार अस्पताल स्रोतले भने बिरामीको पक्षले नै मिर्गौला दिनका लागि आफ्नो मान्छे भन्दै ल्याएको जनााएको छ। कानुन अनुसार अनुमति लिएर पनि कसैको अंग बेचबिखन गर्न पाइँदैन।

यसो गरेमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारबाही हुने कानुनी व्यवस्था छ। ‘कागजातमा मामा–भान्जा भनेर नाता प्रमाणित गराउँदा तिरेको शुल्कको रसिद पनि थियो। तर, फोटो हेर्दा अनुहार मिलेन,’ थपलियाले भने, ‘पीडितका छिमेकीले पनि बेग्लाबेग्लै तथ्य दिएका छन्। हामीले अनुसन्धान गर्दा पनि आफन्तभन्दा बाहिरको व्यक्तिलाई प्रलोभनमा पारेर मिर्गौला किनबेच भएको पाइएको छ।’

प्रकाशित: १ कार्तिक २०७६ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App