८ वैशाख २०८१ शनिबार
समाज

निर्माण कार्य ५५ प्रतिशत मात्र

नुवाकोट - राष्ट्रिय गौरवको आयोजनाको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको छ ।

२०७३ कात्तिक २२ मा सम्झौता भएर मंसिर ७ गतेदेखि काम सुरु गरिएको यस सडकखण्डको सुरुको कार्य समयावधि २१ महिना रहेको थियो । निर्माण कार्य सम्पन्न गर्न थप गरिएको समयसमेत आउँदो मंसिरमा सकिँदै छ । योजनाले अधिग्रहण गर्नुपरेको ६ सय रोपनी जग्गा रहेको छ । मुआब्जा वितरण गर्न लाग्ने अनुमानित रकम ६ अर्ब रुपैयाँ रहेको योजनाले जनाएको छ ।

अहिलेसम्म २ सय ९० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरिसकिएको योजनाप्रमुख नारायणदत्त भण्डारीले बताए । भण्डारीका अनुसार १ अर्ब ३७ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ ।

‘गल्छीदेखि गगटेसम्म पर्खाल लगाउने, नाली बनाउने र ग्राभेल गर्ने कार्य भइरहेको छ । पिपलटारदेखि ढुंगेसम्मको सडक स्तरोन्नति गर्न मुआब्जाका कारण काम गर्न समस्या भइरहेको छ,’ योजनाप्रमुख भण्डारीले भने, ‘योजना कार्यालयबाट गल्छीदेखि मैलुङसम्मको सडकखण्डमा रहेका विद्युतीय पोल सार्न विद्युत् प्राधिकरणबाट पेस भएको लागत अनुमानअनुसारको रकम जम्मा गरिदिएर प्राधिकरणबाट कार्यतालिका मिलाई काम भइरहेको छ ।’

यस सडकखण्डमा १८ स्थानमा पुल निर्माण गर्नुपर्ने छ । तर अहिलेसम्म ११ स्थानको मात्र पुल ठेक्का भई निर्माण कार्य भइरहेको र बाँकी पुलको सर्भे डिजाइन तथा निर्माण चरणमा रहेको बताइएको छ । काम भइरहेका पुलको हालसम्म १६ प्रतिशत मात्र काम भएको छ । योजनाले पुलका लागि ९ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

धादिङको गल्छीदेखि मैलुङसम्म रहेको ४६ किमि सडक निर्माण गर्न ३ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस सडकको काम टुन्डी निर्माण कन्स्ट्रक्सनले गरिरहेको छ । यस सडक खण्डअन्तर्गतका शाखा बाटोहरूलाई समेत आयोजनाले नियमानुसार तोकिएको निश्चित दुरीसम्म काम गर्नुपर्ने भए पनि वास्ता नगरेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

‘सडक निर्माण गर्दा शाखा बाटोहरूमा क्षति पुगेको छ । योनजाले त्यता ध्यान नदिँदा स्थानीय अप्ठ्यारोमा परेका छन् । लास घाटमा लैजाँदासमेत रोक्नुपर्ने अवस्था छ,’ बेलकोटगढी नगरपालिका–७ का वडाध्यक्ष हेमनिधि नेपालले भने, ‘सडकको बीचबीचमा खाल्डाखुल्डी छन् । पानी जमेको छ । त्यतातिर योजनाको ध्यान गएन । जता सजिलो छ उतै काम गर्ने, अप्ठ्यारो ठाउँमा काम नथाल्ने र जनप्रतिनिधिसँग समन्वयात्मक भूमिका ननिभाउने गरेको छ ।’

सडक योजनाले सम्बन्धित सरोकारवाला पक्ष सबैलार्ई साथमा लिएर हिँड्न नसकेको, जनतालाई झुट बोल्ने काम गरेको, सार्वजनिक सुनुवाइ नगरेको जस्ता आरोप लाग्दै आएको छ । आयोजना समयमै सम्पन्न गर्न सबै पक्ष मिलेर जानुपर्ने जिल्लाका सरोकारवाला निकायले बताएका छन् ।

प्रकाशित: २९ आश्विन २०७६ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App