१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

दसैं सकियो, कालापहाड जानेको लर्को

जुम्लामा रोजगारीका लागि जिल्ला छोड्न लागेका आफन्तहरुको विदाईमा आएका बालबालिकाहरु । धनबहादुर/नागरिक

नगेन्द्र उपाध्याय/धनबहादुर बुढा
सुर्खेत/जुम्ला- कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका आत्माराम सञ्ज्याल दसैं मान्न दुई साताअघि कालापहाड (भारत)बाट घर फर्केका थिए। नेपालगञ्ज–सुर्खेत हुँदै तीन दिन लगाएर घर पुगेका उनी आइतबार त्यहीँ बाटो भएर कालापहाड फर्के। ‘गाउँ–घरतिर रोजगारी पाइँदैन्, किसानी गर्नका लागि जमिन छैन्’ उनले भने, ‘छ महिना कालापहाडमा काम गरेर फेरि नयाँ वर्षमा घर फर्किन्छु।’ उनी भारतको आर्थिक राजधानी मुम्वईमा चौकीदारी गर्छन्।

पञ्चपुरी नगरपालिका–६ का लोकबहादुर रोकाय (विक) कालापहाड जानका लागि प्रदेश राजधानी वीरेन्द्रनगर आइपुगेका छन्। ‘यहाँ (गाउँ)मा इलम (व्यवसाय) केही छैन्,’ १६ वर्षको उमेरदेखि भारत जान थालेका उनले भने, ‘उता (भारत)मा मजदूरी गरेर परिवारको छाक टार्ने गरेको छु।’ उनी अर्को दसैंमा घर फर्किने सोचमा छन्।

दसैं सकिएसँगै कर्णाली प्रदेशका बस्तीहरु खाली हुँदैछन्। चाडपर्व मान्न आएकाहरु पुनः रोजगारीका लागि गन्तव्यतर्फ फर्किनेक्रम सुरु भएको छ। कर्णालीका अधिकांश युवाहरुका लागि रोजगारीको गन्तव्य भारत हो। भारतका उत्तराञ्चल, हिमाञ्चल, उत्तराखण्डलगायतका पहाडी र हिमाली क्षेत्रमा गएर यहाँका यु्वाहरु मजदूरी गर्छन्। 

जुम्लाको चौधबीस क्षेत्रका राजबहादुर नेपाली कालापहाड जाने तयारीमा छन्। परिवारसँग दसैं मान्न आएका उनी नयाँ वर्षका लागि चैतको अन्तिमतिर फर्किने सोचमा छन्। ‘घरमा बसेर परिवारको खर्च जुटाउन सकिने अवस्था छैन्, रहरले नभएर बाध्यताले कालापहाड जान लागेको हुँ,’ उनले भने, ‘गाउँमा रोजगारीका अवसर भइदिएको भए अर्काको देशमा मजदूरी गर्न जानुपर्ने बाध्यता हुन्थेन्।’

जुम्ला सिजाका सुवर्ण कार्की दसैंलगतै जिल्ला छोडेर गइसकेका छन्। उनी कालापहाडमा घरघरमा पुगेर कपडाको व्यापार गर्छन्। ‘कालापहाड जानु कर्णालीबासीको रहर होइन्, बाध्यता हो,’ उनले भने, ‘घरमा बसौं खर्च व्यवस्थापन गर्न सकिदैन्, घर छोडौं कालापहाड जानुको विकल्प छैन्।’ गाउँमा आएका सिंहदरबारले डोजरलाई रोजगारी दिन थालेपछि आफुहरु विस्थापित हुनु परेको उनको गुनासो छ।

जुम्लाकै बिर्षबहादुर बुढाले गाउँका अरु युवाहरुलाई लगेर दसैंको भोलिपल्टै कालापहाडतर्फ लागे। ‘यहाँ खाली बस्नु भन्दा हिउँदको चार महिना कालापहाडमा काम ग¥यो भने नयाँ वर्षमा परिवारका सदस्यको नयाँ लुगा फेर्न पाइन्छ, दुई छाक भएपनि मिठोमसिनो खान पाइन्छ’ उनले भने।

कर्णालीका पहाडी जिल्लाका अधिकांश पुरुष कालापहाडको यात्रामा छन्। अहिले कर्णाली राजमार्गमा चल्ने सवारीलाई कालापहाड जाने यात्रु बोक्न ठिक्क छ। गाउँ सुनसान हुँदै गएका छन्। कालापहाड जानु यहाँका स्थानीयहरुको रहर नभएर बाध्यता हो।

प्रकाशित: २८ आश्विन २०७६ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App