पाँचथर - रेडपाण्डाका लागि प्रदेश १ चर्चित छ। सबैलाई आफ्नो सौन्दर्यले मोहित पार्ने रेडपाण्डाको संरक्षणमा पछिल्लो समय चासो बढ्दै गएको छ। लजालु जातको वन्यजन्तुमा पर्ने रेडपाण्डाको महत्व र संरक्षणबारे समुदायस्तरमा बुझाउँदै जान थालिएको छ।
संकटापन्न वन्यजन्तुका रूपमा रहेको रेडपाण्डाबारे विशेषतः पूर्वका पाँचथर, ताप्लेजुङ र इलाममा चासो तथा चर्चा बढ्दै गएको छ। रेडपाण्डा पाइने क्षेत्रका बासिन्दा पनि यसको बासस्थान, महत्व र संरक्षणबारे सचेत बन्दै गएको देखिन्छ। इलाममा सम्पन्न साहित्य महोत्सवको पर्यटकको आयाम सवालको अन्तक्र्रियामा पनि रेडपाण्डाको विषयले महत्व पायो। त्यहाँ प्रदेश १ को पहिचानका रूपमा त्यसको विकासमा जोड दिनुपर्ने आवाज उठाइएको छ।
तीन जिल्लामा पिआइटी करिडोर (पाँचथर–इलाम–ताप्लेजुङ) का रूपमा समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम अघि सारिएको छ। रेडपाण्डा जोगाउन महत्वपूर्ण रहेको भन्दै समुदायलाई सचेत गराउने कार्यक्रम तीन जिल्लामा सञ्चालन भएको छ। अन्तर्राष्ट्रिय गैरसररकारी संस्था रेडपाण्डा नेटवर्कका अनुसार नेपालका २५ जिल्लामा रेडपाण्डा पाइन्छ। तीमध्ये पिआइटी करिडोर महत्वपूर्ण भएको बताइन्छ।
विभिन्न मानवीय कारणले रेडपाण्डा जोखिममा परेको भन्दै सरंक्षणको कार्यक्रम अघि बढाइएको हो। दुई दशकअघिसम्म बाक्लो गरी देखिने रेडपाण्डा अहिले बिरलै मात्र देखिने गरेको छ। रेडपाण्डा संरक्षणका लागि समुदाय स्तरबाट सचेतना बढाउने काम भइरहेको कार्यक्रम संयोजक दावातेन्जी यल्मोले बताए। समुदायमा आधारित रहेर रेडपाण्डा संरक्षणमा तीन जिल्लामा हरेक वर्ष दुई करोड रुपैयाँभन्दा बढी बजेट रहेको छ। त्यसमा विभिन्न ठाउँका स्थानीयले साझेदारी गरेका छन्। रेडपाण्डा जोगाउन सके समग्र पूर्वको पहिचना तथा पर्यटन विकासमा योगदान पुग्ने यल्मोको भनाइ छ।
उनका अनुसार समुद्र सतहबाट दुई हजार मिटरमाथि लिंगा र निगालो भएको शीतोष्ण र चौडापातको वनमा रेडपाण्डा पाइने पाइन्छ। तीन जिल्लामा रेण्डपाण्डासम्बन्धी अध्ययन, अनुसन्धान, संरक्षणमा समुदायलाई सचेत गराउने, वनक्षेत्रमा रेडपाण्डाको आहार संरक्षण, विद्यालयमा रुटसुट क्लबमार्फत सचेतनाजगाउने काम भइरहेको छ। रेडपाण्डा पाइने क्षेत्रका विद्यालयमा कक्षा ६ र ७ मा संरक्षण शिक्षा पाठ्यपुस्तकसमेत पढाइ हुनेछ। रेडपाण्डा संरक्षणका साथै स्थानीय बासिन्दाको आयआर्जनका लागि होमस्टेलगायत कार्यक्रम अघि सारिएको छ।
रेडपाण्डा नेटवर्कबाट तीनै जिल्लामा स्थानीय साझेदार संस्थामार्फत काम गरिरहेको छ। यहाँका सामुदायिक वनमा रेडपाण्डाको गतिविधि अध्ययन गर्न एक सयको हारहारीमा वन अभिभावक राखिएको बताइएको छ। उनीहरूले हरेक तीन महिनामा रिपोर्ट तयार गर्छन्। ‘पहिला जानकारी थिएन। अहिले रेडपाण्डा जोगाउनुपर्ने रहेछ भन्ने थाहा भयो। रेडपाण्डा जोगाउनुपर्छ भनेर हामी पनि कुरा गर्छौं,’ पाँचथरको याङवर गाउँपालिकाको पानीभित्ताका पेम्बा शेर्पाले भने, ‘रेडपाण्डा हेरिरहूँ लाग्ने हुन्छ लजालु जातको।’ इलामको सूर्योदय र इलाम नगरपालिका तथा माई जोगमाई र सन्दकपुर गाउँपालिकामा रेडपाण्डा पाइन्छ। यस्तै पाँचथरको फिदिम नगरपालिका, याङवर र फालेलुङ गाँउपालिमा तथा ताप्लेजुङका ६ स्थानीय तहमा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जानकारी दिएको छ।
चोरी, तस्करी, डढेलो, अन्य मानवीय गतिविधि तथा आहाराको कारण रेडपाण्डामा पर्ने गरेको संरक्षणकर्मीहरू बताउँछन्। रेडपाण्डाको दिसा, हिँड्दा बन्ने डोब, मोहोडाका आधारमा वासस्थान पत्ता लगाउने गरिन्छ। रेडपाण्डा जोगाउन सरकारी क्षेत्र, स्थानीय बासिन्दा मिलेर काम गर्नुपर्ने देखिएको साझेदार दीपज्योति युवाक्लबका कार्यकारी निर्देशक सुनिल बान्तवा बताउँछन्। विभिन्न कारणले रेडपाण्डा जोखिममा परेका सचेततापूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
संरक्षणको सिलसिलमा क्यामरा ट्यापजस्ता काम भएका छन्। नेपालमा पहिलोपल्ट रेडपाण्डामा जिपिएस रेडियो कलरिङ गर्न लागिएको छ। इलामको डोबाटे क्षेत्रमा यस्तो गर्न सरकारी निकायका प्रतिनिधि र विज्ञसहितको टोली खटिएको छ। यस्तै निजी जग्गा सरकारको नाममा किनेर रेडपाण्डा संरक्षित क्षेत्र बनाउने, ताप्लेजुङमा संरक्षण सूचना केन्द्र बनाउने काम अघि बढेको यल्मोले जानकारी दिए। रेडपाण्डा ९३ देखि एक सय १० सेन्टिमिटर हुने विज्ञको भनाइ छ। यस्तै तीनदेखि ६ केजीसम्मको तौल हुने गर्छ। विश्वमा नेपालबाहेक भारत, भुटान, चीन र म्यानमारमा रेडपाण्डा पाइन्छ। आठदेखि १० महिना आयु हुने रेडपाण्डाको गर्भाधान अवधि भने एक सय ३५ दिनको हुने बताइन्छ। विश्वमा १० हजार र नेपालमा एक हजारको हारहारीमा रेडपाण्डा पाइने अनुमान छ।
प्रकाशित: २७ आश्विन २०७६ ०३:१० सोमबार