१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किन पड्काइन्छ तोप ?

काठमाडौं - हरेक वर्ष दसैंको फूलपातीको दिन टुँडिखेलमा तोप पड्काइन्छ । यस वर्ष पनि तोप पड्काइने छ । दसैंमा तोप किन पड्काइन्छ र नेपालमा तोपको इतिहास के हो त ?

संसारमा बारुद पत्ता लगाइसकेपछि तोप, गोली–गट्ठा जस्ता हात–हतियारको विकास भयो । त्योभन्दा अगाडि खुँडाखुकुरी, धनुकाँड जस्ता हातहतियार लडाइँमा प्रयोग हुन्थे । पहिले सैनिकहरू किल्लाबाटै लडाइँ लड्थे । त्यो समयमा देशको सम्पत्ति भनेकै जमिन, सेना, किल्ला आदिलाई मानिन्थ्यो । जसको धेरै किल्ला भयो, त्यसलाई धनी राज्य मानिन्थ्यो । किल्लाभित्रको दुश्मनलाई आक्रमण गरेर जित्न धेरै गाह्रो हुन्थ्यो ।

यस्ता किसिमका किल्ला र पर्खाललाई तोड्न र परका दुश्मनलाई हान्न तोप बनाइयो । प्रतिरक्षात्मक र आक्रामक दुवै लडाइँमा तोपको महŒव बढ्दै गयो ।बाइसे र चौबीसे राज्यको पालामा लमजुङसँग धेरै पुराना तोप भएको इतिहास छ ।

युद्ध र उत्सवमा मात्र नभएर नेपालमा वीरशमशेरको पालादेखि हरेक दिन दिउँसो १२ बजे तोप पड्काइन्थ्यो । त्यो समयमा मानिससँग घडी थिएन । यसले मानिसलाई समयको संकेत गराउँथ्यो । प्रजातन्त्र आएपछि १२ बजे तोप पड्काउन छाडियो । त्यस्तै, रातको ९–१० बजेपछि काठमाडौंको टुँडिखेलमा तोप पड्काइन्थ्यो । तोप पड्केपछि मानिस हिँडडुल गर्न पाउँदैनथे ।

पछि गएर गोर्खासँग पनि तोप भयो । त्यतिखेर तोप भएको पल्टनलाई शक्तिशाली मानिन्थ्योे । राज्यमा तोप पड्किने भन्नेबित्तिकै शक्ति पड्केको भन्ने ठानिन्थ्यो । त्यसपछि तोपलाई देशको मुख्य हतियारको रूपमा लिन र पूजा गर्न थालियो । दसैं विशेषतः हातहतियारको पूजा र शक्तिको उपासना गर्ने पर्व हो । शक्तिको प्रतीकका रुपमा तोपसँग काली, भगवती देवीहरूको नाम जोड्न थालियो, जस्तोः कालीतोप, लालीतोप, भैरवतोप आदि ।

बाइसे र चौबीसे राज्य
नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहको राज्य गोर्खामा तोप थिएन, छिमेकी राज्य लमजुङमा थियो । पृथ्वीनारायणले बिनातोप नै युद्ध गरे । उनको मृत्युपछि बहादुर शाहले फ्रान्सबाट तोप बनाउने कालिगड र वैज्ञानिक ल्याएर नेपालमा तोप बनाउन लगाए । बहादुर शाहले नेपाल एकीकरणका बेला फाट्टफुट्ट तोपको प्रयोग गरेको देखिन्छ, विशेषगरी जुम्लाको युद्धमा । उनकै पालामा १८४८ सालमा चीन र तिब्बतको संयुक्त फौजसँग युद्ध गर्दा तोपको प्रयोग गरियो । त्यतिबेला चिनियाँ सेनासँग नेपाली सेनाले केही छालाको तोप खोेसेर ल्याएको थियो । तीमध्ये अहिले पनि राष्ट्रिय संग्रहालय छाउनीमा छालाको तोप छ ।

नेपालका राजाहरू तीर्थको नाममा गया, काशी, मथुरा, दक्षिण भारत जाने गर्थे । त्यहाँका मुगल राजा अर्थात् मुस्लिम राजाको जन्मोत्सव÷विजयोत्सवमा नेपालका राजाले तोप पड्काएको देखे । त्यतिखेर चीनको राजतन्त्रले पनि तोप पड्काउँथ्यो । यो संसारभरिको मान्यता हो । देशमा  विशिष्ट पाहुना आउँदा सम्मानका लागि पनि तोप पड्काउन थालियो । यो पुरानो चलन हो ।

भीमसेन थापा पश्चिमा शैलीको जंगी पोसाक लगाउने नेपालको पहिलो जर्नेल भएसँगै नेपालमा तोपको सुरु भएको इतिहास छ । उनी राजा रणबहादुरसँग बनारसमा निर्वासित भएर बस्दा उनले अंग्रेजको देखेर सिकेका थिए ।

नेपालको व्यापार सम्बन्ध चीन र तिब्बतसँग बढी भएकाले तोपको सलामी दिने प्रचलन नेपालले त्यहींबाट पनि सिकेको हो । नेपालमा विशेष गरेर राजा रणबहादुर शाहको पालामा भीमसेन थापाले तोप पड्काएर सलामी लिएको बुझिन्छ । तोपको सलामी दिने पश्चिमी संस्कार हो । भारतमा अंग्रेज शासनका पाला तोपको सलामी दिइन्थ्यो । राणाकालीन समयमा यसको अभ्यास झन् बढी भयो । बेलायत जाँदा जंगबहादुर र चन्द्रशमशेरले तोपको सलामी लिएका थिए । विदेशबाट राजकुमारहरू नेपाल आउँदा पनि उनीहरूलाई तोपको सलामी दिइन्थ्यो ।

अहिले संसारमा मिसाइल, एटमबम जस्ता हतियार आविष्कार भइसकेका छन् । तर तोप पुरानो परम्परा र इतिहास भएकाले यसलाई अझै महत्व दिइएको छ । अरु हतियारको विकास हुँदै गएपछि नेपालमा तोप बन्न छाडे । अहिले हामीले प्रयोग गर्ने तोप सबै राणाकालीन हुन् ।

युद्ध र उत्सवमा मात्र नभएर नेपालमा वीरशमशेरको पालादेखि हरेक दिन दिउँसो १२ बजे तोप पड्काइन्थ्यो । त्यो समयमा मानिससँग घडी थिएन । यसले मानिसलाई समयको संकेत गराउँथ्यो । प्रजातन्त्र आएपछि १२ बजे तोप पड्काउन छाडियो । त्यस्तै, रातको ९–१० बजेपछि काठमाडौंको टुँडिखेलमा तोप पड्काइन्थ्यो । तोप पड्केपछि मानिसहरू हिँडडुल गर्न पाउँदैनथे । रातको समयमा कुनै घटना नहोस् भनेर यस्तो नियम बनाइएको थियो । तर पछि यो नियम लागू भएन ।

देवीदेवताको पूजामा पनि तोप
नेपालमा अझै पनि राइफल र तोपबाट बढाइँ गर्ने प्रचलन छ । तोप कहिले पड्काउने र कति तोपकोे सलामी दिने भनेर नेपाल सरकारले निर्णय गर्छ । सरकारको स्वीकृतिबिना कसैले तोप पड्काउन पाउँदैन । राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई अलि धेरै तोपको सलामी दिने गरिन्छ ।

यसरी युद्ध र उत्सवमा मात्र नभएर चाडपर्वमा पनि तोप पड्काउन सुरु गरियो । मल्लकालीन समयदेखि विशेषगरी शिवरात्रि र फूलपातीका दिन विशेष उत्सवका साथ तोप पड्काउन थालियो । त्यतिबेला तोप हुनेले तोप र नहुनेले अरु बन्दुक पड्काउँथे । देवीदेवताको सम्मान र पूजाका लागि पनि विशेष तोप पड्काइन्थ्यो ।

ललितपुरको लगनखेलमा राजदल गण छ, जसलाई तोपखाना पल्टन भनिन्छ । नेपालमा अझै पनि एक–दुई सय तोपहरू तोपखानामा राखिएका छन् । अहिलेलाई तोप पड्काउने जिम्मा सबै राजदललाई नै छ । तोप पड्काउने सेनाहरू सबै तालिमप्राप्त हुने भएकाले यसका लागि विशेष तयारी गर्नुपर्दैन । एक दुईपटक मात्र अभ्यास गराइन्छ । देशको हर्ष र उल्लासका लागि पनि बढाइँमा तोप पड्काइन्छ । फूलपातीमा पनि पड्काइन्छ । (ज्योति श्रेष्ठले डा. प्रेमसिंह बस्न्यातसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: १८ आश्विन २०७६ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App