२४ श्रावण २०७७ शनिबार
समाज

झिझियाको रमझममा झुम्दै मिथिलाञ्चल

महोत्तरी– ‘चल चल गे डैनी कदम तर तोहर वेटा के खैवौ वरहम तर।’ मैथिली भाषामा सुरिलो भाकामा गाइने यी यस्ता गीत र त्यसको तालमा नाचिने नृत्यमा अहिले मिथिलाञ्चलका महिलाहरु दिदीबहिनीहरु झुम्न थालेका छन्। 

कुनै कुनै बेला ताली बजाउँदै टाउको तल ल्याउँछन, फेरि ताली बजाउँदै यथास्थानमा राख्छन्। घैंटामा बलिरहेको दियोको मद्धिम प्रकाश, मुहानमा दन्किरहेको आगो, तालमा नाचिरहेकी कुनै महिला र झुन्डमा गीतको लहरीले अद्भूत वातावरणको निर्माण हुन्छ र महिलाहरु लोकअनुष्ठानमा सुर विर्सेर तल्लीन हुन थालेका छन्।

नेपालीहरुको महान चाँड वडादशैंको घटस्थापना संगै शुरुवात महोत्तरी लगायत मिथिलाञ्चल भरि अहिले मैथिलि भाषाको उक्त सुरिलो गीतमा महिलाहरु नाचेको र झुम्ने कार्यलाई भिझिया भनिन्छ। 

नृत्यसँगै गाइरहेने मैथिलि भाषाको गीतमा बोक्सीलाई गाली गर्ने गरिन्छ। बोक्सीलाई गाली गर्नाले उनीहरुको मारक क्षमतामा कमी आउँने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहि आएको छ। 

समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइनी बोक्सी महिला जादु मन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकालाई कुनै करणीद्वारा मारेर मसानमा त्यहीं मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्छ। विजयादशमीको अवसरमा यस्ता घटनामा बृद्धि हुन थालेपछि महिलाहरुले नै एउटा धार्मिक, साँस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्न बोक्सीहरुको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ।

पारिवारिक सुरक्षाको लोकअनुष्ठान झिझिया महोत्तरी लगायत मिथिलाञ्चल भरि नै सुरु भएको छ। यसमा पूर्णरुपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ। झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु रहेको छ। यसको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ। झिझिया लोकनृत्य महोत्तरी, सप्तरी, सिरहा, धनुषा,  सर्लाही, बारा, पर्सा क्षेत्र लगायत भारतीय क्षेत्र बेनीपटि, मधुवनी, जयनगर, सीतामढी, सहरसा आदि क्षेत्रमा पनि प्रस्तुत गरिन्छ। 

झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असत्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्न महिलाद्वरा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृतिले यसको निहित विशेष अर्थलाई सङ्केत गर्छ महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्यो भने त्यो नाच्ने महिला ठहरै हुन्छ भन्ने जनविश्वास रहेको छ। 

नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ। झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ। 

झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोक नृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ। 

आफ्ना साखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घ जीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ। यसको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको छ। झिझिया नृत्य गर्दै गाइने गीतहरुमा बोक्सीलाई गाली गर्नका साथै भगवती दुर्गालाई अभ्यस्था गरिएका अत्यन्त मोहक गीतहरु पनि गाइन्छ। झिझिया नृत्य प्रारम्भ गर्नपूर्व तयारी गर्नपर्छ एउटा वा दुइटा स्वच्छ घैंटो किनेर ल्याइन्छ। त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सर्काइन्छ। त्यसमा मट्टितेल हालेर दन्काइन्छ। त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ। तर, टाउकामा राखी नृत्य गर्नपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ। अर्थात बोक्सीको आँखा नलागोस भनेर धामीद्वारा छेकबार गरिन्छ। 

सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी।
बजर बान्हो दशो दुआरी। मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो। 

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो दन्किरहेको घैंटो राखेर बिना हातको सहारा लिई नाच्दैं ब्रह्मस्थानतिर पुग्छन्। त्यहाँ अराधना गर्दछन र त्यहींबाट औंपचारिक रुपमा नृत्य सुरु गरी गाउँका भद्रभलादमीहरुको घरमा पुगि नृत्य देखाउँछन र पूर्णआहुतिका लागि अन्न रुपियाँ चन्दा माग्छन्। 

त्यहीँ मागिएको रकम जोडेर दशमीका दिन पूजा पाठ, भोज भात र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्ज हुन्छ।  

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ। गाग्रिमाथि धधकिरहेको आगोको डल्लो लिएर नृत्य गर्न आफैंमा साहास र कलाको अलौकिक प्रदर्शन हो झिझिया नृत्य। समाज रुपान्तरणको क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँघरमा मात्रै नभइ शहरमा समेत प्रचलनमा छ र यसलाइ निरन्तरता दिइँदैछ। 

प्रकाशित: १५ आश्विन २०७६ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App