१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

निजी स्वास्थ्य संस्था,कानुन मिच्दै, उन्मुक्ति पाउँदै

फाइल तस्बिर

सिरहा - गत शनिबार गोलबजार नगरपालिका–७ चन्द्रलालपुरकी रेणु यादवलाई सुत्केरी व्यथाले च्यापेपछि परिवारले लहान नगरपालिका–१ स्थित लीलामदन हेल्थ केयर प्रालिमा लगे। रेणु पहिलोपटक आमा बन्दै थिइन्। यस हेल्थ केयरमा पुगेपछि उनलाई डाक्टर दिलिपकुमारले भर्ना गरेर उपचार सुरु गरे।

शनिबार राति साढे ११ बजे रेणुले नवजात शिशु जन्माइन्। तर परिवारमा नयाँ सदस्य आएको खुसी साट्न नपाउँदै बच्चाको स्वास्थ्य जटिल बन्न थाल्यो। अक्सिजनमार्फत अतिरिक्त सास दिएर बच्चालाई अलगै ठाउँमा राखियो। यादव परिवारले डाक्टरसँग बच्चाको अवस्था जानकारी माग्दा ‘ठिक भैहाल्छ, नआतिनुस्’ भन्दै सान्त्वना दिँदै पन्छाउँदै गरियो।

भोलिपल्ट अर्थात् आइतबार पनि बच्चाको अवस्था ठिक नभएपछि रेणुका माइती पक्षको दबाबमा आइतबार राति आठ बजे डाक्टर दिलिपले बच्चा र आमालाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि रेफर गरिदिए। रेणुका पिता दिनेश्वर यादवका अनुसार आइतबार रातिदेखि विराटनगरस्थित आरके चिल्ड्रेन हस्पिटलमा बच्चालाई भेन्टिलेटरमा राखेर उपचार हुँदै छ। दिनेश्वरले नागरिकसँग भने, ‘डाक्टर दिलिपको बदमासीले मेरा नाति र छोरी दुवैको ज्यानमाथि खतरा भयो।’ उनले थपे, ‘लीलामदन त उपचार केन्द्र भन्दा पनि पीडा थप्ने केन्द्र पो रहेछ।’

दिनेश्वरले आफ्नो फेसबुक वालमा समेत लीलामदनका डाक्टर दिलिपको बदमासीले छोरी रेणु र नवजात नाति जीवनका लागि संघर्ष गरिरहेको उल्लेख गरेका छन्। ‘प्रसूतिका क्रममा गरिएको सानो अप्रेसनपछि सो ठाउँमा सिलाइसमेत गरेका रहेनछन्,’ दिनेश्वरले भने। विराटनगरमा रक्तस्रावका कारण पत्ता लगाउँदै जाँदा सिलाइ गर्न छुटाएको पाइएको उनले बताए। उनले हदैसम्मको लापरबाही र बदमासी गर्ने लीलामदन हेल्थ केयर र डाक्टर दिलिपमाथि कारबाहीका लागि नियामक निकायसँग आग्रह गरेका छन्। ‘मेरो नाति जीवनका लागि सात दिनदेखि संघर्ष गर्दैछन्। पहिलो पटक आमा बनेकी छोरीको रोएर बेहाल छ। हामी सारा परिवारमाथि दुःखको पहाड खसाल्ने त्यस स्वास्थ्य संस्था र डाक्टरमाथि कारबाही गरियोस्’ भक्कानिँदै यादवले भने।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डाक्टर नागेन्द्रप्रसाद यादवका अनुसार लीलामदन हेल्थ केयरलाई प्रसूति गराउने अनुमति नै छैन। ‘अनुमतिबेगर गरिएको कार्य गैरकानुनी ठहरिन्छ,’ डाक्टर यादवले भने, ‘कानुन मिचेर गैरकानुनी कार्य गर्ने यस मेडिकेयरमाथि प्रशासनले कारबाही गर्नुपर्छ।’ अनुमति बेगरका सेवा सञ्चालन गरेर मानवीय जीवनलाई जोखिममा पार्ने कार्य गर्ने यस लीलामदन हेल्थ केयरको दर्ता खारेजीसम्मको कारबाही जिल्ला स्वास्थ्य कार्यालयबाट गर्न सकिने प्रशासन शाखा प्रमुख उमेशलाल कर्णले बताए। बाँकी कारवाही जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट अघि बढ्छ।

लीलामदन हेल्थ केयरको नाम पहिला लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृह थियो। गैरकानुनी रूपमा वर्षौदेखि सञ्चालित यस पोलिक्लिनिकमा साउन २७ गते जिल्ला स्वास्थ्य कार्यालयले प्रशासनको रोहबरमा ताला लगाएको थियो। नवीकरणको म्याद गुजारेर स्वतः खारेजीमा परेको सो पोलिक्लिनिकलाई बन्द गर्न अन्तिम पटक जेठ २१ गते जिल्ला स्वास्थ्य कार्यालय सिरहाले पत्र पठाएको थियो। तर, स्वास्थ्यको पत्रलाई लत्याउँदै सेवा सञ्चालन गरी नै रहेपछि प्रहरी, प्रशासनको उपस्थितिमा ताला बन्द गरिएको थियो।

त्यसपछि यस पोलिक्लिनिकले नाम फेरेर लीलामदन हेल्थ केयर राख्यो। जसमा बहिरंग, गर्भवती जाँच, परिवार नियोजन, इसिजी, इ समूहको प्रयोगशालाको सेवा अनुमति लियो। प्रसूति सेवाको अनुमति नपाएको यस हेल्थ केयरले पुनः कानुन मिच्दै प्रसूति सेवा सञ्चालन गरिरह्यो, जसको पुष्टि शनिबार यस हेल्थ केयरमा रेणु यादवको प्रसूतिबाट भएको छ।

लीलामदनले वर्षौदेखि अनमतिबेगरको काम गरेर कानुनको खिल्ली उडाउँदै, माफ पाउँदै आएको छ। २०७३ सालमा सिरहाको औरही गाउँपालिका–४ इँटाटार कमलपुरकी रामवतीदेवी यादव नवजात शिशु गुमाएर शारीरिक रूपमा थलिएकी छिन्। लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहको गैरकानुनी उपचारका कारण उनको पहिलो सन्तान खेर गयो, जीवनभर ऋणको भारी बोकायो र पाठेघरसम्बन्धी दीर्घ रोगी बनाइदियो।

पहिलो पटक आमा बन्दै गरेकी रामवती आठ महिनाकी गर्भवती हुँदा अचानक पेट दुख्ने तथा रक्तस्राव हुने समस्या बिसेक पार्न एम्बुलेन्स चढेर लीलामदन पोलिक्लिनिक एन्ड प्रसूतिगृह आएकी थिइन्। तर ठिक हुनु त कताकता रामवतीको स्वास्थ्यमा त्यो बेला परेको असर अझैसम्म बिसेक भएको छैन। पाठेघरमा परेको असर र रक्तस्रावको उपचारका लागि उनलाई महिनैपिच्छे भारतीय सहर दरभंगामा धाउनु परिरहेको छ। ‘मलाई जीवनभरका लागि थला पार्ने लीलामदन पोलिक्निकमाथि सरकारले कारबाही गर्न सकेन,’ रामवती भन्छिन्, ‘जसको परिणाम मजस्ता धेरै महिलाहरु पीडा भोग्न बाध्य भइरहेका छन्।’ कानुन मिचेर कारबाहीबाट उम्कन नाम फेर्ने शैली यहाँका निजी स्वास्थ्य संस्थाका लागि नौलो होइन। २०७२ सालमा लहान

नगरपालिका–३ स्थित गैरकानुनी रूपमा (बिना दर्ता) सञ्चालित लवकुश हस्पिटल बन्द त भयो तर यसका सञ्चालकले २०७३ मै फेरि अर्को नामबाट (हस्तिका पोलिक्लिनिक)ं पुनः स्वास्थ्य संस्था सञ्चालन गरे।लवकुश अस्पतालले नवजात शिशुलाई अरूलाई नै बिक्री गरेको प्रहरीले फेला पारी मुद्दा चलाएको थियो। त्यो बेला लवकुश हस्पिटल प्रालिबाट प्रहरीले नवजात शिशु किन्ने एक महिला र अस्पतालका चार कर्मचारी पक्राउ गरेको थियो।

२०७२ फागुन २१ मा नवजात शिशु खरिद गरेकी सप्तरी फत्तेपुरकी एक महिलासमेत पक्राउ परेकी थिइन्। यद्यपि सञ्चालकहरू घटनास्थलबाट फरार भएकाले पक्राउ पर्न सकेनन्।

इलाका प्रहरी लहानका तत्कालीन डिएसपी उमाप्रसाद चतुर्वेदीले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कारबाही चलाएका थिए। उनी सरुवा भएर गएपछि यस अस्पतालका सञ्चालकहरू अर्को नामबाट निजी स्वास्थ्य संस्था सञ्चालन गरे, गर्दैछन्।

गैरकानुनी रूपमा सञ्चालित निजी स्वास्थ्य संस्थाका कारण मानव स्वास्थ्यमा जोखिममात्र बढाएको छैन, कानुनी राज्यमाथि जनताको विश्वाससमेत खलबलिएको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App