५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मेलम्चीमा फेरि एक वर्षको वाचा,सिनो हाइड्रोसँग सम्झौता

काठमाडौं - डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ। निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन अहिलेसम्म तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आयोजना कार्यालयले एक वर्षभित्रै सुरुङ निर्माण सक्ने सम्झौता गरेको हो। तीन दशकदेखिको हल्ला र डेढ दशकदेखिको विवादैविवादका कारण नयाँ सम्झौताअनुसार काम हुनेमा काठमाडौंवासी ढुक्क छैनन्।

सम्झौताअनुसार सुरुङ निर्माणको काम भए अस्थायी हेडवक्र्स (बाँध) मार्फत मेलम्चीको पानी एक वर्षभित्र उपत्यकामा आउनेछ। आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले आयोजना र सिनो हाइड्रोबीच सुरुङ निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएको जानकारी दिए। ‘ठेकेदार कम्पनीले दसैंलगत्तै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले भने, ‘कम्पनीले निर्माण सामग्री ल्याउनुका साथै साइटको अवलोकन पनि गरिसकेको छ। त्यसैले असोज २६ गतेदेखि धमाधम निर्माणको काम सुरु हुनेछ।’

खत्रीले मेलम्ची आयोजनाको काम छिटो सके ठेकेदार कम्पनीलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गरेको बताए। ‘तोकिएको समयभन्दा छिटो सकेमा ठेकेदार कम्पनीले दैनिक ०.१५ प्रतिशतका दरले (१२ लाख ७५ हजार) प्रोत्साहन पुरस्कार पाउनेछन्,’ उनले भने, ‘तोकेको समयमा निर्माण सम्पन्न नगरेको खण्डमा पनि सोही अनुसारको जरिवाना तिर्नुपर्नेछ।’

खत्रीले ठेकेदार कम्पनीले अप्रत्यक्षरुपमा कामदार खटाउनेदेखि, आवश्यक निर्माण सामग्री र उपकरण साइटमा लैजाने काम गरिरहेको बताए। ‘अप्रत्यक्ष रुपमा ठेकेदार कम्पनी साइटमा पुगिसक्यो,’ उनले भने, ‘ठेकेदारले निर्माण सामग्री र उपकरण साइटमा पु¥याइसकेको छ। त्यसैले छिट्टै काम सुरु हुनेछ।’

आयोजनाका अनुसार सुरुङ निर्माणका लागि ८५ करोड एक लाख ९४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो। खत्रीका अनुसार ठेकेदार कम्पनीले तोकिएको समयभन्दा छिट्टै निर्माण सम्पन्न गरेर प्रोत्साहन पुरस्कार लिने जानकारी गराएको छ। मेलम्चीको सुरुङको ठेक्का भए पनि हेडवक्र्स (बाँध) निर्माणको ठेक्का सम्झौता भने भइसकेको छैन। हेडवक्र्स निर्माणको ठेक्का पनि सिनो हाइड्रोले नै पाएको छ।

खत्रीले हेडवक्र्स निर्माणको ठेक्का पनि केही दिनभित्रै हुने दाबी गरे। ‘ठेकेदार कम्पनीले दुईचार दिनभित्रै हेडवक्र्सको पनि सम्झौता गर्ने तयारी गरेको छ,’ उनले भने, ‘दसैंअघि नै सम्झौता हुने सम्भावना छ।’ हेडवक्र्स निर्माण भने १५ महिनाभित्र सम्पन्न हुनेगरी ठेक्का सम्झौता गर्न लागिएको छ। मेलम्ची आयोजनाको करिब ९७ प्रतिशत काम सम्पन्न भए पनि गत पुस २ गते साबिकको ठेकेदार सिएमसी छाडेर हिँडेसँगै आयोजना अलपत्र परेको थियो।

आयोजनाका अनुसार सात सय मिटर सुरुङ ढलान गर्न बाँकी छ। हेडवक्र्स, भेन्टिलेटर साफ्ट, स्कोडा मेसिनलगायतका प्राविधिक काम गर्न पनि बाँकी छ। आयोजनाका अनुसार बाँकी काम सम्पन्न गर्न करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान भएकोमा सिनो हाइड्रोले तोकेकोभन्दा झन्डै ३० प्रतिशत कम रकम कबोल गरेर ठेक्का सकारेको हो। सिनो हाइड्रोले हाल माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, तनहँु जलविद्युत् आयोजनालगायतमा पनि काम गरिरहेको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App