३ असार २०८१ सोमबार
image/svg+xml
समाज

चाडवाडको मुखमा सबै ग्रामीण सडक अवरुद्ध

 खोटाङ– दसैं र तिहारको मुखमा खोटाङका अधिकांश कच्ची सडक अवरुद्ध भएका छन्। चार÷पाँच दिन यता परेको वर्षाका कारण जिल्लाका कुनै पनि लोकल रुटमा सवारी साधन चल्न सकेको छैन्।

आन्तरिक सडक ठप्प हुँदा सबैभन्दा बढि दसैं तिहारको समयमा घर आवत–जावत गर्ने स्थानीय मारमा पर्ने देखिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।

हाल दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक ठप्प बनेको छ। वर्षा सुरु भए लगत्तै ठप्प भएका सडक वर्षा रोकिएपछि सामान्य मात्रामा सञ्चालन हुँदै आएकामा पुःन वर्षाका कारण बन्द भएको हो। हाल सडक सञ्चालन नहुँदा गाउँ जानका लागि हिँड्नुपर्ने वाध्यता छ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–निर्मलीडाँडा–चखेवाभन्ज्याङ सडक पनि ठप्प छ। प्रशासनले दिक्तेल–निर्मलीडाँडा–चखेवाभन्ज्याङ सडकलाई चालु अवस्थामा राख्न ठेकेदारलाई निर्देशन दिएको हप्ता दिन वितिसक्दा पनि कार्यान्वयन भएको छैन्। गाउँ घरमा पुग्ने सडक वर्षाका कारण बन्द भएपछि दसैं तिहार मनाउन घर फर्कने स्थानीय चिन्तित छन्। हाल दिक्तेल–काठमाडौं र दिक्तेल–इटहरीमा मात्र सवारी साधन सञ्चालनमा छ।

१६ महिनादेखि खानीडाँडा विमानस्थल ठप्प 
खोटाङका तीन विमानस्थलमध्ये हाल दुई विमानस्थल मात्र सञ्चालनमा छ। खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क र रावाबेँसी गाउँपालिका–३ स्थित लामीडाँडा विमानस्थल मात्र हाल चालु अवस्थामा रहेको छ। साविकको सदरमुकाम दिक्तेलबाट सबैभन्दा पायक र नजिक पर्ने खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोका कारण बन्द छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थल हाल मर्मतको क्रममा छ।

२०७२ साल असारमा कालोपत्रे गरिएको खानीडाँडा विमानस्थलको डिलको माटो कटान हुँदा रन–वेसम्मको भाग भासिएपछि मर्मत सुरु गरिएको हो। २०७५ साल जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको दक्षिणीतर्फको डिलबाट पहिरो सुरु भएको थियो। साविकको सदरमुकाम दिक्तेलबाट नजिक रहेको बिमानस्थल चर्किएपछि २०७५ साल जेठदेखि नै उडान बन्द छ।

रन–वेमा भरिएर किनाराबाट निकास भएको भलपानीले विमानस्थलको १०÷१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगाएको छ। भलपानीका कारण छेउबाट भासिन सुरु गरेको पहिरोले विमानस्थलबीचको रन–वेको सेतो मार्किङसम्म चर्किएको थियो।

कटानका कारण विमानस्थलको रन–वेभन्दा २÷३ मिटर नजिकसम्मको भाग भासिएपछि कान्छाराम कन्ट्रक्सनले करिब ७ करोडमा मर्मतको ठेक्का लिएको हो। मर्मतका काम गुणस्तरहिन भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७५ साल माघ १७ गते निर्माण कम्पनीलाई गुणस्तरिय कामका लागि पत्राचार गरेको थियो।

वर्षाको भलपानी निकासाका लागि टावर नजिकै राखिएको कलभर्ट थुनिँदा खानीडाँडा विमानस्थल कटान भएको यो दोश्रो पटक हो। यसअघि, भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिँदा २०६९ साल साउनमा धावनमार्गमाथिबाट बगेको भलपानीले विमानस्थलको डिल कटान गरेको थियो।

प्रकाशित: १२ आश्विन २०७६ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App