काठमाडौं – जापान सरकारले कैलालीस्थित सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मेडिकल उपकरण जडानका लागि सहयोग गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत मासामिची साइगो र अस्पतालका अध्यक्ष आनन्दप्रसाद भट्टबीच बिहीबार सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।
जापानले सो अस्पतालमा उपकरण जडानका लागि एक करोड २७ लाख रुपैयाँ सहयोग गर्नेछ। त्यस्तै, जापानले हुम्लामा बालगृह निर्माणका लागि पनि आर्थिक सहयोग गर्ने भएको छ।
राजदूत साइगो र रेडी हुम्लाका अध्यक्ष साकेश शाहीबीच सहयोग सम्झौतामा हस्ताक्षर सम्पन्न भएको जनाइएको छ। जापानले बालगृह निर्माणका लागि एक करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने भएको हो। उक्त बालगृहमा जुम्माका ३० अनाथ तथा अप्ठेरो अवस्थामा रहेका बालबालिकालाई बसोबासको व्यवस्था गरिने जनाइएको छ।
प्रकाशित: १० आश्विन २०७६ ०१:११ शुक्रबार