८ वैशाख २०८१ शनिबार
समाज

डेंगी रोगबारे विद्यार्थीलाई सचेत गराइँदै

डेंगी रोगबारे अमरगढी–८ को विद्यालयमा विद्यार्थीहरुलाई सचेत गराउँदै अमरगढी स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी ।

डडेल्धुरा– अमरगढीका विद्यालयहरुमा डेंगी रोग सम्बन्धी सचेतनाका कार्यक्रमहरु गरिदै छन्। विद्यार्थीहरुलाई डेंगी रोगबारे जानकारी गराउनुका साथै सक्रमण फैलनबाट जोगिने उपाय सिकाईदै छ। अमरगढी नगरपालिका स्वास्थ्य शाखाले विद्यार्थीहरुलाई डेंगुको संक्रमणबाट बच्ने उपाय सिकाउन लागेको हो।

विद्यार्थीहरुलाई रोगबारे जानकारी गराए घर परिवार र गाउँमा समेत चाँडो जानकारी प्रवाह हुने भन्दै विद्यालयमै पुगी डेंगीबारे जानकारी र बच्ने उपायहरुबारे सिकाई सुरु गरेको अमरगढी स्वास्थ्य शाखा उपसंयोजक गणेश बिष्टले बताए। अहिले नगरपालिका भित्र अधिकांश विद्यालयमा पुगी सबै विद्यार्थीहरुलाई एकै ठाँउमा राखी डेंगी ज्वरो सार्ने लामखुट्टे कहा पाइन्छ? लक्षणहरु, उपचार र बच्ने उपायहरु सिकाउँदै आएको उनले बताए।

एडिस एजिष्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग डेंगी भएकाले घर आगन, छरछिमेक, विद्यालयहरुमा पानी जम्ने खाल्डा खुल्डी पुर्ने, फुलदानीको पानी हप्तै पिच्छे बदल्ने, पानि जम्न नदिने लगायतका सिकाई बिद्यार्थीहरु लाई भन्ने गरेको उनले बताए। साथै विद्यार्थीलाई सिकेका कुरा अभिभावक र छिमेकमा साथी भाई, आफन्तजनहरुसँग समेत भन्न लगाउने गरेको उनले बताए।

एडिस एजिष्टाई जातको लामखुट्टेले सफा पानीमा फुल पार्ने भएकाले पानी जम्न नदिने, लार्भा नष्ट गर्ने, लामखुट्टेको टोकाईबाट बच्न पुरै शरिर ढाक्ने लुगा कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्नेलगायतका बिषयहरु विद्यार्थीलाई सिकाईएको उनले बताए।

डेंगी रोगबारे सचेतना गर्ने कार्यक्रम अन्तरगत बिहिबार अमगरगढी–८ का दुई वटा विद्यालयमा सिकाइएको वडाध्यक्ष नरबहादुर साँकीले बताए। डेंगी रोगको संक्रमण अमरगढीलगायत डडेल्धुरा जिल्लाका विभिन्न स्थानमा देखिएकाले यसबाट बच्न सकिने उपायहरुबारे विभिन्न सचेतनाका कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई समेत सिकाईन लागेको उनले बताए।

विद्यार्थीहरुलाई सचेत गराउन सके सबैतिर चाँडै जानकारी फैलिने भन्दै विद्यालयमै पुगी विद्यार्थीलाई सचेत गराईन लागेको उनले बताए।

प्रकाशित: ९ आश्विन २०७६ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App