coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डेंगीका कारण पर्यटक आएनन्

चितवन- साउन महीनादेखि क्रमशः बढेको डेंगीको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ। सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ।     
     
भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन्। चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे तर यस वर्ष यो सङ्ख्या दुई सयको हाराहारी मात्र छ। यस वर्ष बसमा आउने पर्यटक दैनिक २०/३० को हाराहारी रहेका छन् भने समूहमा आउने दुई सयभन्दा कम छन्।     
     
गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच/पाँच सय हाराहारी हुने गरेको उनको भनाइ थियो। सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुई वटा बस पोखरा चल्ने गर्दछन्। ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन्। अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका कारण ती बसले खर्च धानेको जनाइएको छ।     
     
सौराहा क्षेत्रमा डेंगी नदेखिए पनि जिल्लाको शहरी क्षेत्रमा डेंगी देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईले बताए। रत्ननगर नगरपालिकामा हालसम्म १ सय ३५ मा डेंगीको सङ्क्रमण देखिएको छ। ती सबै बजार क्षेत्रका हुन्। पछिल्लो समयमा सौराहा क्षेत्रमा डेंगीको सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए। जिल्लामा पनि असोज लागेसँगै यस्ता रोगीको सङ्ख्या घटेर गएको र अहिले डेंगी नियन्त्रणको क्रममा रहेको उनको भनाइ थियो।     

सौराहाका १ सय २० होटलको सात हजार हाराहारी पर्यटक अटाउने क्षमता छ तर यहाँ डेंगीको सङ्क्रमण छैन भन्ने सन्देश समयमा नै पुर्‍याउन सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीहरूको भनाइ छ। यति बेला यूरोपेली र चिनियाँ पर्यटक मात्र सौराहा आएका छन्। क्रमशः आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै जाने बताइएको छ।     
     
भरतपुर र आसपासका होटलमा पनि असर     

भरतपुर र गैँडाकोट क्षेत्रमा रहेका पर्यटकीय होटलमा पनि डेंगीका कारण असर परेको छ। रेष्टुराँको व्यापारमा कमी आएको छ भने ठूला कार्यक्रमसमेत स्थगित भएका छन्। गैँडाकोटसिथत द नारायणी रिसोर्टका महाप्रबन्धक वसन्त पराजुलीका अनुसार चार दिनका लागि आवासीय कार्यक्रम अग्रिम तय भएकोमा डेंगीकै कारण स्थगित भएको छ।     

भदौ २६ देखि २९ गतेसम्मका लागि कार्यक्रम तय भएकामा डेंगीको त्रासका कारण कार्यक्रम स्थगित भएको उनले बताए। अन्यले पनि आफ्ना कार्यक्रम पछाडि सारेका छन्। पराजुलीका अनुसार डेंगीको सङ्क्रमण घट्दै गएकाले पूर्ववत् अवस्थामा व्यवसाय फर्कने अनुमान गरिएको छ।     
     
होटल रोयल सेञ्चुरीका ‘अप्रेसन म्यानेजर’ राजेन्द्र थापाका अनुसार रेष्टुराँको व्यापारमा ४० प्रतिशतसम्म गिरावट आएकामा केही दिनयता क्रमशः व्यापार बढ्न थालेको छ। कोठमा बस्ने र रेष्टुराँमा खान आउनेको सङ्ख्या नै घटेको थियो तर असोज लागेसँगै डेंगीको सङ्क्रमणमा कमी आएको छ। दशैँको समयमा डेंगीको सङ्क्रमण नियन्त्रणमा आउन सकेमा पूर्ववत् अवस्थामा व्यापार फर्कने व्यवसायीको अनुमान छ।

स्थानीय पर्यटन विकास समितिका जिल्ला महासचिव विश्व सुवेदीले डेंगीका कारण यहाँ आउने धेरै पर्यटकले भ्रमण स्थगन गरेको बताए। रासस

प्रकाशित: ७ आश्विन २०७६ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App