७ वैशाख २०८१ शुक्रबार
समाज

ओखलढुंगामा १० जना डेंगी संक्रमित

ओखलढुंगा – ओखलढुंगामा पनि डेंगी संक्रमित फेला परेका छन्। मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका १० जनामा एकैपटक डेंगीको लक्षण देखिएको हो।निरन्तर उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खानामा अरुचि र पेट गडबड हुन थालेपछि नजिकैको उदयपुर घुर्मिको एक पोलिक्लिनकमा जचाउँदा उनीहरुमा डेंगी संक्रमण देखिएको क्लिनिकका चिकित्सक नैनबहादुर गौतमले बताए।

टोक्सेल हर्कपुरका सपना खड्का, तुलसा गौतम, मेलिस्का श्रेष्ठ, मदन श्रेष्ठ, फडिन्द्र दाहाल, देवभक्त गौतम, इश्वर मगराती, तारादेवी खड्का, सुदीप श्रेष्ठ र पुण्यमाता अधिकारीमा डेंगीको संक्रमण भएको पाइएको जानकारी स्वास्थ्य चौकी हर्कपुरकी इन्चार्ज निर्मला दाहालले दिइन्। १० जनामध्ये धेरैजसो स्वास्थ्य क्लिनिकबाट सामान्य औषधि लिएर घरमै बसेको र केही थप उपचारका लागि अन्यत्र गएको उनको भनाइ छ।

साथै कटारी नगरपालिका–१४ घुर्मी उदयपुरमा पनि तीनजनामा डेंगीको संक्रमण देखिएको छ। घुर्मीका रन्जित मगर, गोपाल थापा र आनन्दकुमार चौधरीमा डेंगी संक्रमण भेटिएको चिकित्सक गौतमले बताए। टोक्सेल र घुर्मी सिद्धिचरण लोकमार्गमा पर्ने गर्मी हुने ठाउँ हुन्।

ओखलढुंगामा पहिलोपटक डेंगीका बिरामी फेला परेका हुन्। ओखलढुंगाको टोक्सेल हर्कपुर र नजिकै रहेको उदयपुरको घुर्मी बजारमासमेत डेंगी संक्रमित फेलापरेको जानकारी पाएपछि सोमबार जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका प्रमुख मोहन सुवेदी र मानेभन्ज्याङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहाललगायतको टोलीले डेंगी संक्रमित बस्ने क्षेत्रको अनुगमन गरेको छ। टोलीले स्थानीयलाई सजग रहन आग्रह गरेको छ।

प्रकाशित: ७ आश्विन २०७६ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App