४ वैशाख २०८१ मंगलबार
समाज

सार्वजनिक शौचालयविनै खुला दिसामुक्त घोषणा, कार्यान्वयनमा चुनौति

सोलुखुम्बु - सोलुखुम्बुलाई मुलुककै ७६ औ जिल्लाको रुपमा असोज ३ गते खुल्लादिसामुक्त घोषणा गरेपनि सार्वजनिक शौचालय नहुँदा घोषणाको औचित्यमाथी प्रश्न उठेको छ। ‘एक घर एक शौचालय’को अवधारणाअनुसार काम भएपनि सार्वजनिक शौचालय नहुँदा खुला दिसामुक्त क्षेत्र घोषणाको कार्यान्वयनमा प्रश्न उठेको हो।

तत्कालीन जिल्ला खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालयले तिङलाको बेलिडाडाँमा निर्माण गरेको सार्वजनिक शौचालय बाहेक अन्य कुनैपनि स्थानमा सार्वजनिक शौचालय छैनन्। पर्यटकीय क्षेत्र सोलुखुम्बुमा सार्वजनिक शौचालय नहुुनुले आन्तरिक तथा बाह्रय पर्यटकलाई यात्राको क्रममा समस्या हुँदै आएको छ। बर्षेनी पचासौ हजार पर्यटक भित्र्याउने खुम्बुपासाङल्हमू गाउँपालिका क्षेत्रमा पनि सार्वजनिक शौचालय छैन।

पर्यटकलाई भएको सास्ती र सन् २०२० को भ्रमण वर्ष सफल पार्नका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेको छ। लुक्लादेखि दिङबुचेसम्म सार्वजनिक शौचालय निर्माणको लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। पर्यटकलाई सहजताका लागि आवश्यक स्थानमा शौचालय निर्माणको कामअघि बढाउने गाउँपालिकाले जनाएको छ।

सोलुखुम्बुको महाकुलुङ हुँदै मेरापिक र पाँचपोखरी जाने पदमार्ग, सोलुदुधकुण्ड नगरपालिकाका पिके, पत्ताले लगायतका पर्यटकीय क्षेत्र र खुम्बुपासाङल्हमू गाउँपालिका कुनैपनि स्थानमा सार्वजनिक शौचालय नहुँदा जिल्ला भित्र र बाहिरका जो कोहीलाई पनि शौचका लागि गन्तव्य नै पुग्नुपर्ने बाध्यता रहेको छ।

सन् २०१७ सालमै जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको भएपनि २०७२ सालको भूकम्पको कारणले पछि धकलिएको थियो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार २३ हजार ७१० घरमा शौचालय भएपनि सार्वजनिक स्थानमा शौचालय नहुँदा यात्राको क्रममा शौच गर्नका लागि गाउँ वा की जंगल पस्नुपर्ने अवस्था छ।

प्रकाशित: ६ आश्विन २०७६ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App