६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कञ्चनपुरमा डरलाग्दो आत्महत्या तथ्याङ्क

सांकेतिक तस्बिर

महेन्द्रनगर– कञ्चनपुर जिल्लामा आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ। गत महिनाको अन्तिमसाता मात्रै एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्। वेदकोट नगरपालिका–४ बैतडा निवासी २३ बर्षिया शान्ति विकले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

आत्महत्या रोकथामका लागि २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता–०७४ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन, त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन नहुने उल्लेख गरिएको छ। क्षतिपूर्तिसहित पाँच वर्ष कैद र ५० हजार जरिवानाको कानुनी व्यवस्था गरिएको छ। तर, पनि कञ्चनपुरमा आत्महत्याका घटना रोकिएका छैनन्।

यस्ता घटनामा पछिल्लो पटक आत्महत्या दुरुत्साहन सम्बन्धी नयाँ कानुन आएपछि अदालतले एक युवकलाई जेल चलान र एक शिक्षकबाट पाँच लाख धरौटी रकम लिन आदेश दिएको छ। भीमदत्त नगरपालिका–६ ऐठपुर महेन्द्रनगर बसपार्ककी किशोरी लक्ष्मी बुढाको आत्महत्याको विषयमा बुढीगंगा नगरपालिका–२ बाजुराका गणेश थापा पुर्पक्षका लागि जेल चलान भएका छन्।

यस्तै भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीका कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुरज लेखकले शिक्षक हरिलाल जोशीको नाम सुसाईट नोटमा लेखेपछि उनीबाट पाँच लाख रकम धरौटी लिन अदालतले आदेश दिएको थियो।

आत्महत्या रोक्नका लागि ल्याएको कानुनले निहत्था, निर्दोष व्यक्ति फसाईन लागेको भन्दै नागरिक स्तरबाट समेत चर्को आवाज उठ्न थालेको छ। कानुन अघि पनि, आत्महत्या पछि पनि आत्महत्या तर, कसैले कसैलाई फसाउन, रिस, आक्राेसका कारण ऐनको दुरुपयोग भईरहेको टिप्पणी समेत भईरहेको छ।

कञ्चनपुरमा आत्महत्याका घटना दिनप्रति दिन बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तथ्याङ्क अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या बढि देखिएको छ। तीन वर्षको अवधीमा कञ्चनपुरमा झुण्डिएर दुई सय २८ जनाले आत्महत्या गरेका छन्। जुन वर्षेनी बढ्दै गइरहेको छ।

कञ्चनपुर प्रहरीका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा ८४ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७४÷०७५ मा ६९ जना र आर्थिक वर्षमा २०७५÷०७६ मा ७५ गरी तीन वर्षमा दुई सय २८ जनाले झण्डिएर आत्महत्या गरेका थिए। आत्महत्या गर्नेमा विष सेवन गरेर, घाँटी रेटेर, आगो लगाएर, गोली हानेर, नदिमा हाम फालेर, झुण्डिएर गर्ने छन्।

कञ्चनपुरमा तीन वर्षको अवधिमा विष सेवन गरेर दुई सय तीन जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७३÷०७४ मा ५५ जना, आर्थिक वर्ष २०७४÷०७५ मा ८५ जना र आर्थिक वर्ष २०७५÷०७६ मा ६३ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन्।

यस्तै घाँटी रेटी दुई जनाले र गोली हानी एक जनाले आत्महत्या गरेका छन्। पानीमा हाम फालेर तीन वर्षको अवधिमा १७ जनाको मृत्यु भएको छ। जसमध्ये आर्थिक बर्ष २०७५÷०७६ मै सबै घटना घटेका छन्।

प्रकाशित: ५ आश्विन २०७६ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App